बिचौलियाहरुले शेयर घटाएर बेच्न थालेपछि शेयर बजार घटेको हो । सरकारले पहिलो दिनदेखि नै धरपकडको शैलीमा कारवाही शुरु गरिएपछि बजार घट्ने नै भयो । अहिले बजार घट्नुको अर्को कारण रास्वपाले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु पनि हो ।
✍ रिसव गौतम
निर्वाचन हुने सुनिश्चित भएर काठमाडौं महानगरपालिकाका तत्कालिक मेयर बालेन्द्र साह रास्वपामा प्रवेश गरेपछि शेयर बजार एक्कासी ४७.५५ अंकले बढेको थियो । त्यसअघि त्यही पुष र अघिल्ला महिनाहरूमा पनि शेयर बजार करिव निदाएको थियो । लगानीकर्ता निराश थिए । रास्वपामा बालेन्द्रको मिलनपछि उत्साहित बजार चुनाव नजिकिँदै गर्दा बढ्दै गइरहेको थियो । फागुन २१ गतेको निर्वाचनमा नयाँ भनिएको र ‘जान्नेलाई छान्ने’ नारासहित घण्टी चिन्ह लिएर निर्वाचनमा होमिएको दल रास्वपाले करिव दुई तिहाइ (१८२ सीट) बहुमत ल्यायो । निर्वाचनपछि खुलेको बजारले त झन् भावी प्रधानमन्त्री बालेन्द्र साहलाई अघिसारेको रास्वपाको जितलाई एकैदिन तीन ‘हल्ट’ हानेर स्वागत गऱ्यो । बजार एकैदिन ६ प्रतिशत अर्थात् १६२ अंकले बढ्यो । त्यसपछि थोरै करेक्सन हुँदै बढ्ने क्रममै रहेको शेयर बजार बालेन्द्र नेतृत्वको सरकार बनेपछि भने निरन्तर घटिरहेको छ ।
फागुन १३ गते नयाँ सरकार बनेपछिको चार कारोबार दिनमा भने बजार १७४ अंकले घटिसकेको छ र लगानीकर्ता निराश छन् । दुई तिहाइ बहुमत प्राप्त सरकार बनेपछि बजार घट्नु दुई वटा कारण महत्वपुर्ण देखिन्छन् । पहिलो कारण, सरकार गठन भएकै दिन मन्त्रिपरिषद्बाट पास भएको सरकारको १०० कार्यसूची हो । जहाँ ०४७ सालयताका उच्चपदस्थ कर्मचारी, सासंद, मन्त्री तथा प्रधानमन्त्रीको सम्पति आयोग बनाएर छानबीन गरिने कुरा आएको छ । सम्पति शुद्धिकरणको कुरा ब्यापक कार्यान्वयनमा लैजाने कुरा आएको छ ।
त्यसलगत्तै जुनै सरकार आएपनि त्यसलाई प्रभावमा राखेर बिचौलिया धन्दा चलाएर अकुत आर्जन गर्दै आएको आरोपमा भट्ट र अग्रवाल थरका व्यवसायी एवम् तिनका साझेदारहरूमाथि वित्तिय अपराधको आरोपमा अनुसन्धान सुरु भएका छन् । त्यसैगरी ब्यवसायी तथा पूर्वमन्त्री दीपक खड्का पनि सम्पति शुद्धिकरण अनुसन्धानका लागि यसबीच पक्राउ परे । तीसँगै धेरै शेयर बजारसँग जोडिएका कतिपय अरु ब्यापारीहरू पनि तानिने ब्यापक हल्ला चल्यो । खासगरी भट्ट र तिनका साझेदारहरूका रकम शेयर बजारका कतिपय कम्पनीहरूमा भएको पाइएकाले पनि बजार तीव्र घटेको विश्लेषण गरिँदैछ ।
नेपाल जस्तो वित्तिय अपराध, अनियमितता र भ्रष्टाचारको दुश्चक्रमा परेको देशमा अवैध माध्यमबाट आर्जित धन सेतो बनाउने थलो शेयर बजार पनि बन्ने गरेको अनुमान धेरैको छ । त्यस्तो परिस्थितिबाट गुज्रँदै आएको बिचौलियाहरूले नै चलाएको देशमा सरकारले पहिलो दिनदेखि नै धरपकडको शैलीमा त्यस्ता पात्रहरूमाथि कारवाही शुरु गरिएपछि बजार घट्ने नै भयो । त्यसकारण यो बजार त्यस्तै बिचौलियाहरुले आत्तिएर शेयर घटाएर भएपनि बेच्न थालेपछि घटेको हो ।
केही दिन, हप्ता वा महिनामा विगतका धेरै फोहोरहरू सरकारले सफा गर्नेछ । त्यसपछि शेयर बजारले रकेट गति लिनेमा दुइमत छैन ।
तथापि, बजारका असल एवं व्यवसायिक लगानीकर्ताहरू आत्तिनु पर्ने छैन । बालेन्द्र सरकारले वास्तवमा वित्तिय अपराधमा संग्लनहरूलाई सुरुदेखि नै कार्वाही गर्न थालेको हो । त्यो अत्यन्त सह्राहनीय काम हो । अझ सकिन्छ भने हरेक नेपालीको आम्दानीको अडिट हुनुपर्छ र देशलाई संग्लो पानी झैँ वित्तिय रूपमा सफा बनाउन जरुरी छ । त्यसकारण अहिलेको घटाइ वित्तिय बजारको फोहोर सफा गर्न खोज्दाको परिणाम हो । शेयर बजारमा सबै त्यस्ताहरू छैनन् । त्यस्ताहरू भनेको सीमित छन् । ६३ लाख मानिस बजारसँग जोडिएका छन् । धेरैले आफनो खाइ-नखाइ गरेर जोगाएका पैसा शेयरमा हालेर आर्थिक स्तर बढाउन खोजेका छन् । स-सानो जागिरदेखि मकै पोलेर, चिया बेचेर आर्जन गर्नेहरू पनि शेयर बजारमा छन् ।
फोहोर सफा गर्नैपर्ने थियो । देशलाई सम्पति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन पनि वित्तिय अपराधमाथि कार्वाही जरुरी थियो । त्यो सुरु भएको छ । धेरै व्यवसायीहरू पनि सम्पति शुद्धिकरणको छानबिनको दायरामा आउने डरले पनि बजार घटेको हो ।
बालेन सरकारले त्यसको थालनी ‘डे वान’देखि गरेको छ । हामीले के बुझनुपर्छ भने हाम्रा घरहरू जति नै नयाँ, भब्य वा आर्कषक भएपनि फोहोर एवम् दुर्गन्धित भयो भने त्यहाँ बस्न सकिँदैन । तर घर परम्परागत भएपनि वा पुराना भएपनि सफा एवं चिटिक्क भयो भने बस्नलायक हुन्छ र बस्न सकिन्छ पनि । त्यसकारण आर्थिक अपराध, अपचलन, ठगी, बेइमानी र भष्ट्राचारीहरूको सफाई जरुरी छ । त्यसमाथि कार्वाही भएन भने त्यसले शेयर बजार मात्र होइन समाजलाई नै निकम्मा बनाइदिन्छ । त्यसकारण ती कदम ढिलो-चाँडो उठाउनु नै थियो । बालेन सरकारले शपथ खाएको पहिलो दिनबाटै सुरु गरेको छ, यो अत्यन्त राम्रो हो । तर यस्ता कदमहरू भेदभावरहित ढंगले र पुर्णता पाउने गरी सतत् अघि बढाउनुपर्छ । र, त्यसलाई निष्कर्षमै पुऱ्यानु पर्छ । कतै अपलपत्र पार्नु हुँदैन ।
माफिया र विचौलियाहरूको खोजी र तिनका वित्तिय अपराधमाथि अंकुश नलगाई शेयर बजारको दीगो भविष्य पनि हुँदैन । त्यसकारण साना तथा ब्यवसायिक लगानीकर्ताहरुले आत्तिएर शेयर बेच्न जरुरी छैन । बरु शेयर किन्ने बेला छ अहिले । किनकि सरकारले राम्रो संकेत देखाएको छ । १०० कार्यसूचीमा अर्थतन्त्र सुधारका धेरै कुरा आएका छन् । नीजि ब्यवसायिक संस्थाहरू लगानीका लागि हौसिएका छन् । विदेशमा रहेकाहरू पनि अलिकति राम्रो भए सम्पत्ति यतै ल्याएर केही गर्नेगरी सरकारको कार्यसम्पादन हेरिरहेका छन् । सरकारले अनावश्यक संघ-सस्था तथा खर्च कटौति गरेर डुबेका संस्थानहरू चलाउने, विकास निर्माणमा स्रोत जुटाउने जुक्तिहरू निकालिरहेको देखिन्छ । खासगरी ती काममा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका अर्थविद अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लागिरहेका देखिन्छन् । त्यसकारण लगानीकर्ताहरू आत्तिने हैन, बरु आशावादी हुने समय छ ।
बजार अहिले घट्नुको अर्को कारण रास्वपाले बाचापत्रमै करार गरेका गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्नु पनि हो । नयाँ सरकारले जेनजी आन्दोलनको जगमा भएको निर्वाचनबाट अनुमोदित भएपछि त्यो प्रतिवेदन कार्यान्वयनमा लैजानु नौलो कुरा होइन । सो निर्णयपछि नयाँ गृहमन्त्री तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ रकेट गतिमा प्रतिवेदन कार्यान्वयन गर्न लागे । आन्दोलनमा लापर्वाही गरेर हिंसा भएको भन्दै ज्यान मुद्धामा अनुसन्धानका लागि पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र सो बेलाका गृहमन्त्री रमेश लेखकलाई सरकारले गिरफतार गऱ्यो । ओलीको गिरफ्तारीसँगै एमालेले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गऱ्यो । त्यसले पनि बजारमा अन्यौल र त्रासदी बढ्यो र बजार घट्ने कारण बन्यो । तर एमाले-काङ्ग्रेस जस्ता जिम्मेवार पार्टीले कानुनलाई सघाएर आन्दोलनका गतिविधिहरू रोक्नुपर्छ र विषय त्यतै गएको पनि छ ।
उल्लेखित दुवै घट्नाक्रम शेयर बजारमा पहिरो गएको हो, तर त्यो दीगो हुँदैन । केही दिन, हप्ता वा महिनामा विगतका धेरै फोहोरहरू सरकारले सफा गर्नेछ । त्यसपछि शेयर बजारले रकेट गति लिनेमा दुइमत छैन । किनकि, एकातिर दुई तिहाई बहुमतसिद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकार बनेको छ । १५ मन्त्रालयमा ४० वर्षमुनिकै ९ मन्त्रीहरू सहभागी बालेन नेतृत्वको सरकारमा पढेलेखेका जोशिला युवाहरूको बाहुल्यता छ । त्यसकारण पनि शेयर बजारलाई एक किसिमको आशा छ । नयाँ भनिएका र धेरैजसो पढेलेखेका युवाहरू आइरहँदा बजारले आश गरेको छ । आर्थिकरूपमा देशले परिवर्तन पाउने जनतामा आशा छ ।
प्रतिक्रिया