हिराको खानीमाथि भीखको कचौरा !

हिराको खानीमाथि भीखको कचौरा !


– रोशन श्रेष्ठ
नयाँ संविधान निर्माणको माध्यमबाट नयाँ नेपाल निर्माण गर्दै शान्ति र समृद्धिको दिशामा छलाङ मार्ने नेपाली जनताको आशा र विश्वासमा तुषारापात भएको दुई साता बित्न लागेको छ, तर यस घटनाले सिर्जना गरेको निराशादायी तरङ्ग भने नेपाली राजनीतिमा झन्झन् फैलिरहेको छ । विविधतामा एकताले सजिएको गौरवशाली इतिहास बोकेको देश नेपालका एउटा स्वर्णीम र ऐतिहासिक दिन सावित हुने अवसरबाट वञ्चित भएको अन्योलपूर्ण दिन हुन पुग्यो ‘जेठ १४’ । तीन करोड जनताको भविष्यमाथि वर्षौंदेखि खेलवाड गर्दै आइरहेका निहित व्यक्तिगत स्वार्थबाट कहिल्यै माथि उठ्न नसकेका ‘क्रूर’ नेताहरूका कारण युगमा एकपटक प्राप्त हुने अवसर जसरी खेलाँची–खेलाँचीमै अवसान हुन पुग्यो, उक्त ऐतिहासिक कालो दिनतर्फ एकपटक फर्केर हेर्नु या त्यसलाई शब्दचित्रमा उतार्ने प्रयत्न गर्नु सान्दर्भिक नै होला ।
व्यापक चासो र चर्चाका साथ व्यग्र प्रतीक्षा गरिएको उक्त दिनलाई कसरी व्यतीत गर्ने भनी कथित ठूला दलका नेताहरू बैठकको बहानामा कोठेगफ गर्दै यताउता दौडिरहेका समाचार नेपाली समाचार माध्यमहरूमा दिनैभरि प्रसारित भइरहे । छिन्छिन्मा नयाँ अपडेट आ–आफ्नो फेसबुक स्टाटसमा लेख्ने, हेर्ने, कमेन्ट गर्ने तथा मन मिल्ने मित्रहरूमा अन्तरक्रिया गर्ने कार्यहरू भइरहे । आमतप्कामा कस्तो संविधान आउने हो भन्ने कुतूहल प्रत्येक पल छाइरह्यो । अनेक अडकलबाजीहरू चले । छिनमै यस्तो निर्णय भयो रे… भन्ने हल्ला चल्थ्यो भने लगत्तै फेरि अर्को सहमतिको अफवाहले राजनीतिक बजार पिट्थ्यो । टेलिभिजन च्यानलहरूमा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रवरिपरि विभिन्न जातीय राज्यको माग गर्दै प्रदर्शन भइरहेका जुलुस, नाराबाजीका दृश्य प्रसारण भइरहे । सुरक्षाकर्मी निषेधित क्षेत्रमा जुलुसलाई प्रवेश गर्न नदिन सक्रिय देखिन्थे । संविधानसभाभित्रको कम्पाउण्डमा सभासद्हरू नै नाराबाजीमा उत्रिन पुगे । उनीहरू ‘संविधान जारी गर’जस्ता नाराहरू लाजै नमानी गुञ्जाइरहेका थिए । जसले संविधान बनाउनुपर्ने हो उनीहरू नै त्यस्ता नाराबाजी गर्नेजस्तो लज्जास्पद र गैरजिम्मेवार हिसाबले प्रस्तुत भइरहेका थिए । कोही सभासद् ११ बजे बिहानदेखि बोलाएर अहिलेसम्म बैठक बस्ने कुनै सूचना नै दिएका छैनन् भनी आक्रोश व्यक्त गर्दै थिए भने सभामुखको अत्तोपत्तो थिएन । नेताहरू सिंहदरबारमा निरर्थक बैठक गर्दै समय बिताइरहेका थिए ।
यस्तैमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको फ्ल्यास न्युज आयो । कोही असफल नेताहरू अब संविधान नबन्ने पक्का भयो भन्दै हाँसेर टेलिभिजनमा बोल्दै गरेका दृष्श्य पनि देखिन सुरु भइसकेको थियो । विभिन्न च्यानलले आ–आफ्नो नेटवर्कमार्फत ताजा गतिविधि प्रसारण गर्ने भरमग्दुर प्रयास गरिरहेका थिए । जे होस् सारा नेपाली जनता नेपालको सङ्घीय गणतन्त्रात्मक संविधानको व्यग्र प्रतीक्षामा थिए । संविधानसभावरिपरि विभिन्न जातीय समूहले जनदबाबका कार्यक्रम सञ्चालन गरिरहेका थिए । अन्तर्राष्ट्रिय जगत्मा पनि नेपाललाई माया गर्ने नेपाली समूह मात्र होइन विदेशी नागरिकसमेत संविधान आउने हो–होइन भनी समाचार सुन्ने उत्कण्ठा दर्शाइरहेका थिए । देशमा सङ्कटकाल घोषणा र कप्mर्यु लाग्ने भो भनी १४ गतेको दिनैभरि कार्यालय नगई घरैमा बसेर टीभी हेर्नमै व्यस्त मानिस पनि देखिए । अन्तमा राति ११ बजेतिर प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपति निवासमा मङ्सिर ७ गते अर्को संविधानसभाको चुनावका लागि सिफारिस गर्न पुगेको समाचार र लगत्तै बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले त ‘अब हुने संविधानसभाको चुनावमा हामीलाई दुईतिहाइ बहुमत दिनुस्…’ भन्दै भोट पो माग्न थाले । त्यसपश्चात् सारा नेपाली निराश भए, त्यो मध्यरातमा न सुत्न सके न विरोध जनाउन बाहिर सडकमा निस्कन सके । किंकर्तव्यविमुढ बन्न पुगेका जनता जुवा हारेको जुवाडेको मनस्थितिमा पुगे ।
यो कुनै मनोगत सोच नभई यथार्थ र विडम्बनाको एउटा पाटो हो, एउटा जटिल प्रश्नको उत्तर खोज्न यतिबेला आमनेपाली आ–आफ्नो बौद्धिक क्षमताअनुसार कोसिस गरिरहेका छन् । आखिर नेपाल राष्ट्रको चार–चार वर्षसम्मको अनमोल समय त्यसै खेर गयो । संविधान घोषणापश्चात् राष्ट्रले एउटा निकास पाउँछ र सबै नेपाली जनताको आर्थिक उन्नतिको बाटो खुल्छ भनी हृदयदेखि नै विश्वस्त हुँदै उक्त लोकतान्त्रिक संविधानको स्वागत गर्न जनता प्रतीक्षारत थिए । तर, त्यो निराशामा परिणत भयो ।
वास्तवमा नेताहरूबाट अक्षम्य अपराध भएको छ, देश र जनताप्रति ठूलो घात भएको छ । उनीहरूको अक्षमतालाई गाली गरेर मात्र पुग्दैन, उनीहरूले गरेको विश्वासघातका लागि गम्भीर सजाय नै हुनुपर्छ । राष्ट्रको ढुकुटीको नौ अर्बभन्दा बढी खरानी भएको देख्दा कहीँ कतैबाट चित्तबुझ्दो जवाफ पाउने ठाउँ नै देखिँदैन । अब देशलाई कुन दिशा र लक्ष्यमा जाने गोरेटो कोर्ने हो ? नेपाली जनताले आफ्नो छातीमा हात राखेर चिन्तनमनन गर्नु अति आवश्यक भइसकेको छ । हामी सबै सचेत नेपाली नागरिकले हाम्रा भविष्यका सन्ततिका लागि गर्नुपर्ने भूमिका के हुन सक्छ ? के हाम्रो देश नेपाललाई अफगानिस्तान, इथियोपिया, सुडानजस्तो गृहयुद्धमा धकेलेर छाडिदिने ? हाम्रो देशको युवा पिँढीलाई सडकमा टायर बाल्ने, ढुङ्गामुढा गर्ने, अक्षम, क्रूर, स्वार्थी र पापी नेताहरूकै वरिपरि घुम्न बाध्य पार्ने ? राष्ट्रको समृद्धिका लागि आफ्नो क्षमता विकास गर्ने अवसरको खोजी नगर्ने ? यी गहन प्रश्नका जवाफ खोज्न पङ्क्तिकार सचेत नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध र आग्रह गर्दछ ।
राजनीति सत्ताका लागि मात्र हुनुहुँदैन, त्यो त विकास र आर्थिक उन्नतिका लागि हुनुपर्छ भन्ने व्यावहारिक ज्ञान हाम्रा नेताहरूमा कहिल्यै पलाएको अनुभूति गर्न नपाइनु दुर्भाग्यपूर्ण छ । ठूला–ठूला कुरा गरेर मात्र हुँदैन, अब मीठा भाषणहरूलाई व्यवहारमा उतार्ने क्षमता दर्शाइनुपर्छ । होइन भने गफाडी नेता वा नेतृत्वले सक्षम र इमानदारहरूका लागि ठाउँ खाली गर्नैपर्छ । एक–एक मिनेटको समय अति महत्वपूर्ण हुने युगको यत्रो अवधि त्यत्तिकै गुजारिएको छ । यसरी राष्ट्रको स्थिति दिनकादिन अधोगतितिर गइरहेको कुराले हामी सबैलाई घचघच्याएकै हुनुपर्ने हो । यत्रो लामो अवधिसम्म हामी कहाँ हरायौँ ? ८३ हजार मेघावाट क्षमताको जलविद्युत निकाल्न सक्ने क्षमता भएको देशले हालसम्म दुई हजार मेघावाट पनि निकाल्न सकेका छैनौँ । हिराको खानीमाथि कचौरा बोकेर भीख माग्न विवश तुल्याइएका हामी नेपालीको जीवनस्तर कसरी उकासिन्छ ? योग्य योजनाकार र विज्ञहरूलाई स्थान दिन किन सकिएको छैन ? यस्ता प्रश्नलाई अब बेवारिस अवस्थामा छोड्न मिल्दैन ।
राष्ट्र सबैभन्दा महान् हो । राष्ट्र रहे मात्र हामी नेपाली रहन्छौँ । ‘चार जात छत्तीस वर्णको फूलबारी’, विविधतामा एकता नै हाम्रो सामुहिक पहिचान हो । हिमाल, पहाड, तराईको संगम नै हाम्रो देश नेपालको प्रमुख विशेषता हो । समुद्र सतहदेखि ६९ मिटर उचाइ रहेको भूभागदेखि संसारकै सर्वोच्च शिखर सगरमाथा ८ हजार ८ सय ४८ मिटर अग्लो चुचुरो रहेको देश नेपाल हो । हरेक ३० मिनेटको ड्राइभपश्चात् हावापानी फरक रहेका भूभागमा पुगिने एक लाख ४१ हजार वर्गकिलोमिटर मेचीदेखि महाकालीसम्म फैलिएको संसारभरिकै सुन्दर देश नेपाल जहाँ आपसी मित्रता र सद्भावका साथ जीवन गुजारिरहेका हामी महान् नेपाली जनतामाझ फुट ल्याएर राज गर्ने निहित निकृष्ट स्वार्थ बोकेका दुई प्रतिशतभन्दा पनि कम रहेका स्वार्थी राजनीतिक नेताहरूको क्रियाकलापलाई हामी सबैले ध्यान दिएर बुझ्ने प्रयास गरौँ । गरिब जनताको दुहाई दिँदै सत्तामा बसेर विलासी जीवन बिताइरहेका स्वार्थी र पापी सोच मात्र भएका, कुरा एउटा गर्ने काम अर्कै गर्ने राक्षसी दिमाग भएका नेता भनाउँदाहरूको गुलियो कुरामा मख्ख नपरी वास्तविकतालाई, सत्यतथ्यलाई बुझ्न ढिला गर्‍यौँ भने हामीसहित देश अझ कहालीलाग्दो दलदलमा पुग्ने कुरा निश्चित छ । राजनीतिक नेतृत्व सही नभएको कारणले आज व्यापक अराजकता र अनुशासनहीनता बढेको छ । अनुशासनबिनाको मानिस पूर्ण मानव हुन सक्दैन । अनुशासित नागरिकबेगर देशले कदापि उन्नति गर्न सक्दैन । ल एन्ड अर्डर मात्र राज्यले कायम राख्न सक्ने हो भने अबको पाँच वर्षभित्रै नेपाली जनताले समृद्धिको दिशामा धेरै परिवर्तनको महसुस गर्न सक्नेछन् । मात्र एकजना पुलिस अफिसरले व्यक्तिगत स्वार्थलाई त्यागेर कानुनको पालना गराउन प्रयास गर्दा मात्र राजधानी काठमाडौं, पोखरा र वीरगञ्जजस्ता औद्योगिक महानगरका बासिन्दाले कति चैनको निद सुतेका थिए, हामी कल्पना गरौँ न ।
त्यसैले नेपाललाई पनि कानुनी राज्यजस्तो बनाउन सही मान्छेलाई प्रोत्साहन र गलत प्रवृत्तिलाई सजाय दिने सामान्य कुरा लागू गर्न सक्ने सरकारको स्थापना हुन अति जरुरी छ । राष्ट्रलाई सर्वोपरी राखी राम्रो र सक्षम व्यावसायिक व्यक्तिहरूलाई सही स्थान दिएर रोजगारी सिर्जना गर्दै अघि बढ्न सक्यौँ भने हाम्रो देशको मुहार फेर्न धेरै समय कुर्नै पर्दैन । को सही र को गलत भन्ने कुरा छुट्याउन भने हामीले सक्नैपर्छ ।
चर–चार वर्षसम्मको अमूल्य समय र नौ अर्ब रुपैयाँको खरानीको धुलोलाई सम्झौँ ∕ ती ६०१ अक्षम सभासद् जो निषेधित क्षेत्र घोषणा गरिएको संविधानसभा हलबाहिर १४ गते राति संविधान जारी गर्न र नेताहरूलाई गालीका साथ नाराबाजी गर्नेहरूतर्फ पुनरावलोकन गरौँ । तिनीहरूलाई आफ्नो जिम्मेवारी के हो, जनताले किन त्यहाँ पठाए, आफूहरूले खेल्नुपर्ने भूमिका के हो भन्ने सामान्य ज्ञान पनि थिएन ? चार–चार वर्षको समयमा के गरे ? अन्तमा आएर तिनै अभागी सभासद् नेताको टाउकोमा दोष थोपरेर आफू सही भएको पुष्टि गर्न खोज्ने हास्यास्पद अभिव्यक्ति दिएर उम्कन मिल्छ ? अनि फेरि पनि तिनै व्यक्तिहरू नयाँ संविधानसभाको चुनावमा जनतासँग भोट माग्न आउँदा हामी सबैले फूलमालाले स्वागत गर्ने ? अब होसियारीका साथ राष्ट्रका लागि त्याग गरेका, व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेका, जातीय भेद्भाव नराख्ने अनुशासित र जिम्मेवार व्यक्तिलाई चिन्ने कोसिस गरौँ ।