सुविख्यात गायिका आशा भोसलेको निधन

सुविख्यात गायिका आशा भोसलेको निधन


भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गरेकी प्रख्यात गायिका आशा भोसलेको आइतबार (१२ अप्रिल) निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाउनुभएकी उनको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उनको उमेर ९२ वर्ष थियो ।

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत रहँदा उनको निधन भएको हो । बहु-अङ्ग विफलताका कारण भोस्लेले अन्तिम सास लिएको चिकित्सकको भनाइ छ । अस्पताल स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए । यसअघि उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत परिवारका लागि गोपनीयताको अनुरोध गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन् ।

सन् १९३३ मा जन्मिएकी आशा भोसलेले अत्यन्तै सानो उमेरमै आफ्नो सङ्गीत यात्रा सुरु गरेकी थिइन् । सन् १९५० को दशकदेखि उनको स्वर भारतीय चलचित्र सङ्गीतमा अत्यन्त लोकप्रिय बन्दै गएको थियो र क्रमशः उनी विश्वकै सबैभन्दा चर्चित पार्श्व गायिकामध्ये एकका रूपमा स्थापित भएकी थिइन् । उनको स्वरको विशेषता भावनात्मक गहिराइ, अनुकूलनीयता र बहुमुखी प्रतिभा मानिन्छ । शास्त्रीय सङ्गीतदेखि गजल, क्याब्रे, पप र लोकगीतसम्म उनले विभिन्न विधामा आफ्नो स्वरको प्रभाव छाडेकी छन् । भारतका विभिन्न भाषामा हजारौँ गीत रेकर्ड गरेर उनले भारतीय सङ्गीतलाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

प्रमुख सङ्गीतकार तथा चलचित्र निर्मातासँगको सहकार्यले हिन्दी चलचित्र सङ्गीतलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ । आशाका गीतहरू आज पनि कालजयी मानिन्छन् र नयाँ पुस्तामाझ उत्तिकै लोकप्रिय छन् । उनलाई भारतीय सरकारले प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो । सन् २०११ मा गिनिज वर्ल्ड रेकर्डले उनलाई सङ्गीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो ।

जीवनको उत्तरार्धसम्म पनि आशा भोसले सङ्गीतसँग निरन्तर जोडिएकी थिइन् । भारतीय सङ्गीतमा महिला स्वरको पहिचान विस्तार गर्न र पार्श्व गायनलाई नयाँ परिभाषा दिन आशाको योगदान अतुलनीय मानिन्छ ।