नेपाली काङ्ग्रेस गत भदौ २३ र २४ को आन्दोलनबाट मराणसन्न अवस्थाबाट गुज्रिरहेको छ ! जेन-जी आन्दोलन र जेन-जीका भावनाको अनुमोदन गर्ने भन्दै महामन्त्रीद्वयको विशेष सक्रियता र आग्रहबाट विशेष अधिवेशन केन्द्रिय समितिले स्वामित्व नलिएको अवस्थामा पनि विशेष अधिवेशनको कार्यतालिका प्रस्तुत गर्दै भृकुटी मण्डपमा अधिवेशन तय भयो ! तत्कालिन सभापतिले फागुन २१ को निर्वाचननमा अहिले गर्ने भनिएको विशेष अधिवेशनले प्रतिकुल असर पार्छ भन्दै निर्वाचनपछि विशेष अधिवेशन गरौँ भन्ने आग्रहलाई अस्विकार अर्थात् असहमति जनाउँदै हठपूर्वक पुस २७-२८ मा गरिएको विशेष अधिवेशनबाट सभापति भए गगन थापा !

विशेष अधिवेशन जुन लक्ष्य र महत्वाकांक्षा लिएर गरिएको थियो त्योअनुरुप न निर्वाचनको परिणाम आयो न त काङ्ग्रेसको संगठनमा नै सुधार आयो ! काङ्ग्रेस झन्-झन् कमजोर र जर्जर अवस्थामा पुग्यो !

काङ्ग्रेसलाई यो अवस्थामा पुऱ्याउन देशी-विदेशी शक्ति सक्रिय रहेको देखिन्छ । काङ्ग्रेस भन्दा पहिला एमालेलाई कमजोर बनाउन बिग्रह उत्पन्न गर्ने रणनीति शुरु गरिए तापनि एमालेको नियमित अधिवेशनबाट पुनः केपी ओली नै निर्वाचित भए । यसरी एमालेमा विग्रह गराउने डिजाइन फेल भएपछि त्यो ‘शक्ति’ काङ्ग्रेसमा पस्यो र ‘विशेष अधिवेशन’ मञ्चन गरी गगन थापालाई पार्टी सभापति बनाइयो । काङ्ग्रेस हरसम्भव फुटाउने रणनीति लिएको शक्तिले निर्वाचन आयोगमार्फत वैधानिकताको निर्णय विशेष अधिवेशनलाई दियो – त्यो आश्चर्य छैन ! आश्चर्य त विशेष अधिवेशनलाई वैधानिकता दिँदैगर्दा फागुन २१ को निर्वाचनको लागि दर्ता गर्ने समयावधि सकिए पनि कुनै दल दर्ता गर्न इच्छुक छन् भने आउ भन्दै म्याद थपिनुले काङ्ग्रेस फुटोस् र दल दर्ता गरोस् भन्ने निर्वाचन आयोगको अन्तरनिहीत भाव देखिन्छ !

काङ्ग्रेसमा कलह चरममा !

निर्वाचन नजिकिँदै गर्दा काङ्ग्रेसभित्र टिकटमा कसको दस्तखत हुने भन्ने विषयले पनि कलह थप बढाएको थियो । गगनको दस्तखतबाट टिकट लिएर निर्वाचनमा नजानेमा सिनियर नेताहरू समेत थिए ! अब हालको संस्थापनइतर भन्न मिल्ने देउवा समुहले निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट हुदै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । सर्वोच्चबाट निर्णय आउन जति ढिलाइ हुँदै जान्छ त्यति काङ्ग्रेस फुट्ने सम्भावना बढेर जाने देखिन्छ । अहिले गगन समुहले नियमित अधिवेशन गर्ने मिति तोकेर ‘जरा’ अभियानसमेतको लागि सबै जिल्लामा प्रतिनिधि खटाइसकेको छ । यतिमात्र नभइ अब आइडीविना महाधिवेशनमा सहभागी हुनसमेत नपाउने निर्णय सुनाउनाले देउवा समुह यो महाअधिवेशनबाट अलग्गिने सम्भावना बढेर गएको छ । देउवा समुहमा लागेका नेताहरूले गगन थापाको नेतृत्वलाई कुनै पनि हालतमा स्विकार नगर्ने भनिरहँदा के महाअधिवेशनमा सहभागी होलान् त ? यो सम्भावना देखिँदैन ! विषेश अधिवेशनबाट सभापति भएका गगनलाई नस्विकार्ने भन्दै अदालतमा मुद्धा हालिसकेपछि नैतिकताले गगनको नेतृत्व पनि स्विकार्न मिल्दैन, स्विकार गर्दिनँ भन्न पाइन्छ ! तर गगनको दस्तखत लिएर निर्वाचनमा सहभागी हुने र अहिले त्यो नेतृत्व स्विकार गर्दिनँ भन्न चैं मिल्दैन ! राजनीतिमा इमान, धर्म र नैतिकता नभएकाहरूबाट त यस्तो हुन्छ तर काङ्ग्रेसमा यस्तो चैं हुनु हुँदैन भन्ने विचार प्रवल छ !

काङ्ग्रेस एक ढिक्का बनाउने प्रयास

काङ्ग्रेस कमजोर हुँदा देशमा प्रजातन्त्र नै कमजोर हुन्छ ! काङ्ग्रेस कमजोर हुँदा प्रतिगामीहरूको चलखेल बढेर जान्छ । एमाले होस् या माओवादी या अन्य कुनै दल हुन्, उनिहरूका लागि काङ्ग्रेस राजनीतिक रुपमा एकअर्कामा प्रतिद्वन्द्वी भएपनि उनिहरूको चाहना काङ्ग्रेस नफुटोस् एक ढिक्का रहोस् भन्ने राजनीतिक विचार बोकेको छ ! काङ्ग्रेस एउटा इतिहास बोकेको पार्टी हो जसको अन्तर्राष्ट्रिय छवि र पहिचान छ – यस्तो दलसँग राजनीतिक प्रतिस्पर्धा गर्न पाउँदा अन्य दल पनि गर्व महसूस गर्छन् ! यस्तो काङ्ग्रेसलाई काङ्ग्रेसले नै बुझ्न सकिरहेको छैन र, आपसमा द्वन्द्व गरिरहेका छन् । माओवादी दलबाट तत्कालिन समयमा भएको द्वन्द्व समेतलाई द्वन्द्व व्यवस्थापन गर्न सक्ने काङ्ग्रेस आफ्नो दलभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसक्नु नेतृत्व तहमा बसेकाहरूको कमी-कमजोरी र दक्षतामा कमी हो भन्नुपर्ने हुन्छ !

काङ्ग्रेसभित्र यो दुई समुहलाई एक ढिक्का बनाउने प्रयास कहीँ-कतैबाट भइरहेको छैन । सबै एक–अर्कामा अझ दूरी बढोस र आफ्नो वर्चस्व चलोस् भन्ने मूल भावनाबाट प्रेरित गगन समुह र देउवा समुहमा विद्यमान छ र यो अझ बढेर गएको देखिन्छ !

देउवा समुहले अहिले पनि नेपाली काङ्ग्रेस नै भनेर समानान्तर बैठक गर्दै आएको छ भने गगन समुहले यस्तो गर्दै गए कारवाहीसमेत गर्ने बताउँदै आएको छ ! यस्तो अवस्थामा यी दुई समुहको मिलन विन्दु देखिरहेको छैन !

अदालतको निर्णयबाट काङ्ग्रेस मिल्छ

अहिले काङ्ग्रेसमा एक अर्काको कुरा सुन्न त के अनुहार हेर्नसमेत नचाहेको अवस्था छ । काङ्ग्रेसभित्रै काङ्ग्रेसको यो खिचलोलाई मुख मिठ्याइ-मिठ्याइ बहस र चर्चा गरेर ‘मुतको न्यानो’ जस्तै मान्दै आइरहेका छन् । देशमा नयाँ सरकार छ । यो सरकारको गतिविधि यसरी बढिरहेको छ भोलि प्रजातन्त्र/लोकतन्त्र र विधिको शासनमा चुनौती देखिन सक्छ ! जस्तो – वर्गीय संगठनहरूको खारेजी, निजी स्तरका सञ्चारजगतलाई सरकारी विज्ञापन नदिने, निर्णय हुन सक्ने विचार आइरहेको छ त्यसले लोकतन्त्रको जरा नै निमोठ्ने लक्षण छ । यस्तो अवस्थामा काङ्ग्रेसको के विचार छ, त्यो आइरहेको छैन । जसले लोकतन्त्र/प्रजातन्त्रको पहिले शर्त वर्गीय संगठन र संचारजगतलाई मान्दै आइरहेको छ । किन काङ्ग्रेस चुप छ – काङ्ग्रेस आ-आफैमा द्वन्द्व भएर नै हो ?

काङ्ग्रेसभित्र धेरै सिनियर नेताहरू देउवा समुहमा छन् र यिनीहरूको ईगो र घमण्डले गगन समुहमा सम्मिलित नहुन सक्छन् तर गगन समुहमा धेरै युवा पुस्ताहरू सम्मिलित छन् यो समुहलाई देउवा समुहमा प्रवेश गर्न समस्या देखिँदैन तर यो अवस्था विचाराधीन रहेको अदालतको निर्णयबाट मात्रै काङ्ग्रेस एक ढिक्का हुने अवस्था आउन सक्छ । यसरी नै काङ्ग्रेस एक ढिक्का हुन सक्छ !