भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी !

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी !


भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो रूपमा जिउँदै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङहरूले अहिले पनि सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर जोखिममा राखेका छन् ।

मध्य भारतका विशाल वन क्षेत्रमा माओवादी लडाकूहरूले वर्षौंसम्म दबाबद्वारा सक्रिय हुने इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) गाड्दै आएका थिए । यी विस्फोटकहरू प्रायः माटोका सडकमुनि वा जङ्गली बाटोमा लुकाइन्थे, जसले गर्दा तिनीहरू देख्न र पहिचान गर्न अत्यन्त कठिन हुन्थ्यो । साधारण सामग्री – जिलेटिन, बल बियरिङ र धातुका टुक्राहरू – बाट बनाइए पनि ती अत्यन्त घातक सावित भएका छन् ।

विद्रोहको उत्कर्षमा माओवादीहरूले सन् २००० को दशकको मध्यतिर देशको झण्डै एक तिहाइ भूभागमा प्रभाव जमाएका थिए । उनीहरूले आफूलाई वन क्षेत्रका आदिवासी समुदायका अधिकारका लागि लडिरहेको दाबी गर्थे । तर हालैका वर्षहरूमा भारतीय सुरक्षाबलले सञ्चालन गरेको अभियानपछि सरकार देश माओवादी प्रभावबाट मुक्त भएको घोषणा गर्न पुगेको छ ।

तर जमिनमुनि लुकेका विस्फोटकहरूका कारण खतरा समाप्त भएको छैन । जिल्ला रिजर्भ गार्डमा कार्यरत २३ वर्षीय किशन हाप्का भन्छन्, ‘सैनिकलाई सबैभन्दा ठूलो डर गोली होइन, यी दबाबमा विस्फोट हुने आइइडी हुन्, किनकि कहिले पाइला पर्छ भन्ने थाहा हुँदैन ।’ उनी स्वयम् सन् २०२४ मा यस्तै एक विस्फोटमा परेका थिए, जसबाट बायाँ खुट्टा गुमाउनुपरेको थियो । सो घटनामा अन्य तीन सैनिकको ज्यान गएको उनी सम्झिन्छन् । अहिले उनी कृत्रिम खुट्टाको सहारामा प्रशासनिक काममा सीमित छन् ।

पहिले माओवादीहरूको बलियो आधारस्थल मानिने छत्तीसगढ राज्यको बस्तर क्षेत्रमा पछिल्लो २५ वर्षमा करिब ५०० सुरक्षाकर्मी यस्ता विस्फोटमा मारिएका छन् भने हजारभन्दा बढी घाइते भएका छन् । यी विस्फोटकहरू मूलतः सुरक्षाबललाई लक्षित गरेर राखिए पनि त्यसको मार स्थानीय आदिवासी समुदायले पनि उत्तिकै भोगेका छन् । तथ्याङ्कअनुसार १५० भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।

६५ वर्षीया तामा जोगी पनि यस्तै पीडितमध्ये एक हुन् । गत गर्मीमा उनी पशुहरू चराउन जङ्गल गएको बेला अनजानवश विस्फोटकमा पाइला टेकिँदा भएको विस्फोटपछि उनको दाहिने खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भयो । चिकित्सकहरूले उनको ज्यान जोगाउन अर्को खुट्टा समेत काट्नुपरेको थियो ।

राज्यका अधिकारीहरूका अनुसार यस्ता विस्फोटकहरू अझै व्यापक रूपमा फैलिएका छन् । उपमुख्यमन्त्री विजय शर्मा भन्छन्, ‘यी आइइडीहरू पोखरीको छेउ, सडकको किनार, नदीको आसपास – जहाँ पनि गाडिएका हुन सक्छन् । दैनिक रूपमा दर्जनौँ विस्फोटक निष्क्रिय पारिँदै छन्, तर समस्या अझै ठूलो नै छ ।’

लङ्कापल्ली गाउँका ३५ वर्षीय राजु मोडियमले पनि यसको पीडा भोगेका छन् । जनवरीमा माछा मार्न जाँदा परिचित बाटो रोज्दा आफू सुरक्षित हुने विश्वास

त्यहाँका प्रहरीका अनुसार गत वर्ष बस्तर क्षेत्रमा करिब ९०० विस्फोटक फेला पारिएको थियो भने सन् २०२६ को पहिलो तीन महिनामै ३०० बरामद भइसकेका छन् । स्थानीय प्रहरी प्रमुख सुन्दरराज पीका अनुसार अझै क्षेत्रलाई पूर्ण रूपमा आइइडीमुक्त घोषणा गर्ने अवस्था आएको छैन । बस्तरको जटिल भौगोलिक अवस्थाका कारण यस्तो समस्या समाधान गर्न चुनौतीपूर्ण भएको छ ।

यद्यपि, सरकारी दाबीअनुसार अधिकांश काम सम्पन्न भइसके पनि स्थानीय बासिन्दाका लागि डर अझै कायम छ । जङ्गल जाँदा विस्फोटकमा पाइला पर्‍यो भने के हुन्छ भन्ने चिन्ता सधैँ रहेको छ ।

  • एएफपी