- विकाश रौनियार, धादिङ
धादिङ अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रणालीको उद्घाटन गर्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा पेपरलेस प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् ।
उनका अनुसार ईएमआर प्रणाली लागू भएसँगै बिरामीको स्वास्थ्य विवरण डिजिटल रूपमा सुरक्षित रहने सेवा प्रवाह छिटो र प्रभावकारी हुने तथा खर्चसमेत घट्ने अपेक्षा गरिएको छ । “डिजिटल अभिलेखीकरणले सेवा सरल, पारदर्शी र व्यवस्थित बनाउँछ,” मन्त्री थापाले बताए । साथै अस्पतालको सेवा थप सुधार गर्न आवश्यक बजेट र उपकरणको व्यवस्था प्रदेश सरकारले गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
अस्पतालमा हाल उपकरण र जनशक्तिको अभाव रहेको स्वीकार गर्दै मन्त्री थापाले आगामी आर्थिक वर्षमा ती आवश्यकताहरू पूरा गरिने जानकारी दिए । तत्काल डायलाइसिस मेसिन थप गर्ने अस्पतालका लागि जग्गा व्यवस्थापन गर्ने तथा आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरिने उनले बताए ।
बागमती प्रदेश स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमले ईएमआर प्रणालीले अस्पतालका सेवाहरू प्रभावकारी बनाउनुका साथै अभिलेख व्यवस्थापन सहज बनाउने बताइन् । उनका अनुसार कागजी प्रक्रियाको अन्त्य उपचारमा गुणस्तर सुधार डेटा सुरक्षा र दीर्घकालीन अभिलेख व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ । एकीकृत तथ्यांकले स्वास्थ्य नीतिनिर्माणमा समेत सहयोग पुर्याउने उनको भनाइ छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले सीमित भौतिक संरचनाका कारण सेवा प्रवाहमा चुनौती रहेको उल्लेख गर्दै पूर्वाधार विस्तार विशेषज्ञ सेवा थप र उपकरण व्यवस्थापनको आवश्यकता औंल्याइन् ।
निमित्त अस्पताल निर्देशक त्रिभुवन चन्द्र झाका अनुसार ईएमआर प्रणालीमार्फत बिरामीको टिकटिङ, बिलिङ, चिकित्सकको उपलब्धता र औषधिसम्बन्धी जानकारी सहजै प्राप्त गर्न सकिन्छ । यसले बिरामीको विगतदेखि हालसम्मका स्वास्थ्य विवरण एकै ठाउँमा उपलब्ध गराउने उनले जानकारी दिए ।
ईएमआर प्रणाली लागू भएसँगै बिरामीको समय र खर्चमा कमी आउने अनावश्यक दोहोरो परीक्षण रोकिने र सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया