जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता गर्ने वडाध्यक्ष पक्राउ

जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता गर्ने वडाध्यक्ष पक्राउ


  • आरपी उपाध्याय, नवलपरासी

जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ताबाट वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

सुस्ता गाउँपालिका – ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडासचिव संजय कुमार चौधरीलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पश्चिम नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि उल्लेखित व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिउका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार सुस्ता गाउँपालिका – ५ सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारीले झुठो विवरण पेस गरी आफ्नो बुबाको मृत्यु भएको भन्दै अर्का ६६ वर्षीय व्यक्तिको मृत्युदर्ता गराएका थिए । उक्त मृत्युदर्ता गत मङ्सिर २७ गते भएको पाइएको छ । प्रहरी अनुसन्धानअनुसार मियाँको बुवाको भने २०६० सालमै मृत्यु भैसकेको थियो । घटना सार्वजनिक भएपछि मृत्युदर्तामा नाम उल्लेख भएका मृतकका छोराले गत चैत्र महिनामा प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि मुद्दा अदालतसम्म पुगेको पनि प्रहरीको भनाइ छ ।

मृत्युदर्ताको कागजमा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् । घटनामा संलग्न अन्य ७ जना भने फरार भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऎन २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) अनुसार झुठो विवरण पेस गरि मृत्युदर्ता प्रमाणपत्र बनाएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले अभियुक्तहरुलाई मङ्गलबार अदालतमा उपस्थित गराइ म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको छ।