- आरपी उपाध्याय, नवलपरासी
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रसेवक कर्मचारीले राष्ट्रसेवा गर्दा सर्वप्रथम आफू बस्ने बासस्थानको आवश्यकता पर्ने धारणा अघिसारेका छन् । पुर्वी नवलपरासीको कावासोतिमा गण्डकी प्रदेश सरकारको विनियोजित रकमबाट जिल्ला ट्राफिक कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले भाडाको घरमा सीमित साधन स्रोतका साथ सेवा गर्दै आएका ट्राफिक प्रहरी नवलपुरले अब आफ्नो निजी घरबाट सेवा प्रवाह गर्दा थप उत्साह र उर्जा बढ्ने बताए ।
समाजमा सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीहरु व्यवहारमा शुद्धता, बोलीमा बुद्धताको मुल मन्त्रलाई आत्मसात गरि राष्ट्रसेवा गरेमा कुनै कठिनाइको सामना गर्न नपर्ने उल्लेख गर्दै महानिरीक्षक कार्कीले ट्राफिक नियमको पालना गर्नु प्रत्येक नेपालीको परम कर्तव्य रहेको औंल्याए । नागरिकबाट पनि पिर, भिर, द्वन्द्व र बन्दको सामना गर्दै आएको नेपाल प्रहरी हाम्रो सारथी हो भन्ने किसिमको व्यवहार हुनुपर्ने जिकिर उनले गरे ।
नवनिर्मित सुविधासम्पन्न भवन २०८१ साल असार २० गते सम्झौता भइ तोकिएको समयमै ३ करोड २२ लाख २४ हजार ६ सय ८२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको प्राविधिक प्रहरी नायब उपरीक्षक इन्जिनियर चिरञ्जीवी प्रताप महतोले जानकारी दिए । नवनिर्मित सुविधासम्पन्न भवन साढे ४ तल्लाको रहेको छ भने भवनभित्र २४ कोठा रहेको पनि इन्जिनियर महतोले जनाएका छन् ।
भवन उद्घाटन समारोहमा गाउँपालिका महासंघ नेपाल तथा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकारका सचिव कृष्णप्रसाद लम्साल, निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्री लगायतले आफ्नो भनाइ राखेका थिए ।
जिल्ला ट्राफिक कार्यालय नवलपरासी(ब.स.पू.) को नवनिर्मित भवन उद्घाटनपश्चात् ट्राफिक प्रहरीले अब उच्च मनोबलका साथ राष्ट्रले दिएको जिम्मेवारीलाई अझ बढी उत्साहजनक रुपमा कार्य गर्ने विश्वास नवलपुर जिल्लाबासीले गरेका छन् ।
प्रतिक्रिया