सरसफाइ सप्ताह अभियानको आरम्भ

सरसफाइ सप्ताह अभियानको आरम्भ


सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आज (२८ वैशाख)देखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा पुगी सप्ताहको शुभारम्भ गरेकी हुन् । उनले कुचोले फोहर सफाइ गर्दै अभियानको शुभारम्भ गरिन् ।

मन्त्री मेहताले सफाइ अभियान मुलुकभरका सरकारी अस्पताल र सरकारी कार्यालयमा सञ्चालन गरिने उल्लेख गर्दै भनिन्, ‘अस्पतालमा पहिलेको तुलनामा धेरै सुधार भएको छ, बिरामीको उपचारमा विशेष ध्यान दिएका छौँ । अस्पतालमा ‘डिजिटल’ प्रणालीमार्फत सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ ।’

मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज बनाउनका लागि छलफल भइरहेको जानकारी दिइन् । उनका अनुसार आज एकै समयमा मुलुकभरका सबै अस्पतालमा सरसफाइ अभियान सुरु गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, वीर अस्पतालका निमित्त निर्देशक प्राडा प्रभा कोइरालालगायतको सहभागिता थियो ।

सरकारले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी कार्यालयमा सरसफाइ सप्ताह सुरु गरेको हो । अभियान आगामी जेठ १ गतेसम्म सञ्चालन गरिनेछ । अभियान सञ्चालन गर्नका लागि सरकारले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन, २०८३ समेत जारी गरेको छ ।