ई-बिडिङ प्रकरण : विक्रम पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

ई-बिडिङ प्रकरण : विक्रम पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त


ई-बिडिङ प्रकरणमा मुछिएर सिआईबीको हिरासतमा रहेका राप्रपाका नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश चुरामन खड्काको एकल इजलासले बिहीबार (३१ वैशाख) पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौंका भाष्करराज अर्यालसँग रु १०/१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग रु पाँच/पाँच लाख, नुवाकोटका प्रकाश ढुङ्गाना, काठमाडौंका अमृत बोहोरा, दोलखाका अनिल श्रेष्ठ, धादिङका टङ्ककुमार श्रेष्ठ, सिरहाका स्वदेश पोखरेल र काठमाडौंका ऋषिकेश गौलीलाई जनही रु. चार लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले उक्त प्रकरणमा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसहितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही वैशाख ११ गते पक्राउ गरी २२ जनालाई प्रतिवादी बनाइएको थियो ।