वर्तमान भू-राजनीतिक परिदृश्यलाई नियाल्दा प्रष्ट हुन्छ- वासिङ्टन नेपालको बाटो भएर तिब्बतको हिउँ पगाल्न र चीनलाई गलाउन चाहन्छ भने बेइजिङ अमेरिकी पदचापलाई हिमालयको फेदीमै रोक्न आफ्नो सम्पूर्ण आर्थिक र कूटनीतिक सामर्थ्य लगाइरहेको छ । यसले नेपाललाई विश्वकै सबैभन्दा संवेदनशील भू-राजनीतिक चेसबोर्ड बनाइदिएको छ ।
✍ डा. लक्ष्मीप्रसाद खतिवडा

इतिहासले आफूलाई हुबहु नदोहोऱ्याए पनि यसका पराकम्प र अन्तर्निहित प्रवृत्ति भने अचम्मसँग मिल्दाजुल्दा हुन्छन् । प्राचीन कालमा महाशक्तिहरू जुन डर, संशय र महत्त्वाकाङ्क्षाको जगमा आपसमा टकराउँथे, आजको अत्याधुिनक, प्रविधिमय र भूमण्डलीकृत भनिएको एक्कासौँ शताब्दीमा पनि विश्व राजनीतिको मूल चरित्र उस्तै देखिन्छ । मानव सभ्यताले भौतिक र प्राविधिक रूपमा ठूलो फड्को मारेपनि मानवीय तथा राष्ट्रिय मनोविज्ञानका आदिम आधारभूत तत्वहरू भय, स्वार्थ र प्रतिष्ठा आदि बदलिएका छैनन् । ग्रीसको पेलोपोर्नेसियन युद्धको मैदानमा जुन डर र महत्त्वाकाङ्क्षाको बिजारोपण भएको थियो, आज त्यही छायाँ हिमालयको काखमा अवस्थित शान्त देश नेपालको राजनीतिक क्षितिजमा मडारिइरहेको छ ।
चीनका राष्ट्रपित सी चिनपिङले अमेरिकी राष्ट्रपतिहरूसँगको भेटवार्तामा पटक-पटक एउटा विशिष्ट ऐतिहासिक पदावलीको उल्लेख गरेका छन्, त्यो पदावली हो- थ्युसिडाइड्स ट्र्याप । अमेरिकी राजनीतिशास्त्री ग्राहम एलीसनद्वारा प्रतिपादित यो अवधारणा सरल भाषामा भन्दा स्थापित महाशक्ति र उदीयमान महाशक्तिबीचको अनिवार्य टकरावको कथा हो, जहाँ पुरानो शक्तिले आफ्नो वर्चस्व गुम्ने भय पाल्छ र नयाँ शक्तिले विश्व मञ्चमा आफ्नो न्यायोचित स्थान खोज्छ । यसले वर्तमान युगमा वासिङ्टन र बेइजिङबीचको द्वन्द्वलाई मात्र उजागर गर्दैन – बल्कि इरान, ताइवान र खासगरी दुई ढुङ्गाबीचको तरुल बनेको नेपाल कसरी यो महाशक्तिको रणनीतिक कुरुक्षेत्र बन्दैछ भन्ने तीतो यथार्थलाई समेत चित्रण गर्दछ । इतिहासको यो चिरन्तन लयले नेपाल जस्ता संवेदनशील भू-भागमा अवस्थित राष्ट्रहरूलाई सदैव सचेत रहन घण्टी बजाइरहन्छ । त्यसैले होला नेपालको राजनीतिमा अहिले घण्टीको निकै ठूलो आवाज सुिनएको ।
थ्युसिडाइड्स ट्र्यापको ऐतिहासिक पृष्ठभूिम
थ्युसिडाइड्स ट्र्यापको गहिराई बुझ्न इतिहासको त्यो कालखण्डमा पुग्नुपर्छ, जहाँ स्पार्टा र एथेन्सबीचको मनोवैज्ञानिक डर र त्रासदीले विध्वंसको रूप लिएको थियो । आजभन्दा झण्डै २५०० वर्षअघि ग्रीसको भूिममा लडिएको पेलोपोनेसियन युद्धको जग तत्कालीन विश्वको विशाल साम्राज्य फारस अर्थात् आजको इरानसँगको युद्धबाट सुरु हुन्छ । फारससँगको युद्ध जितेपछि एथेन्सले एजियन समुद्रमा आफ्नो एकछत्र राज सुरु गऱ्यो । उसले वरिपरिका साना राज्यहरूबाट कर उठाउन, आफ्नो नौसैनिक क्षमता बढाउन र साम्राज्यको क्षीतिज फैलाउन थाल्यो । आर्थिक र सैन्य रूपमा बलियो भएपछि एथेन्समा एक किसिमको साम्राज्यवादी अहङ्कार पलायो । त्यो समयमा एथेन्स एउटा लोकतान्त्रिक, खुला र सांस्कृितक रूपमा अगािड बढेको शहर मािनन्थ्यो । अर्कोतर्फ, स्पार्टा एउटा परम्परावादी, कठोर र भू-आधारित सैन्य शक्ति सम्पन्न राज्यव्यवस्था थियो । एथेन्सले समुद्र हुँदै साना राज्यहरूलाई आफ्नो मुठ्ठीमा लिँदै गएको र आफ्नो सिमानातिर व्यापारिक नाकाबन्दी गरेको स्पार्टालाई मन परिरहेको थिएन । स्पार्टालाई लाग्यो- यदि एथेन्सलाई अहिल्यै नरोक्ने हो भने, भोलि उसले स्पार्टालाई नै निल्नेछ । एथेन्सको अत्याचारबाट बच्न स्पार्टाको नेतृत्वमा रहेको पेलोपोनेसियन समूहका मित्रराज्यहरूले स्पार्टालाई भने- अहिले हतियार उठाएनौ भने तिम्रो नेतृत्वको केही अर्थ रहने छैन ।
जब यी दुई विपरीत शक्तिहरू मैदानमा उत्रिए, तब युद्ध अत्यन्तै क्रूर र विनाशकारी बन्यो । यो लडाइँ बाघ र गोहीको जस्तो थियो । एथेन्स समुद्रको राजा (गोही) थियो भने स्पार्टा जमिनको राजा (बाघ) ! झण्डै २७ वर्षसम्म चलेको यो युद्धको अन्तिम चरणमा स्पार्टाले एउटा चतुर रणनीति अपनायो । जमिनमा मात्र बलियो रहेको स्पार्टाले एथेन्सलाई समुद्रमा हराउनका लागि ग्रीसको पुरानो शत्रु फारस वा हालको इरानसँग आर्थिक र सैन्य सहयोग लियो । इरानको आर्थिक सहयोगमा स्पार्टाले एथेन्सको नौसेनालाई ध्वस्त पारिदियो र एथेन्स आत्मसमर्पण गर्न बाध्य भयो । तर विडम्बना ! युद्ध जितेपछि स्पार्टा आफैं एथेन्सभन्दा बढी क्रूर र अहङ्कारी शासक बन्न पुग्यो । यही एउटाको उदयले अर्कोमा पैदा गर्ने डरको मनोविज्ञानलाई नै आज हामी राजनीतिशास्त्रमा थ्युसिडाइड्स ट्र्याप भन्छौँ ।
बीसौँ शताब्दीको सुरुवातमै बेलायतको साम्राज्यवादी अहङ्कार र जर्मनको औद्योगिक उदयको टक्करले पहिलो विश्वयुद्धको रूप लिएको थियो । इतिहासको त्यही घटनाको नयाँ र जीवन्त पात्रका रूपमा आज एक्कासौँ शताब्दीमा अमेरिका र चीन उभिएका छन् । दोस्रो विश्वयुद्ध र शीतयुद्धको अन्त्यपछि अमेरिका विश्वको एकछत्र स्थापित महाशक्ति रहँदै आएको छ । तर, पछिल्ला दशकहरूमा चीनको तीव्र आर्थिक विकास, क्वान्टम कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स (AI), ५जी (5G) जस्ता प्रविधिमा स्थापित श्रेष्ठता र बलियो सैन्य आधुनिकीकरणले अमेरिकालाई आफ्नो विश्वव्यापी वर्चस्व गुम्ने गम्भीर डर पैदा गरिदिएको छ ।
चीनको मनोविज्ञान भने फरक र जटिल छ । उसले आफूलाई ऐतिहासिक रूपमा गुमेको विरासत पुनः प्राप्त गर्दै गरेको शक्तिका रूपमा हेर्छ । उदीयमान विश्वशक्तिको रूपमा देखापरेको चीनले अमेरिकालाई उछिन्न खोज्दा कहीँ युद्धको स्थिति ब्यहोर्नुपर्ने हो कि भन्ने डरको मनोविज्ञान उसमा देखिन्छ । उसलाई लाग्छ कि अमेरिकाले उसको स्वाभाविक उदयलाई कृत्रिम रूपमा रोक्न खोजिरहेको छ । ताइवानको मुद्दा, दक्षिण चीन सागरमा अमेरिकी नौसैनिक उपस्थिति र विवभन्न व्यापारिक प्रतिबन्धहरूलाई चीनले आफ्नो सुरक्षा र सार्वभैमिकतामाथिको सिधा खतराका रूपमा बुझ्छ । यससँगै चीनले रसिया जस्तो गुमेको विरासत पुनः प्राप्त गर्न खोजिरहेको छिमेकी शक्ति र अन्य क्षेत्रीय खेलाडीहरूसँग पनि सन्तुलन कायम राख्नुपर्ने बहुआयामिक दबाब झेल्नुपरेको छ ।
दुई महाशक्तिबीचको यो टक्कर केवल व्यापार युद्ध, एआईको श्रेष्ठता वा दक्षिणी चीन सागरको सैन्य तैनाथीमा मात्र सीमित छैन । आज अमेरिका र चीनको अर्थतन्त्र एक-अर्कामा यति गहिरोसँग जेलिएको छ कि प्रत्यक्ष सैन्य मुठभेडको सट्टा अहिले दुवै शक्तिहरू प्रविधि, व्यापार र साइबर स्पेसमा लडिरहेका छन् । सेमिकन्डक्टर चिप्समाथिको प्रतिबन्ध, बौद्धिक सम्पत्तिको लडाइँ र कूटनीतिक होडबाजी यसकै रूप हुन् । यो होडबाजी चीन र अमेरिकामा सीमित छैन, यो वैश्विक शीतयुद्धको बाछिटा र कम्पनहरू अब हिमालयका शान्त खोँच र भन्ज्याङहरूमा पनि प्रष्ट रूपमा आइपुगेका छन् ।
नेपाल भू-राजनीतिक चेसबोर्डको रणनीतिक केन्द्र बन्न लागेको देखिन्छ । संसारको वर्तमान महाशक्ति अमेरिकाका लागि नेपाल केवल एउटा सानो, भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रमात्र होइन, यो त भू-राजनीतिक चेसबोर्डको एउटा यस्तो रणनीतिक गोटी हो, जहाँबाट चीनको सबैभन्दा संवेदनशील र स्वायत्त भूभाग तिब्बतलाई सिधै चेक दिन मिल्छ । तिब्बतको लामो, दुर्गम र सामरिक रूपमा संवेदनशील हिमाली सीमाना नेपालसँग जोडिएको छ । अमेरिकाका लागि नेपाल त्यो कूटनीतिक झ्याल हो, जहाँ बसेर उसले तिब्बतभित्रका सैन्य सञ्चालन, मानवाधिकारको अवस्था र बेइजिङको आन्तरिक राजनीतिक कम्पनलाई नजिकबाट महसूस र अनुगमन गर्न सक्छ ।
अमेरिका र चीनको अर्थतन्त्र एक-अर्कामा यति गहिरोसँग जेलिएको छ कि प्रत्यक्ष सैन्य मुठभेडको सट्टा अहिले दुवै शक्तिहरू प्रविधि, व्यापार र साइबर स्पेसमा लडिरहेका छन् । सेमिकन्डक्टर चिप्समाथिको प्रतिबन्ध, बौद्धिक सम्पत्तिको लडाइँ र कूटनीतिक होडबाजी यसकै रूप हुन् । यो होडबाजी चीन र अमेरिकामा सीमित छैन, यो वैश्विक शीतयुद्धको बाछिटा र कम्पनहरू अब हिमालयका शान्त खोँच र भन्ज्याङहरूमा पनि प्रष्ट रूपमा आइपुगेका छन् ।
नेपालमा रहेका हजारौँ तिब्बती शरणार्थीहरू अमेरिका र पश्चिमा शक्तिहरूका लागि एउटा बलियो राजनीतिक हतियार हुन् । अन्तर्राष्ट्रिय मञ्चहरूमा तिब्बत मामिलालाई जीवित राख्न र चीनलाई नैतिक तथा राजनीतिक रूपमा घेराबन्दी गर्न वासिङ्टनले नेपालका हिमाली खोँच र भञ्ज्याङलाई रणनीतिक अखडाका रूपमा प्रयोग गर्न चाहनु नौलो विषय होइन । अमेरिकी आर्थिक सहयोग परियोजना लिेनियम च्यालेन्ज कर्पोरेसन (MCC) को नेपालमा भएको तीव्र राजनीतिक विवाद र त्यसपछिको ब्याख्यात्मक घोषणासहितको अनुमोदन केवल विकास र पूर्वाधारसँग मात्र जोडिएको थिएन र छैन । यो वासिङ्टनको बृहत्तर इन्डो-प्यासिफिक रणनीतिको एउटा कूटनीतिक प्रस्थानबिन्दु थियो र छ, जसको अन्तरनिहित उद्देश्य हिमालयको काखमा आफ्नो भौतिक र रणनीतिक उपस्थिति जनाउनु र चीनको फैलिँदो पखेटालाई सन्तुलनमा राख्नु हो । बेइिजङका लागि नेपालसँगको सम्बन्ध कुनै कूटनीतिक विलासिता वा सामान्य छिमेकीपन मात्र होइन, यो उसको राष्ट्रिय सुरक्षा, अखण्डता र सार्वभौमिकताको अकाट्य प्रश्न हो । चीन नेपाललाई आफ्नो हिमाली सीमाको अभेद्य सुरक्षा ढाल मान्दछ । यसमा चीनको ऐतिहासिक घेराबन्दीको भय र सुरक्षा-चिन्ता गहिरोसँग गाँसिएको छ । चीनको सबैभन्दा ठूलो भू-राजनीतिक संशय के हो भने, पश्चिमा शक्तिहरू, विशेषगरी अमेरिकाले नेपाली भूमिलाई दुरुपयोग गरेर तिब्बतमा पुनः अस्थिरता वा विद्रोहको आगो सल्काउन सक्छन् ।
त्यसैले, चीनले नेपालका हरेक पार्टी र विचारका सरकारहरूसँग ‘एक चीन नीति’को अक्षरसः र कडा पालनाको माग गर्दछ । नेपाली माटोबाट चीनिवरोधी कुनै पनि सुस्केरा वा राजनीतिक गतिविधि उत्पन्न नहोस् भन्नका लागि बेइजिङले काठमाडौंको सत्ता, सुरक्षा निकाय र राजनीतिमाथि कडा र सूक्ष्म निगरानी राख्ने गर्छ । अमेरिकी प्रभावको यो बाढीलाई रोक्न चीनले आफ्नो महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसियटिभ (BRI) र ट्रान्स-हिमालयन मल्टी-डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कमार्फत हिमालय वारपार सडक र सूचना प्रविधिको सञ्जाल तयार गर्दैछ ।
चीन नेपाललाई भूपरिवेष्ठितको अवस्थाबाट मुक्त गरी भू-जडित देश बनाउने रणनीतिक आश्वासन दिँदै आर्थिक र प्राविधिक रूपमा आफूतिर यसरी बाँध्न चाहन्छ, ताकि काठमाडौंको संस्थापनले पश्चिमाहरूको इसारामा चीनको सुरक्षा संवेदनशीलताविरुद्ध सोच्ने हिम्मत समेत गर्न नसकोस् । यसरी वर्तमान भू-राजनीतिक परिदृश्यलाई नियाल्दा प्रष्ट हुन्छ- वासिङ्टन नेपालको बाटो भएर तिब्बतको हिउँ पगाल्न र चीनलाई गलाउन चाहन्छ भने बेइजिङ अमेरिकी पदचापलाई हिमालयको फेदीमै रोक्न आफ्नो सम्पूर्ण आर्थिक र कूटनीतिक सामर्थ्य लगाइरहेको छ । यसले नेपाललाई विश्वकै सबैभन्दा संवेदनशील भू-राजनीतिक चेसबोर्ड बनाइदिएको छ ।
दुई ढुङ्गाबीचको आधुनिक तरुलको परीक्षा
नेपालको यो कठिन अवस्थालाई हाम्रा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले बडो मार्मिक र दूरदर्शी ढङ्गले ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिएका थिए । तत्कालीन समयमा त्यो तरुल केवल दुई छिमेकी साम्राज्यहरू दक्षिणको ब्रिटिस इस्ट इन्डिया कम्पनी र उत्तरमा चीनको चिङ वा छिङ साम्राज्यको बीचमा थियो । तर आज एक्कासौँ शताब्दीमा त्यो तरुल केवल दुई छिमेकी (चीन र भारत) को बीचमा मात्र छैन, बरु विश्वकै दुई महाशक्तिको कडा वैश्विक चट्टानको बीचमा थिचिएको छ ।
थ्युसिडाइड्स ट्र्यापको यो वैश्विक आँधीमा नेपालका लागि कुनैपनि एक पक्षतर्फ ढल्किनु, सानो राजनीतिक स्वार्थका लागि रणनीतिक कार्ड खेल्नु वा कसैको सुरक्षा-छाताभित्र ओत लाग्न खोज्नु आत्मघाती सावित हुन सक्छ । अमेरिका रिसाए आर्थिक र कूटनीतिक एक्लोपनको भय रहन्छ, चीन चिढिए आफ्नै घरको आँगनमा असुरक्षाको आगो बल्ने डर हुन्छ ।
यो समय कुनैपनि विदेशी शक्ति वा पासोमा फसेर भावुक हुने वा वैचारिक रूपमा बहकिने समय होइन । महाशक्तिहरूको यो महाखेलमा नेपालले आफूलाई खेलको निरीह गोटी होइन, बरु एउटा परिपक्व, तटस्थ, सार्वभौम र विश्वसनीय मध्यस्थकर्ताका रूपमा उभ्याउन सक्नुपर्छ । यसका लागि नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई कर्म र व्यवहार दुवैमा आफ्नो महामन्त्र बनाउनुको विकल्प छैन । नेपालले आफ्ना दुवै छिमेकी र विश्व महाशक्तिसँग केवल आर्थिक विकास, ब्यापार र सन्तुलित सम्बन्धमा मात्र साझेदारी गर्नुपर्छ, कुनै पनि प्रकारको सैन्य वा रणनीतिक मोर्चाबन्दीमा होइन ।
स्वाभिमान र देशको सार्वभौमिकता जोगाउन काठमाडौंले आफ्नो कुटनीतिक चातुर्यतालाई यति प्रखर र निष्पक्ष बनाउनुपर्छ कि दुवै महाशक्तिहरू नेपालको कूटनीतिक सन्तुलन र संवेदनशीलतालाई सम्मान गर्न बाध्य होऊन् । महाशक्तिहरूको लडाइँको कम्पनका बीच आफ्नो अस्तित्व, शान्ति र स्वाधीनता अक्षुण्ण राख्नु नै नेपालको इतिहासको वर्तमान कालखण्डको सबैभन्दा कठीन तर अनिवार्य चुनौती हो । महाशक्तिहरूबीचको थ्युिसडाइड्स ट्र्यापको गहिराइ बुझ्न नसके हिमाली खोँचहरूमा हिउँ पगाल्ने आगो बल्न सक्छ ।
AI Image
प्रतिक्रिया