आजको नेपालमा वैचारिक बहस क्रमशः कमजोर हुँदै गएको छ । राजनीतिक दलहरू आन्दोलन र अध्ययनका विद्यालयभन्दा चुनावी संयन्त्रजस्ता देखिन थालेका छन् । सूचना धेरै छ, तर अध्ययन कम छ । नाराहरू धेरै छन्, तर आत्मालोचना कम छ । प्रतिस्पर्धा विचारभन्दा प्रचारमा केन्द्रित हुँदै गएको छ ।
✍ जयप्रकाश आनन्द
नेपालको राजनीतिमा सतहमा शान्ति देखिए पनि भित्री रूपमा गम्भीर वैचारिक पुनर्संरचनाका संकेतहरू क्रमशः प्रकट भइरहेका छन् । संविधान संशोधनको बहससँगै, राजसंस्था, संसदीय प्रणाली र राज्यको स्वरूपबारेका प्रश्नहरू पुनः राजनीतिक केन्द्रतर्फ फर्किन थालेका छन् ।
संसदभित्रै ‘राजा फर्किन सक्ने’ षडयन्त्रका अभिव्यक्तिहरू आउनु, संविधान संशोधनसँग जोडिएका व्यक्तिहरूबाट राजसंस्थालाई सामान्यीकरण गर्ने संकेतहरू प्रकट हुनु तथा संसदीय व्यवस्थाभित्रै संसदविरोधी मनोविज्ञान विस्तार हुन थाल्नु – यी सबै घटनाहरू आकस्मिक होइनन् । यसले गणतान्त्रिक शक्तिहरू वैचारिक रूपमा कमजोर बन्दै गएको संकेत दिन्छ । अझ विडम्बना त के छ भने, यही संसदीय व्यवस्थाका मुख्य संरक्षक दलहरू – नेपाली कांग्रेस र नेकपा (एमाले) – स्वयं आन्तरिक शक्ति संघर्ष, नेतृत्व व्यवस्थापन र तात्कालिक राजनीतिक समीकरणमै बढी अल्झिएका देखिन्छन् ।
यसर्थ, आजको मूल संकट राजा फर्किने कि नफर्किने भन्ने प्रश्न मात्र होइन, वास्तविक प्रश्न यो हो- के नेपालको राजनीतिक वर्ग अझै पनि आफूले निर्माण गरेको गणतान्त्रिक संसदीय व्यवस्थाको वैचारिक रक्षा गर्न सक्षम र प्रतिबद्ध छ ?
यही प्रश्नले हामीलाई नेपालको राजनीतिक संघर्षको इतिहास र त्यसलाई सम्भव बनाउने नैतिक-वैचारिक संस्कारतर्फ फर्किन बाध्य बनाउँछ । नेपालको राजनीतिक इतिहास केवल सरकार परिवर्तन वा सत्तासंघर्षको इतिहास होइन; यो विचार, त्याग, अध्ययन, नैतिक साहस र सामाजिक रूपान्तरणको इतिहास पनि हो । तर आजको नेपाललाई हेर्दा यस्तो अनुभूति हुन्छ- हामीले राजनीतिक उपलब्धिहरू जोगायौँ, तर ती उपलब्धिहरू जन्माउने वैचारिक संस्कार क्रमशः गुमाउँदै गयौँ ।
विशेषतः नयाँ पुस्तामा एउटा गम्भीर विरोधाभास देखिन्छ । परिवर्तनको आकांक्षा अझै जीवित छ, अन्यायप्रति असन्तोष पनि छ, नयाँ समाज निर्माणको चाहना पनि छ; तर त्यसलाई दिशा दिने अध्ययन, वैचारिक गहिराइ र ऐतिहासिक चेतना कमजोर हुँदै गएको छ । सामाजिक सञ्जालको तात्कालिक उत्तेजना, व्यक्तिपूजा, प्रचारमुखी संस्कृति र क्षणिक लोकप्रियताको राजनीतिले सार्वजनिक जीवनलाई विचारको विद्यालयबाट प्रदर्शनको मञ्चमा रूपान्तरण गरिरहेको छ ।
यस्तो समयमा नेपालको लोकतान्त्रिक, वामपन्थी तथा मधेसकेन्द्रित आन्दोलनका प्रारम्भिक पुस्ताका नेताहरूलाई स्मरण गर्नु केवल अतीतप्रतिको भावुकता होइन; त्यो समाजको नैतिक पुनर्स्मरण हो ।
नेपालको राजनीतिक इतिहासमा एउटा समय यस्तो थियो, जब नेता बन्नु भनेको सुविधा प्राप्त गर्नु होइन, कठिन जीवन रोज्नु थियो । राजनीतिमा प्रवेश गर्नेहरू जेल जान, निर्वासन सहन र निजी जीवन सार्वजनिक उद्देश्यका लागि समर्पित गर्न तयार हुन्थे । उनीहरू अध्ययन गर्थे, बहस गर्थे, दर्शन र समाजको संरचनाबारे गम्भीर चिन्तन गर्थे । मतभेद तीव्र थिए, तर विचारप्रतिको निष्ठा पनि त्यत्तिकै गहिरो थियो ।
नेपाली कांग्रेसले प्रजातन्त्र, नागरिक स्वतन्त्रता र संवैधानिक शासनको प्रश्न उठायो भने कम्युनिष्ट आन्दोलनले वर्गीय असमानता, भूमिसुधार, श्रमिक अधिकार र सामाजिक न्यायका मुद्दाहरूलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो । माओवादीले सबैखाले पुरातनपंथी राजनीतिक सोचलाई धक्का दिँदै गणतन्त्र तथा उत्पिडीत, बहिष्कृतहरूको मुक्तिको भाष्यलाई स्थापित गऱ्यो । मधेस आन्दोलनहरूले पहिचान, प्रतिनिधित्व र उत्पीडनविरुद्धको चेतनालाई राजनीतिक संरचनागत रूप दिए । यी सबै धाराहरूबीच संघर्ष र प्रतिस्पर्धा थिए, तर तिनले संयुक्त रूपमा नेपाललाई आधुनिक राजनीतिक चेतनातर्फ डोर्याउने ऐतिहासिक भूमिका खेले ।
अलिक पछाडि फर्केर दृष्टि दियौं भने यी सबको पृष्ठभूमिमा भेटिन्छ- विश्वेश्वर प्रसाद कोइरालाले राजनीतिमा विचारको उचाइ थपे । उनी केवल नेता होइन, साहित्य, दर्शन र मानव मनोविज्ञानलाई राजनीतिसँग जोडेर सोच्ने दुर्लभ चिन्तक थिए । उनले प्रजातन्त्रलाई केवल निर्वाचन प्रणालीका रूपमा होइन, मानिसको आत्मसम्मानसँग जोडिएको जीवनपद्धतिका रूपमा बुझे । जेलभित्र साहित्य सिर्जना गर्दै उनले एउटा गम्भीर सत्य स्थापित गरे- अध्ययनविहीन राजनीति अन्ततः भीडको उत्तेजनामा सीमित हुन्छ ।
सुवर्ण शम्सेर राणाले आफ्नो वर्गीय विशेषाधिकारविरुद्ध उभिएर लोकतान्त्रिक आन्दोलनलाई आर्थिक, नैतिक र राजनीतिक आधार दिए । उनले परिवर्तनलाई केवल शासन परिवर्तनमा सीमित नराखी आर्थिक आधुनिकतासँग जोडेर हेरे । आज बेरोजगारी, पलायन र आर्थिक असमानताले ग्रस्त समाजमा उनको दूरदृष्टि अझ सान्दर्भिक देखिन्छ ।
नेपालको राजनीतिक इतिहासमा एउटा समय यस्तो थियो, जब नेता बन्नु भनेको सुविधा प्राप्त गर्नु होइन, कठिन जीवन रोज्नु थियो । राजनीतिमा प्रवेश गर्नेहरू जेल जान, निर्वासन सहन र निजी जीवन सार्वजनिक उद्देश्यका लागि समर्पित गर्न तयार हुन्थे । उनीहरू अध्ययन गर्थे, बहस गर्थे, दर्शन र समाजको संरचनाबारे गम्भीर चिन्तन गर्थे । मतभेद तीव्र थिए, तर विचारप्रतिको निष्ठा पनि त्यत्तिकै गहिरो थियो ।
गणेशमान सिंहले नैतिक साहस र राजनीतिक अडानको उदाहरण प्रस्तुत गरे । २०४६ पछि प्रधानमन्त्री बन्न सक्ने अवस्थामा पनि आफू पछाडि हटेर कृष्णप्रसाद भट्टराईलाई अघिसार्नु राजनीतिमा पदभन्दा सिद्धान्त ठूलो हुन सक्छ भन्ने दुर्लभ उदाहरण थियो ।
कृष्णप्रसाद भट्टराईले सार्वजनिक जीवनमा सादगी, निष्ठा र नैतिक अनुशासन सम्भव हुन्छ भन्ने प्रमाणित गरे। सत्तामा पुगेर पनि सत्तामोहबाट मुक्त रहन सक्ने उनको व्यक्तित्व आजको कृत्रिम छवि-निर्माणको राजनीतिभन्दा बिल्कुल भिन्न थियो ।
गिरिजाप्रसाद कोइरालाले भने संघर्षशीलताको अर्को अध्याय निर्माण गरे । आलोचना, विभाजन र संकटबीच पनि लोकतान्त्रिक प्रक्रियालाई निरन्तर अगाडि बढाउने उनको क्षमता असाधारण थियो । २०४६ देखि २०६२/६३ सम्मका निर्णायक मोडहरूमा उनले लोकतान्त्रिक निरन्तरताको केन्द्रीय भूमिका निर्वाह गरे ।
कम्युनिष्ट आन्दोलनतर्फ पुष्पलाल श्रेष्ठले वर्गीय चेतना, वैज्ञानिक समाजवाद र गणतान्त्रिक विचारलाई नेपाली यथार्थसँग जोड्ने प्रयास गरे । मनमोहन अधिकारीले राजनीति जनताको दैनिक जीवनसँग कसरी जोडिनुपर्छ भन्ने व्यवहारिक उदाहरण प्रस्तुत गरे । निर्मल लामाले आन्दोलनभित्र अनुशासन, सादगी र नैतिक सीमाको आग्रहलाई जोगाइराखे भने विष्णुबहादुर मानन्धरले प्रचारभन्दा सिद्धान्तलाई ठूलो मानेर जीवन बिताए ।
मधेसबाट महेन्द्र नारायण निधीले लोकतान्त्रिक आन्दोलनलाई राष्ट्रिय समावेशितासँग जोड्ने प्रयास गरे । गजेन्द्र नारायण सिंहले मधेसी पहिचान र प्रतिनिधित्वको प्रश्नलाई संगठित राजनीतिक बहसको केन्द्रमा ल्याए । शेख इद्रीसजस्ता नेताहरूले मधेसका श्रमिक, मुस्लिम तथा सीमान्तकृत समुदायका आवाजलाई राष्ट्रिय राजनीतिक चेतनासँग जोड्ने प्रयास गरे ।
यी सबै नेताहरू पूर्ण थिएनन् । उनीहरूबीच मतभेद, सीमितता र राजनीतिक त्रुटिहरू पनि थिए । तर उनीहरूमा एउटा साझा गुण थियो- आफूभन्दा ठूलो कुनै आदर्शप्रति समर्पण। उनीहरूले राजनीतिलाई व्यक्तिगत उन्नति वा प्रचारको माध्यम होइन, सार्वजनिक दायित्वका रूपमा बुझे ।
आजको नेपालमा भने वैचारिक बहस क्रमशः कमजोर हुँदै गएको छ । राजनीतिक दलहरू आन्दोलन र अध्ययनका विद्यालयभन्दा चुनावी संयन्त्रजस्ता देखिन थालेका छन् । सूचना धेरै छ, तर अध्ययन कम छ । नाराहरू धेरै छन्, तर आत्मालोचना कम छ । प्रतिस्पर्धा विचारभन्दा प्रचारमा केन्द्रित हुँदै गएको छ ।
सबैभन्दा चिन्ताजनक कुरा नयाँ पुस्ता र इतिहासबीचको दूरी हो । नेताहरूलाई या त अन्धभक्तिपूर्वक महिमामण्डन गरिन्छ, या सम्पूर्ण रूपमा खारेज गरिन्छ। तर इतिहास न त पूर्ण महिमाको कथा हो, न पूर्ण असफलताको । इतिहास भनेको संघर्ष, कमजोरी, त्रुटि र महानताको मिश्रित यात्रा हो ।
अन्ततः, नेपालको वर्तमान राजनीतिक संकट केवल संवैधानिक वा संस्थागत संकट होइन; यो वैचारिक स्मृति र नैतिक संस्कारको संकट पनि हो । यदि राजनीति केवल अवसर, पहुँच र प्रचारको खेलमा सीमित हुँदै गयो भने लोकतन्त्र औपचारिक रूपमा बाँचे पनि नैतिक रूपमा कमजोर हुँदै जानेछ । त्यस अवस्थामा संसदीय प्रणालीभित्रै संसद-विरोधी प्रवृत्तिहरू बलियो बन्दै जानेछन्, र गणतन्त्रको आधार क्रमशः खोक्रिँदै जानेछ ।
तर, यदि नयाँ पुस्ताले अध्ययन, वैचारिक गहिराइ, सार्वजनिक नैतिकता, त्याग र ऐतिहासिक चेतनालाई पुनः राजनीतिक मूल्यका रूपमा स्थापित गर्न सक्यो भने नेपालको लोकतान्त्रिक यात्रा अझै अर्थपूर्ण बन्न सक्छ । किनभने, अन्ततः कुनै पनि राष्ट्र केवल संविधान, निर्वाचन वा संस्थाले मात्र टिक्दैन । त्यो आफ्ना नागरिकहरूको नैतिक स्मृति, वैचारिक संस्कार र सार्वजनिक चरित्रले टिकिरहन्छ ।
प्रतिक्रिया