चौबिस घण्टामा १९२२ जना सवारीचालक कारबाहीमा

चौबिस घण्टामा १९२२ जना सवारीचालक कारबाहीमा


ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा १९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ ।

जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फीमा १०५, अन्यमा ९८६ लाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

मादकपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारी यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेका बेला आज (९ जेठ) काठमाडौंको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे)चेकिङ’ का क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले सवारी चालकहरूमा विशेष परीक्षण गरेको थियो । सो क्रममा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाइरहेको अवस्थामा पाँच जना चालक फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा परेकामध्ये दुई जना बसचालक, एक जना मिनीट्रक चालक, एक जना लाइट गाडी चालक तथा एक जना हात्ती भ्यानचालक रहेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले संयुक्त टोलीद्वारा गरिएको चेकिङका क्रममा चालकहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँच गर्दा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।