रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया

रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया


कानूनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’ विषयमा आज (जेष्ठ १०) सप्तरीको रूपनगरमा एउटा अन्तर्क्रिया आयोजन गरियो ।

रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको काम गर्ने प्रक्रिया, विपन्नलाई निशुल्क न्याय सेवाको उपलब्धता लगायत विषयमा जानकारी दिनुभयो । सोही अदालतका श्रेस्तादार श्यामहरि अधिकारीले अदालतले दिने न्याय, त्यसका प्रक्रिया, विभिन्न निकाय र संस्था तथा नागरिकको भूमिका आदि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

सप्तरी जिल्ला अदालतका न्यायाधीशहरू मोहनबहादुर अधिकारी, दीपक धिताल, बाबुराम भट्टराई, गोकुल पन्त र महेन्द्रप्रसाद पौडेलको समेत सो कार्यक्रममा उपस्थिति थियो । विद्यार्थी, अभिभावक र अन्य सहभागीले अदालती प्रक्रिया, न्यायमा ढिलाइ, नागरिकले पाइराखेको सास्ती, युवा वर्गको भूमिका लगायत विषयमा न्यायाधीशहरूलाई प्रश्न गरेका थिए । मुख्य न्यायाधीश घिमिरेले ती प्रश्नहरूको जवाफ दिनुभयो ।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थी, अभिभावक, शिक्षक, अधिवक्ता, राजनीतिज्ञ, समाजसेवी, पत्रकार लगायतको उपस्थिति तथा छलफलमा सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालन नरबहादुर खड्काले गर्नुभयो ।