डिजिटल राजनीति र ‘कक्रोच’

डिजिटल राजनीति र ‘कक्रोच’


भारतको राजनीति यतिबेला एउटा अनौठो तर गम्भीर डिजिटल घटनाको केन्द्रमा पुगेको छ । ‘सिजेपी’ अर्थात् ‘कक्रोच जनता पार्टी’ नामले सुरु भएको अभियानले केही दिनमै करोडौं युवाको ध्यान खिचेको छ । पहिलो नजरमा यो सामाजिक सञ्जालको मजाक वा मिम्स अभियान जस्तो देखिएपनि यसको पछाडि भारतका युवामा बढ्दो बेरोजगारी, अवसरको अभाव र राजनीतिक/प्रशासनिक व्यवस्थाप्रतिको असन्तोष लुकेको देखिन्छ ।

यो अभियानको जन्म भरखरै भारतको सर्वोच्च अदालतमा भएको एउटा बहससंग जोडिएको छ । प्रधानन्यायाधीश सूर्यकान्तले दिल्ली उच्च अदालतमा ‘सिनियर एडभोकेड’ पदवी दिने प्रक्रियासम्बन्धी विवादको सुनुवाइको क्रममा ‘कक्रोच’ शब्द प्रयोग गरेका थिए । अदालतमा उनले – ‘नक्कली डिग्री लिएर बेरोजगार बसेका केही युवा सामाजिक सञ्जाल र अनावश्यक मुद्दामार्फत हरेक संस्थामाथि आक्रमण गर्ने कक्रोच र परजीवीजस्ता व्यवहार गरिरहेका छन्’ भनेको विषय मूल कारण भनिएको छ ।

तर, अदालतको यो टिप्पणी तत्काल सामाजिक सञ्जालमा भाइरल बन्यो । विशेषगरी बेरोजगारी, परीक्षा घोटाला र अवसर अभावबाट निराश भारतीय युवाहरूले उक्त अभिव्यक्तिलाई व्यक्तिगत अपमानका रूपमा लिए । त्यसपछि ‘यदि हामीलाई कक्रोच भनिन्छ भने हामी त्यही नामबाट प्रतिरोध गर्छौं’ भन्ने भावनासहित ‘कक्रोच जनता पार्टी’ अभियान सुरु भयो ।

भारतमा ‘कक्रोच’ शब्द सामान्यतया फोहोर, दबाएर पनि नमारिने र बारम्बार फर्किने जीवको प्रतीकका रूपमा प्रयोग गरिन्छ । तर युवाले यही शब्दलाई प्रतिरोधको प्रतीकमा बदले । उनीहरूको सन्देश स्पष्ट थियो- ‘हामीलाई जतिसुकै अपमान गरिए पनि हामी फेरि उठ्नेछौं ।’

विवाद बढेपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइ सम्पूर्ण भारतीय युवाविरुद्ध नभएको स्पष्टिकरण दिएका थिए । उनले आफ्नो टिप्पणी ‘फर्जी डिग्री लिएर कानुनी पेशामा प्रवेश गर्ने’ र संस्थामाथि गैरजिम्मेवार आक्रमण गर्ने व्यक्तिहरूतर्फ लक्षित रहेको बताएका थिए । साथै, मिडियाले आफ्नो भनाइलाई सन्दर्भबाहिर प्रस्तुत गरेको दाबी पनि गरेका थिए ।

तर, तबसम्म सामाजिक सञ्जालमा एउटा नयाँ डिजिटल आन्दोलन जन्मिसकेको थियो । यस अभियानका प्रमुख अभियन्ता अभिजित दिपके भनिएका छन् । उनले व्यंग्य, मिम्स र डिजिटल अभियानमार्फत बेरोजगारी, महँगी, परीक्षा प्रणालीमा हुने भ्रष्टाचार र राजनीतिक अहंकारमाथि कटाक्ष गर्न थाले । आश्चर्यजनक रूपमा केही दिनमै यसको इन्स्टाग्राम फलोअर संख्या भारतका स्थापित राजनीतिक दलहरूको सामाजिक सञ्जाल प्रभावसँग तुलना हुन थाल्यो ।

यस अभियानको सबैभन्दा ठूलो आधार भारतको जेनजी पुस्ता बनेको छ । परम्परागत राजनीतिक भाषणभन्दा मिम्स, छोटा भिडियो र व्यंग्यात्मक अभिव्यक्ति बुझ्ने नयाँ पुस्ताले यसलाई आफ्नो आवाजको माध्यम ठानेको देखिन्छ । भारतमा पछिल्ला वर्षहरूमा सरकारी परीक्षा पटक-पटक रद्द हुनु, प्रश्नपत्र चुहावट हुनु, लाखौं युवाले डिग्री लिएर पनि रोजगारी नपाउनु र महँगी बढ्नुले गहिरो निराशा सिर्जना गरेको छ। ‘कक्रोच जनता पार्टी’ वास्तवमा त्यही निराशाको डिजिटल अभिव्यक्ति हो ।

तर यहाँ एउटा गम्भीर प्रश्न पनि उठ्छ- के यो वास्तवमै राजनीतिक आन्दोलन हो कि केवल भीड मानसिकताको परिणाम ?

हालसम्म यो भारतको निर्वाचन आयोगमा दर्ता भएको औपचारिक दल होइन भन्ने बुझिन्छ । यसको स्पष्ट संगठनात्मक संरचना, चुनावी घोषणापत्र वा देशव्यापी राजनीतिक संयन्त्र छैन। त्यसैले अहिलेको अवस्थामा यसलाई ‘व्यंग्यात्मक डिजिटल विरोध अभियान’ भन्नु बढी उपयुक्त हुन्छ ।

यद्यपि यसको प्रभावलाई सामान्य रूपमा लिन सकिँदैन । इतिहासमा धेरै ठूला आन्दोलन सुरुमा सांस्कृतिक प्रतिरोध, विद्यार्थी असन्तोष वा व्यंग्यकै रूपमा जन्मिएका थिए । सामाजिक सञ्जालले अहिले त्यो प्रक्रियालाई अझ तीव्र बनाइदिएको छ । यसको सम्भावित भविष्य प्रभाव अझ गहिरो हुन सक्छ ।

पहिलो, यसले भारतको राजनीति झन् डिजिटल र भावनात्मक बन्ने संकेत दिएको छ । अब केवल सभा, भाषण र पोस्टरले राजनीति चल्ने अवस्था कमजोर हुँदै जान सक्छ । मिम्स, रील्स र अनलाइन व्यंग्यले पनि जनमत निर्माण गर्न सक्ने अवस्था बनेको छ ।

दोस्रो, यसले भारतका परम्परागत दलहरूलाई युवाको भाषा बुझ्न बाध्य पार्न सक्छ । यदि मुख्य दलहरूले बेरोजगारी, शिक्षा, अवसर र युवाको निराशालाई गम्भीर रूपमा लिएनन् भने यस्ता अभियानहरू अझ शक्तिशाली बन्दै जान सक्छन् ।

तेस्रो, यसले लोकतन्त्रमा ‘भीड राजनीति’को खतरा पनि बढाउन सक्छ । सामाजिक सञ्जालमा भावना छिटो फैलिन्छ, तर त्यो सधैं जिम्मेवार राजनीतिक दिशामा जाला भन्ने निश्चित हुँदैन । कहिलेकाहीँ यस्ता अभियानहरू अराजकता, संस्थामाथिको अविश्वास वा अतिवादी सोचतर्फ पनि मोडिन सक्छन् ।

चौथो, यसले भारतमा अभिव्यक्ति स्वतन्त्रता र संस्थागत संवेदनशीलताबीचको बहसलाई पनि तीव्र बनाएको छ । एउटा न्यायाधीशको टिप्पणीले करोडौं युवामा किन यति ठूलो प्रतिक्रिया जन्मायो भन्ने प्रश्न आफैंमा भारतको सामाजिक मनोविज्ञान बुझ्ने विषय बनेको छ ।

अन्ततः ‘कक्रोच जनता पार्टी’ केवल एउटा इन्टरनेट मजाक होइन; यो आजको भारतीय युवाको मौन विद्रोह हो । अपमानित भएको महसुस गर्ने पुस्ताले त्यही अपमानलाई प्रतिरोधको प्रतीकमा बदल्ने प्रयास गरिरहेको छ । भविष्यमा यो आन्दोलन हराएर जान सक्छ वा कुनै वैकल्पिक राजनीतिक शक्तिको रूप लिन पनि सक्छ । तर यसले भारतको लोकतन्त्रलाई एउटा स्पष्ट सन्देश भने दिइसकेको छ- ‘नयाँ पुस्ता अब केवल दर्शक भएर बस्न तयार छैन ।’