सभापति जिते पार्टी पुनः आफ्नो कब्जामा !

सभापति जिते पार्टी पुनः आफ्नो कब्जामा !


विशेष अधिवेशनबाट सभापति बनेका गगन थापा सभापति बन्नुभन्दा पहिले पनि चुनैती र तनावपुर्ण समयको सामना गर्दै सभापति बनेका हुन् । सभापति बनेपछि पनि उनी उस्तै अवस्थाबाट गुज्रिरहेका छन् ।

अहिले नेपाली कांग्रेस अत्यन्तै नाजुक र संवेदनशील अवस्थामा छ । गगन थापा सभापति बन्नु भन्दा पूर्व संस्थापन समुहबाटै र सभापति बनिसकेपछि अहिलेको संस्थापन इतर समुहबाट पीडित र प्रताडित भइरहेका छन् । गगन थापाले इतर समुहलाई समेत समेट्न १९ जनालाई केन्द्रिय समीतिको सदस्यमा मनोनयन गरे र, अरु के के गर्नुपर्छ गर्न तयार छु भनिरहेका छन् । इतर समुहको नेतृत्व गरिरहेका पुर्णबहादुर खड्काले केही शर्त राखी गगन थापालाई पार्टी एक बनाउन सम्वाद गरिरहेका छन् र पार्टी एक बनाउने जिम्मेवारी पनि गगनमै भएको बताउँछन् । उता अर्को समुहका नेतृत्व गरिरहेका डा. शेखर कोइराला पनि पाँच शर्त गगन थापाले स्विकार गरे पार्टी एक हुने अवस्था हुने बताउँछन् ।

अहिले सभापतिको रुपमा गगन थापा स्विकारे पनि सम्भवतः इतर समुहबाट अर्को माग प्रस्तुत हुन सक्छ । पुर्णबाहादुर खड्का समुहले विशेष अधिवेशनपछि भइरहेको घटनाक्रमले सम्पर्क कार्यालय पनि खोलिसकेको छ भने शेखर कोइरालाले त धेरै पहिलेदेखि नै विशालनगरमा सम्पर्क कार्यालय खोलेर इतर समुहको गतिविधि गरिरहेका छन् । नेपाली कांग्रेस आफै पनि कानुनी राज्यको पक्षधर हो र देशमा कानुनी राज्य हुनुपर्छ भन्ने मान्यता र आदर्श बोकेको पार्टी हो । अहिले निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि विशेष अधिवेशनबाट सभापति बनेका थापालाई मान्यता दिएको छ । यो निर्णय आउनुभन्दा अघि पुर्णबाहादुर खड्काले नेपाली कांग्रेसकै लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको नाममा आफ्ना गतिविधि र सम्पर्क बढाइरहेका थिए । अदालतको निर्णयपछि कार्यवाहक सभापति र नेपाली कांग्रेसको लेटरप्याड प्रयोग गर्न बन्द गरे । र, कानुनी राज्यको पालनाको राम्रो उदाहरण दिएका छन् । तर पनि गगन थापालाई सभापति स्विकार नगर्ने बताइरहेको देउवा समुहभित्र छन् । र, यसो भन्न र गर्न पाउने उनिहरुको नैसर्गिक अधिकार त हो – यसो गर्दै र भन्दै गरेर सभापति गगन थापासंग एकताको सम्वाद गरिरहनु कति सार्थक छ ?

अर्को समुहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले सभापति अस्विकार गरेका छैनन् । उनले आजसम्म पनि पनि पार्टी एक होस् भन्ने विचार राख्दै आएका छन् । देउवा समुह र गगन थापासंग उनले मध्यस्थताको भूमिका निर्वाह गर्दैगरेका देखिन्छन् । राजनीतिमा देखिने र नदेखिने दृस्यले काम गरिरहेको भएपनि नदेखिने दृस्यचाहिँ खतरनाक र भयावह हुन्छ । यस्तो रणनितिले अन्तमा पिडा र क्षति मात्रै पुऱ्याउँछ ।

नेपाली काङ्ग्रेसभित्र परोक्ष-राजनीतिको सुरुवात भएको छ । इतर समुहका डा. शेखर कोइरालाले अहिले पार्टी कुनै पनि हालतमा फुट्न दिँदैनौं र फुटाउँदैनौं भनेका छन् । देउवा समुहको रणनीति एवम् अभीष्ट वर्तमान सभापतिलाई चारैतिरबाट घेराबन्दी गरेर कमजोर तुल्याउने देखिन्छ । अहिले काङ्ग्रेसभित्र क्रियाशील सदस्यको सदस्यता अध्यावधिक गर्ने विषयमा संस्थापन र इतर समुहमा विवाद छ भने कार्यसम्पादन समिति, अनुशासन समिति, निर्वाचन समिति, विधान समिति लगायत पनि इतरसमुहको आपसी सहमतिमा हुनुपर्ने सुत्र यसै कारणबाट आएको हुनसक्छ ।

अहिले इतर समुहको रणनीतिको लक्ष्य अब हुने १५औँ महाअधिवेशनमा केन्द्रित भएजस्तो गतिविधिबाट देखिन्छ । पन्ध्रौँ महाअधिवेशन आफ्नो अनुकुल र सहज अवस्थाकै लागिअहिले देउवा समुह र डा. शेखर कोइराला सभापति गगन थापासँग पार्टी मिलाउने या एकतावद्ध गर्ने सुत्र खोजौँ भनिरहेका छन् । झट्ट हेर्दा डा. शेखर कोइरालाले पनि देउवा समुहलाई सहयोग पुग्नेगरी पाँच सुत्रीय माग प्रस्तुत गरेको हो भन्ने बुझाइ धेरैको छ ।

विशेष गरेर काङ्ग्रेसकोअब हुने महाअधिवेशनमा इतर समुहबाट पनि सभापतिको उम्मेदवारहरू हुने र यसैको लागि रणनीति बनाउँदै लगिएको बुझिन्छ । अहिले गगन थापासँग भइरहेको सम्वाद र अघिसारिएका माग पनि पन्ध्रौँ महाअधिवेशनको सहजता र अनुकुलताकै लागि भइरहेको देखिन्छ । इतरबाट समुहबाट सभापतिको उम्मेदवारले संस्थापनका उम्मेदवारलाई हराउन सके पार्टी पुनः आफ्नो कब्जामा हुने बुझाइ छ । यदि यसको विपरीत भए काङ्ग्रेस पुनः फुट्न सक्ने अवस्था सृजना हुँदैछ । अस्तु !

(लेखक मोरङ काङ्ग्रेसका सल्लाहकार हुन् ।)