वैराग्यको अर्थ संसार छोडेर जङ्गल जानु होइन । यसको वास्तविक अर्थ हो- कुनै पनि कुराको नश्वरतालाई बुझेर त्यसप्रति आसक्ति कम गर्नु । जब हामीलाई थाहा हुन्छ कि हाम्रा हातहरू एकदिन धुलो हुनेछन्, तब हामी ती हातलाई अरूमाथि चोट पुर्याउन होइन, बरु सहयोग गर्न र सिर्जना गर्न प्रयोग गर्छौं ।
✍ दीपक राज जोशी
मानिसको जीवन एक अनौठो विरोधाभास हो । हामी एकातर्फ अनन्त सपनाहरू बुन्छौँ, सम्बन्धहरू गाँस्छौँ र साम्राज्य खडा गर्ने धुनमा लाग्छौँ, तर अर्कोतर्फ यो सत्यसँग निकै डराउँछौँ कि एकदिन यो सबै खरानी हुनेछ । हामी एक दिन कुहिएर जाने हड्डी र मासुको थुप्रो मात्र हौँ भन्ने विचार सुन्दा सुरुमा बीभत्स र डरलाग्दो लाग्न सक्छ । तर, गहिराइमा गएर हेर्ने हो भने, यही नश्वरताको बोध नै आध्यात्मिक यात्राको पहिलो ढोका हो ।
हामीले ऐनामा देख्ने अनुहार, हामीले गर्व गर्ने शरीर र हामीले उपभोग गर्ने इन्द्रियहरू सबै समयको प्रवाहमा बग्ने बालुवाका महल हुन् । जन्मने बित्तिकै मृत्युको प्रक्रिया सुरु भइसकेको हुन्छ । अध्यात्मले भन्छ , मृत्यु कुनै घटना होइन, यो त जीवनकै एउटा अभिन्न अङ्ग हो । जब हामी यो स्वीकार गर्छौं कि यो शरीर माटोबाट आएको हो र माटोमै फर्किनेछ, तब हामीभित्रको अहङ्कार बिस्तारै पग्लिन थाल्छ । म र मेरो भन्ने संकुचित घेरा भत्किन्छ ।
हड्डीको थुप्रो हुनु भनेको समाप्त हुनु होइन, बरु प्रकृतिमा पुनरागमन हुनु हो । एउटा फूल ओइलाएर माटोमा मिल्छ र त्यही माटोबाट फेरि नयाँ पालुवा पलाउँछ । ब्रह्माण्डमा ऊर्जा कहिल्यै नष्ट हुँदैन, मात्र रूपान्तरण हुन्छ । त्यसैले, आफ्नो शरीरलाई एउटा स्थायी घर नभई एउटा भाडाको घर वा सराय मान्नु नै बुद्धिमानी हो। पूर्वीय दर्शन, विशेषगरी उपनिषद् र गीताले देह र देही (शरीर र आत्मा) बीचको भिन्नतालाई स्पष्ट पारेका छन् । भगवान् कृष्णले भन्नुभएको छ न जायते म्रियते वा कदाचिन्.., जसरी मानिसले पुराना लुगा फालेर नयाँ लुगा लगाउँछ, त्यसरी नै आत्माले जीर्ण शरीर त्यागेर नयाँ स्वरूप धारण गर्छ । भौतिक विज्ञानमा Law of Conservation of Mass ले भन्छ कि पदार्थ लाई न त उत्पन्न गर्न सकिन्छ, न त नष्ट नै । परमाणुहरू केवल एक रूपबाट अर्को रूपमा परिवर्तन हुन्छन् । उदाहरणको लागि एउटा रुख जल्यो भने त्यो खरानी र धुवाँमा बदलिन्छ, तर त्यसका परमाणुहरू ब्रह्माण्डमै रहन्छन् ।
हाम्रो शरीर ७ अक्टिलियन परमाणुहरूको सङ्गठन नै एउटा जीवन हो । जब मृत्यु हुन्छ, यी परमाणुहरू हराउँदैनन्; तिनीहरू केवल छुट्टिन्छन् र माटो, हावा वा अर्को कुनै जीवको हिस्सा बन्न पुग्छन् । भनिन्छ कि हाम्रो एउटा शरीरमा जति परमाणुहरू छन्, दृश्य ब्रह्माण्ड (Observable Universe) मा त्यति त ताराहरू पनि छैनन् । एउटा वयस्क मानिसको शरीरमा हुने परमाणुको संख्याले हामी आफैमा एउटा सानो ब्रह्माण्ड हौँ भन्ने पुष्टि गर्छ । जब हामी आफूलाई यो शरीरमात्र ठान्छौँ, तब मात्र हामीलाई कुहिने हुने डर हुन्छ । तर जब हामी आफूलाई त्यो चेतना वा ऊर्जाको रूपमा महसुस गर्छौं जसले यो शरीरलाई चलाइरहेको छ, तब मृत्युको भय समाप्त हुन्छ । आध्यात्मिक साधकले शरीरलाई एउटा साधनको रूपमा हेर्छ, साध्यको रूपमा होइन । यो बुझाइले हामीलाई शारीरिक कष्ट र बुढ्यौलीप्रति पनि समभाव राख्न सिकाउँछ । वैराग्यको अर्थ संसार छोडेर जङ्गल जानु होइन । यसको वास्तविक अर्थ हो- कुनै पनि कुराको नश्वरतालाई बुझेर त्यसप्रति आसक्ति कम गर्नु । जब हामीलाई थाहा हुन्छ कि हाम्रा हातहरू एकदिन धुलो हुनेछन्, तब हामी ती हातलाई अरूमाथि चोट पुर्याउन होइन, बरु सहयोग गर्न र सिर्जना गर्न प्रयोग गर्छौं ।
शरीर माटोमा मिल्नु भनेको अन्त्य होइन, बरु अनन्त-यात्राको सुरुवात हो । शरीर माटो हो, र माटोमै मिल्नेछ । यो शोक मनाउने कुरा होइन, यो त उत्सव मनाउने सत्य हो ।
विवेक भनेको सत्य र असत्य, नित्य र अनित्य बीचको भिन्नता छुट्याउनु हो । शरीर अनित्य छ, तर प्रेम, करुणा र ज्ञान जस्ता गुणहरूले मानिसलाई अमर बनाउँछन् । बुद्ध, सुकरात वा कबीर आज भौतिक शरीरमा छैनन्, तर उनीहरूको विवेक आज पनि जीवित छ । त्यसैले, शरीर कुहिएर जाने कुरासँग डराउनु भन्दा, शरीर रहँदासम्म कस्तो कर्म गर्ने भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ।मृत्युको निकटताले जीवनलाई सहज बनाउँछ । यदि हामी कहिल्यै मर्दैनथ्यौँ भने, हामीसँग कुनै पनि काम गर्नका लागि कुनै प्रेरणा हुने थिएन । आजको सूर्योदय, आजको भोजन र आजको संवाद त्यसैले मूल्यवान् छ किनकि यो फेरि कहिल्यै दोहोरिने छैन ।
यही नश्वरताको बोधले मानिसलाई अनुशासित बनाउँछ । बिहान सबेरै उठ्नु, योग र ध्यान गर्नु, र सात्त्विक जीवन जिउनु भनेको यो ऋण को रूपमा पाएको शरीरलाई सम्मान गर्नु हो । जबसम्म यो शरीर हाम्रो साथमा छ, यसलाई पवित्र मन्दिर जस्तै राख्नुपर्छ। तर जब यसलाई छोड्ने समय आउँछ, तब एउटा पाकेको फल रुखबाट झरेझैँ सहजताका साथ बिदा हुनु नै योग हो ।
हामीलाई दुनियाँले बिर्सिनेछ भन्ने डर पनि उत्तिकै बलियो हुन्छ । तर सत्य यो हो कि व्यक्तिको नाम र रूप मेटिए पनि उसले ब्रह्माण्डको सामूहिक चेतनामा छोडेको प्रभाव कहिल्यै मेटिँदैन । हामी सबै एउटै ठुलो समुन्द्रका छालहरू हौँ । छाल मेटिनु भनेको पानी सकिनु होइन, मात्र समुन्द्रमा विलिन हुनु हो । हामीले गर्ने हरेक सानो राम्रो काम, हामीले देखाएको सानो करुणाको भावले एउटा यस्तो लहर सिर्जना गर्छ जसले युगौँसम्म संसारलाई सकारात्मक प्रभाव पारिरहन्छ । त्यसैले, शरीर माटोमा मिल्नु भनेको अन्त्य होइन, बरु अनन्त-यात्राको सुरुवात हो । शरीर माटो हो, र माटोमै मिल्नेछ । यो शोक मनाउने कुरा होइन, यो त उत्सव मनाउने सत्य हो । किनकि, यो सत्यले हामीलाई विनम्र बनाउँछ । यसले हामीलाई सिकाउँछ कि जीवन पद, प्रतिष्ठा र सम्पत्तिको सङ्ग्रह मात्र होइन, बरु यो त अनुभव, सेवा र आत्म-साक्षात्कारको एउटा छोटो तर सुन्दर यात्रा हो ।
प्रतिक्रिया