विभिन्न रत्नसम्बन्धी ब्यापार गर्ने र टिकटकमा तुल्सी कलेक्सन नामले चिनिएकी तुल्सा अधिकारीलाई सम्पत्ति शुद्धिकरण, ठगी एवम् साइबर अपराधलगायत मामलामा प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाको सहयोगमा शनिबार (१६ जेठ) थाइल्यान्डबाट पक्राउ गरी अधिकारीलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाको सहयोगमा अधिकारीलाई पक्राउ गरिएको र शनिबार राति नै त्रिभुवन विमानस्थलबाट जिम्मा लिइएको हो । तुलसाले आफू ब्यापारको सिलसिलामा चीनमा रहेको टिकटकमार्फत बताउँदै आएकी थिइन् ।
टिकटकर अधिकारीविरुद्ध सम्पत्ति सुद्धिकरण र ठगीसम्बन्धी कसुरमा सातदोबाटो (ललितपुर) प्रहरीबाट अघि बढाइएको मुद्दा अदालतमा दर्ता भइसकेको जनाइएको छ ।
प्रहरीका अनुसार कुमार चिमोरिया नामक व्यवसायीको जाहेरीका आधारमा अधिकारी पक्राउ परेकी हुन् । उनीविरुद्ध ठगी र आपराधिक लाभको कसुरमा गत वर्ष साउनमा मुद्दा दर्ता भइ अनुसन्धान अघि बढेको थियो । व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै ब्ल्याकमेलिङ गरेर करोडौँ रकम ठगी गरेको आरोप पनि अधिकारीमाथि लागेको छ ।
अनुसन्धानकै क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्राप्त सुझाव र जाहेरीका आधारमा तुलसामाथि मनी लाउन्डरिङको पाटोबाट पनि छानबिन सुरु गरिएको बताइएको छ ।
अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अलग्गै साइबर अपराधको मुद्दासमेत दायर भएको बुझिएको छ ।
नवलपरासी स्थायी ठेगाना भएकी अधिकारीले सम्बद्ध कसुरबाट प्राप्त गरेको सम्पत्तिको रूपान्तरण र हस्तान्तरण गरेको विषयमा प्रमाण सङ्कलनको काम भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया