रेस्लिङ रिङ कि संसद् ? अनुहार फेरियो, फेरिएन प्रवृत्ति !

रेस्लिङ रिङ कि संसद् ? अनुहार फेरियो, फेरिएन प्रवृत्ति !


लोकतन्त्रको सुन्दरता र यसको जीवन्तता केवल आवधिक निर्वाचनमा मत खसाल्नुमा मात्र सीमित छैन, बरु त्यो मतबाट चुनिएका प्रतिनिधिहरूले जनभावनाको कति कदर गर्छन् र सार्वभौम संसद्को गरिमालाई कसरी जोगाउँछन् भन्ने कुरामा निर्भर हुन्छ ।

नेपाली जनताले दशकौँसम्म राजनीतिक स्थायित्व र समृद्धिको पर्खाइमा पुराना भनिएका दलहरूलाई पटक-पटक सत्ताको साँचो बुझाए । तर, उपहारमा दशकौँसम्म केवल राजनीतिक अस्थिरता, नीतिगत विचलन, र संसदीय बेथिति, कुर्सीको फोहोरी खेल, थितिहीनता र चरम निराशा मात्र पाएपछि नेपाली नागरिक चेतनाले एउटा बलियो विद्रोहको बाटो रोज्यो । त्यही विद्रोहको जगमा सामाजिक सञ्जालका ‘रिल’ र ‘लाइभ’ बाट एउटा आकर्षक र सम्मोहक नारा गुञ्जियो, ‘जान्नेलाई छान्ने’ ।

विगतमा संसद्‌भित्र देखिने कुर्सी हानाहान, माइक खोसाखोस, वेल घेराउ, र अमर्यादित गालीगलौजको विरक्तलाग्दो ‘परम्परागत तमासा’ बाट मुक्ति खोजिरहेका नागरिकका लागि यो नारा एउटा बलियो विकल्प बन्यो । परिणामस्वरूप, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरू छोटो समयमै संसद्को अग्रभागमा स्थापित भए । यो कुनै सामान्य मतको फेरबदल थिएन । यो त पुराना दलहरूको अक्षमताप्रतिको तीव्र आक्रोश र नयाँ भनिएकाहरूप्रतिको अगाध भरोसाको सामूहिक अनुमोदन थियो ।

तर, समयको चक्र र संसद्का बैठकहरू गुज्रिँदै जाँदा आज रोस्ट्रमदेखि चियापसलका गल्लीहरूसम्म एउटा गम्भीर र निराशाजनक प्रश्न उब्जिएको छ ।  हामीले संसद्‌मा नीति निर्माणका लागि साँच्चै ‘जान्ने’ र परिपक्व नेताहरू पठायौँ कि केवल क्यामराको अगाडि ‘जान्ने अभिनय’ गर्ने डिजिटल कलाकारहरूलाई भित्र्याएछौँ ?

पुरानै अराजकताको आधुनिक ‘डिजिटल संक्रमण’

विपक्षी बेन्चमा बस्दा वा सामाजिक सञ्जालको छोटो भिडियो (रिल वा लाइभ) मा गर्जँदा पुराना दलहरूको आलोचना गर्नु संसारकै सबैभन्दा सजिलो काम हो । संसद्‌मा हुने हुलदङ्गा र गैरजिम्मेवारीको विरोध गरेर सर्वसाधारणको ‘लाइक’ र ‘ताली’ खानु झनै सजिलो हो । तर, जब जनताले तिनै आलोचना गर्नेहरूलाई विश्वास गरेर संसद्को गरिमामय कुर्सीमा आसीन गराइदिन्छन्, तब परीक्षा केवल उत्तेजक भाषणको हुँदैन । त्यहाँ संसदीय मर्यादा, कानुन निर्माणको ज्ञान, र जिम्मेवार व्यवहारको कडी जाँचिन्छ ।

दुर्भाग्यवश, आज नयाँ भनिएका कतिपय माननीयज्यूहरूको व्यवहार नियाल्दा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान पुनः चरितार्थ भएको देखिन्छ । हिजोका दिनमा पुराना दलहरूले संसद् अवरुद्ध गर्दा ‘जनताको करको नाश भयो र देश बन्धक बन्यो’ भन्दै प्लेकार्ड बोकेर सडक र सदन तताउनेहरू नै आज कुन नैतिक धरातलमा उभिएर संसद्को वेल घेर्न र मुड्की बजार्न पुग्छन् ?

यदि संसद्‌मा नीतिगत बहस छोडेर आक्रोश पोख्नु, माइक तानातान गर्नु र सभामुखको आसनलाई चुनौती दिनु नै अन्तिम विकल्प थियो भने, ती पुराना ‘पहलवान’ हरूले के बिगारेका थिए र ? उनीहरू त यस विधाका पुराना र अनुभवी उस्ताद नै थिए । जनताले परिवर्तन खोजेका थिए, प्रवृत्तिको प्रतिलिपि (कार्बन कपी) होइन ।

अध्ययनको खडेरी र आक्रोशको व्यापार

संसदीय लोकतन्त्रको वास्तविक सौन्दर्य भनेकै विपक्षीलाई सम्मान गर्नु, फरक विचारको कदर गर्नु र आफ्ना विमतिहरूलाई तर्क, तथ्य र प्रमाणका आधारमा परास्त गर्नु हो । तर, दशकौँदेखि  संसद्‌मा अध्ययन र अनुसन्धानको चरम खडेरी र आक्रोशको अनियन्त्रित बाढी प्रस्टै देखिन्छ । जब कुनै मुद्दामा गहिरो अध्ययन र ठोस तथ्य हुँदैन, तब सांसदहरू संसद्‌मा चर्को स्वरले चिच्याउन र व्यक्तिगत आक्षेपमा उत्रिन थाल्छन् । यो शैली तर्क कमजोर भएपछि आवाज ठूलो पार्ने पुरातन प्रवृत्तिबाहेक केही होइन ।

संसद् कुनै सामाजिक सञ्जालको स्टुडियो होइन जहाँ भाइरल भिडियो बनाउनुपर्छ। संसद् कुनै सडकको आन्दोलनस्थल पनि होइन जहाँ ठूलो स्वरले कराएर सत्य प्रमाणित गर्न सकिन्छ । संसद् त विचारको युद्धभूमि हो, जहाँ तथ्यले जित्नुपर्छ, तर्कले प्रभाव पार्नुपर्छ र नीतिले परिणाम दिनुपर्छ। जब संसद्‌लाई केवल सामाजिक सञ्जालको ‘कन्टेन्ट’ र ‘भ्यूज’ बढाउने कारखाना जस्तो बनाउने होडबाजी चल्छ, तब लोकतन्त्रको जग भित्रभित्रै कमजोर हुन थाल्छ ।

शिक्षित हुनु डिग्रीले प्रमाणित गर्छ, तर परिपक्व हुनु व्यवहारले प्रमाणित गर्छ । संसद्मा देखिने आचरण नै कुनै दल वा नेताको वास्तविक राजनीतिक संस्कारको ऐना हो ।

संकटमा देश, अलमलिएको संसद्

अझ विडम्बना के छ भने, देश अहिले अनेक गम्भीर संकटसँग जुधिरहेको छ ।  बार्षिक लाखौँ युवा देश छोडेर विदेशिन बाध्य छन्। कृषि क्षेत्र निराश छ र उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्र व्यापारिक चंगुलमा फसेका छन् । देशका थुप्रै उद्योग धन्दा तथा कलकारखाना बन्द भईसके । ढुक्कले लगानी गर्नसक्ने वातावरण छैन् । थुप्रै भ्रष्टाचारका काण्डहरू थन्किएका छन् । जनताले छिटो छरितो न्याय र सेवा पाउन सकेका छैनन् । नागरिकले सुशासनको प्रत्याभुति गर्न पाएका छैनन् ।  यि यस्ता थुप्रै राष्ट्रिय समस्याका मुद्वाहरु छन्, जसको समाधान जनताले खोजिरहेका छन् ।

यस्ता दूरगामी महत्वका विषयमा गम्भीर बहस र नीतिगत समाधान खोजिनुपर्ने संसद् कहिलेकाहीँ टेलिभिजनको विवादास्पद ‘रियालिटी शो’ भन्दा पनि निम्न स्तरको दृश्य प्रस्तुत गरिरहेको देखिन्छ । देशको सर्वोच्च थलो कुनै ‘रेस्लिङ खेलको रिङ’ होइन, जहाँ जसको स्वर ठूलो र आक्रामक हुन्छ, उसैको मात्र चर्चा होस् । तर, दुखका साथ भन्नुपर्छ जे नहुनु पर्ने थियो अहिले त्यही भईरहेको छ ।

विकल्पप्रतिको निराशा: लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा

राजनीतिमा एउटा ठूलो रोग छ । सत्ता नपाए विद्रोहको भाषा बोल्ने र लोकप्रियता पाएपछि आत्ममुग्ध र अहंकारी हुने । जनताले दिएको अभूतपूर्व समर्थनलाई कतिपयले जिम्मेवारीको रूपमा होइन, आफू जे गरे पनि जनताले स्वीकार्छन् भन्ने भ्रमको रूपमा बुझ्न थालेका छन् । यही भ्रमबाट अहंकार जन्मिन्छ र अहंकारबाट विवेकको पतन सुरु हुन्छ।

पुराना दलप्रति निराश हुनु एउटा सामान्य राजनीतिक अवस्था हो, तर विकल्पका रूपमा छानिएका नयाँ शक्तिहरू र ‘जान्नेहरू’ प्रति पनि नागरिक निराश हुनु लोकतन्त्रका लागि सबैभन्दा खतरनाक अवस्था हो । किनकि, त्यसपछि नागरिकमा ‘कोही पनि फरक छैन, यहाँ सबै उस्तै हुन्’ भन्ने भावना जन्मिन्छ, जसले अन्ततः लोकतान्त्रिक सहभागिता र समग्र व्यवस्थामाथि नै वितृष्णा पैदा गराउँछ ।  इतिहास साक्षी छ ।  जनताले गल्ती क्षमा गर्न सक्छन्, तर भरोसामाथिको धोका र नेतृत्वको अहंकार कहिल्यै स्वीकार्दैनन् ।

सच्चिनुस् मान्यज्यूहरू, नत्र इतिहास निर्मम हुनेछ

‘जान्नेलाई छान्ने’ भन्ने नारा केवल चुनावी पोस्टरमा सुहाउने शब्द होइन, यसको वास्तविक परीक्षा संसद् भित्रका दैनिक आचरणमा हुन्छ। आज आवश्यकता सत्तापक्ष र  प्रतिपक्ष विच हारजितको संघर्ष र जुङ्गाको लडाइँ हैन् । जनतामा संसद र राज्यप्रतिको ओइलाउँदै गएको विश्वास जित्ने हो । आवश्यकता भाइरल हुने होइन, नीतिगत परिणाम दिने हो ।

यदि संसद् फेरि पनि विगतमा जस्तै निरन्तर रेस्लिङ रिङकै रूपमा चलिरहने हो भने, जनताले नयाँ र पुरानाबीचको भिन्नता छुट्याउन सक्ने छैनन् । रास्वपा लगायतका नयाँ शक्ति र तिनका सांसदहरूले अब कुनै पनि बहानाबाजी नगरी गम्भीर आत्मसमीक्षाको बाटो रोज्नैपर्छ ।

अत: माननीयज्यूहरू, संसद्‌मा रिस, अहंकार र आवेग होइन, विवेक र कानुन बोल्नुपर्छ । जनताले तपाईंहरूलाई चिच्याउन होइन, सोच्न पठाएका हुन् । भिडन्त गर्न होइन, समाधान दिन पठाएका हुन् । बेलैमा आफ्नो प्रवृत्ति र व्यवहारलाई सुधार्नुस् । अन्यथा भोलि इतिहासले एउटै वाक्य लेख्नेछ, ‘अनुहार फेरिए, तर प्रवृत्ति फेरिएन !’


र, यो वाक्य नै नयाँ राजनीतिक शक्तिहरूका लागि सबैभन्दा ठूलो र लज्जास्पद असफलता हुनेछ ।