भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (१९ जेठ) भाजपा अध्यक्ष नितिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने भेटवार्तामा छिमेकी दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
भाजपाका अध्यक्ष नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सभापति लामिछाने सोमबार भारत प्रस्थान गरेका हुन् । भारत यात्राका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्ने जनाइएको छ ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा श्रीमती निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य संलग्न छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले अध्यक्ष लमिछानेको उच्चस्तरीय भेटघाट तथा कार्यक्रमलाई सहज बनाउन निकट समन्वय गरिरहेको जनाएको छ ।
प्रतिक्रिया