सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता


भारत यात्रामा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग मंगलबार (१९ जेठ) भेटवार्ता गरेका छन् । लामिछाने र जयशङ्करबीच भएको छलफल भारत-नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको बताइएको छ ।

नयाँ दिल्लीमा रास्वपाका सभापति लामिछाने एवम् उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

यसअघि मंगलबार नै सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच भएको भेटघाटमा राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको थियो । भाजपा मुख्यालयमा भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ ।

प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत–नेपालबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए । उनले यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउनुका साथै भाजपा र रास्वपाबीचको पार्टीगत सम्बन्धलाई अझ गहिरो बनाउन सहयोग पुग्ने बताएको जनाइएको छ । अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, सङ्गठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोणबारे जानकारी गराएका थिए ।

भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्ताको पहिचान र उनीहरूसँग सम्पर्क विस्तार गर्ने संयन्त्रबारे विशेष चासो व्यक्त गरेको बताइएको छ ।

उक्त भेटवार्तामा अध्यक्ष नवीनसँगै भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले पनि सहभागी थिए ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो ।

photo: rss