कहिलेकाहीँ सोच्छु- साहित्य र पत्रकारिता कसले मानिसलाई बढि चिनाउँछ ? कसले बढी बचाउँछ ? साहित्यमा प्रभावकारी रचना थोरै लेखेपनि कालजयी हुन सक्छन् तर पत्रकारिता प्रायः आफूले गरुञ्जेलका लागि मात्रै हो जस्तो लाग्छ ।
✍ बबिता बस्नेत
एउटा पत्रकारको आँखाले हेर्दा जिन्दगीका सीमितताहरू धेरै छन् । जिन्दगी मात्र होइन अकाश पनि सीमित छ । रेडियो, टेलिभिजनका फ्रिक्वेन्सीको दृष्टिकोणले हेर्दा अकाशलाई सीमित भन्न मिल्छ । रेडियो, टेलिभिजनको सङ्ख्या बढ्दै जाँदा अहिले नै फ्रिक्वेन्सी वितरणमा समस्या आउन सुरु भइसकेको छ । तर एउटा साहित्यकारको दृष्टिमा अकाश असीमित छ । कहाँदेखि कहाँसम्म हेर्ने ? अकाश जहाँ पनि छ र उस्तै छ । अकाशको कुनै सिमा छैन । यसैगरी जिन्दगीलाई कता लाने ? के गर्ने ? कस्तो बनाउने ? मान्छेको मनमा के कुरा खेलाइदिने ? मष्तिष्कमा के कुरा सोच्ने बनाइदिने ? – साहित्यकारका लागि आफ्नै हातमा छ, जुन कुरा पत्रकारले कहिल्यै गर्न सक्दैन । त्यस्तो गर्न थाल्यो भने उसले गरेको काम पत्रकारिता हुँदैन ।
२०८३ सालको जेठ ८ देखि ११ गतेसम्म अमेरिकाको कोलोराडोमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको बृहत अन्तराष्ट्रिय साहित्य सम्मेलनमा सहभागी भएर पत्रकारिता र साहित्यका क्षेत्रमा केही कुराहरू राख्ने, केही सुन्ने र केही प्रश्नहरू सोध्ने अवसर मिल्यो । नेपालमा रहेर साहित्य सिर्जना गरिरहेका, पत्रकारितासँगै साहित्यिक पुस्तकहरू लेखेका, अमेरिकाका विभिन्न राज्यमा रहेर साहित्य तथा पत्रकारितामा संलग्न भइरहेका तथा विश्व मानचित्रको विभिन्न भूगोलमा रहेर नेपाली साहित्य, भाषा, संस्कृतिमा योगदान गरिरहेका ब्यक्तित्वहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी हुँदै गर्दा धेरैलाई अरुको सिर्जनाको मात्र नभइ आफ्नै सिर्जना र कामको पुनरावलोकन गर्ने मौका पनि मिल्यो । मैले जे गरिरहेको छु त्यो ठिकै छ ? भनेर आफूले आफैलाई प्रश्न गर्ने मात्र नभइ अझ थप कसरी राम्रो गर्ने, आफ्ना सिर्जनाहरूलाई कसरी ब्यवस्थित गर्ने भन्ने कुराको प्रेरणा पनि यस्ता कार्यक्रमहरूले दिने गर्छन् ।
साहित्य र पत्रकारितालाई लिएर गरिने सम्मेलन, कार्यक्रमहरू प्रायः कि साहित्यसँग सम्बन्धित हुन्छन् कि त पत्रकारितासँग । कोलोराडो सम्मेलनले विगतको त्यसप्रकारका परम्परालाई तोड्दै साहित्य र पत्रकारिताबीचको समन्वयको खोजी गरेको छ । मानिसका मन र मस्तिष्कमा भएका सिर्जनाहरू जब कपी, डायरी या कम्प्युटरमा लेखिन्छन् त्यसपछि जनसमक्ष ल्याउने काम मिडियाको हो । तथापि, सामाजिक संजालका कारण हिजोआज सर्जकहरूले आफ्नै संजालमार्फत पनि सिर्जना सार्वजनिक गर्न सक्छन् । तर पनि मिडिया र सामाजिक संजालबीच ठुलो फरक त हुने नै भयो । साहित्यकारहरूले गरेका सिर्जनालाई फैलाउनमा, धेरै जनाले पढ्ने बनाउनमा मिडियाको ठुलो भूमिका हुन्छ ।
विभिन्न देशमा रहेर रोजीरोटी गर्दै साहित्य सिर्जना र पत्रकारितालाई निरन्तरता दिइरहेका साथीहरूसँगको भेटघाट महत्वपूर्ण पाटो रह्यो । औपचारिक सत्रदेखि अनौपचारिक भेटघाटसम्म, जो जहाँ रहेपनि सिर्जना र आफूले गरिरहेको कामले बाँधेर उस्तै-उस्तै बनाएका मान्छेहरूको जमघट । हुन त, अरु क्षेत्रमा पनि त्यस्तो हुन्छ होला तर पत्रकारिता क्षेत्रमा भएका ब्यक्तिहरूबीच जो जहाँ रहेपनि एक प्रकारको आत्मियता सधैं रहन्छ, चाहे त्यो जिल्ला जाँदा होस् या विदेश । कुनै कार्यक्रम गर्नु पऱ्यो भने झ्यापझुप्पै जम्मा हुने, सिनियरलाई सम्मान, साथीहरूबीच आफ्नोपन ! बोस्टनमा रहेका नारायण श्रेष्ठ र दिनेश कार्कीसँग धेरैपछि भेट भयो । टेक्सासबाट पत्रकार भाइ विकास न्यौपाने भेटघाटकै लगि दौडिएर आए, एक दिन पनि राम्ररी नबसी हतारमै फर्किए । पत्रकारितासँगै टेक्सासमा उनको ब्यवसाय फैलिएको छ । सियाटलबाट आइन् साथी यशोदा तिमिल्सिना, नेपाल-अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी र उनको टीमले त पत्रकारिता र साहित्य क्षेत्रको विषयमा एउटा छलफल सत्र नै राखे । कोलोराडोमै बस्ने शरद धिताल, दीपेन्द्र खड्का, ओम आचार्य, बिष्णु विवेक, सुधीर भण्डारीको सक्रियता त्यत्तिकै । साहित्यकार र लेखकसमेत रहेका पत्रकारहरूलाई उक्त कार्यक्रमसँग जोड्ने पत्रकार तथा साहित्यकार दीर्घराज उपाध्याय, नेपालबाट गएका पत्रकारहरू सुधीर शर्मा, विपुल पोख्रेल, वसन्त बस्नेत, टीकाराम यात्री, बेल्जियमबाट आएका पत्रकार भाइ अच्युत ढकाल, पोर्चुगल बस्ने बसुदा, प्रेम बानियाँ र बैनी हरिदेवी रोकायसँगको छोटो भेट, आफ्नै गज्जबको माहौल बन्न पुग्यो ।
समाचारको पूरा चक्रमा पत्रकारलाई भौतिक दुःख बढी हुन्छ भने साहित्यकारको मानसिक र भावनात्मक दुःख र दबाब धेरै हुन्छ । आफू फरक अवस्थाबाट गुज्रिरहेको भएपनि एउटा साहित्यकारले सुख र खुशीका क्षणको परिकल्पना गरेर आफू गदगद हुँदै अनेकौँ माहौलहरू तय गर्न सक्छ ।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा, राधेश्याम लेकालीलगायतका पूर्व अध्यक्षहरू, राजेन्द्र केसी, मदन पुरस्कारविजेता साहित्यकार निलम कार्की निहारिका, बेलायतबाट सहभागी भएकी साहित्यकार संगीता स्वेच्छा, डा. ज्याक्लीन लगायतका विदेशी लेखकहरू, डा. चन्द्र गिरी, महेश्वर पन्तलगायत अमेरिकाका विभिन्न राज्यबाट आउनुभएका लेखक, साहित्यकारहरू माहौल पूरै साहित्यिक र भावनात्मक थियो । सबैभन्दा राम्रो कुरा त परदेशमा भएको त्यति ठुलो साहित्यिक समारोहका प्रमुख अतिथि नेपालमै रहेर साहित्यको साधना गरिरहनुभएका मदन पुरस्कारविजेता डा. नवराज लम्साल हुनुहुन्थ्यो । कुनैबेलाकी चर्चित साहित्यकार दिदी सीता पाण्डेसँग धेरैपछि भेट भयो । साहित्यकारहरू ललिता निर्दोषी, तारा अधिकारी, डा. पुष्पा शर्मा, लक्ष्मी श्रेष्ठ, नदिया, लतिका जोशी, मिरा कोइराला, भारती गौतम, रश्मी भट्ट, सन्ध्या पहाडीसँग गरिएको महिला साहित्यकारका संघर्षदेखि सशक्तीकरणसम्मका कुराहरू र सनफ्रान्सिस्कोमा बस्ने सामाजिक अभियन्ता बिष्णु घलेसँगको भेट अविष्मरणीय रह्यो । वरिष्ठ देउडागायक नन्दकृष्ण जोशी जहाँ गएपनि सुदूरपश्चिमको संस्कृति सँगसँगै जान्छ । कार्यक्रममा होस् या बाहिरको भ्रमणमा देउडा र झ्याम्म… झ्याम्म गाउन छोड्नुभएन ।
कोलोराडोको छोटो भ्रमणमा वर्षौंदेखि ब्यापार-ब्यवसायमा संलग्न ब्यक्तित्वहरू तथा विभिन्न पेशामा रहेका ब्यक्तिहरूसँग पनि भेटघाट गर्ने अवसर मिल्यो । मेडिकल डाक्टर शारदा काफ्ले, ब्यवसायी विकास त्रिपाठी, विगत ५० वर्षदेखि बसोबास गर्दै आउनुभएका नारायण श्रेष्ठ, शेर्पा हाउसका लाक्पा शेर्पा, एनआरएन अध्यक्ष सत्येन्द्र साह, डिल्ली कोइराला, नेपाली घरका गंगा चौलागाईंलगायतका पदाधिकारीहरू लामो संघर्षको पृष्ठभूमि बोकेका सफलताका कथाहरू कोलोराडोमा धेरै रहेछन् । साथी यशोदा तिमिल्सिनासँग धेरै पछि पुस्तक, पुस्तकका लेखक र तिनका पात्रहरूको बारेमा चर्चा गर्दा विगतमा भन्दा थप रमाइलो भयो । नेपालमा प्रकाशित नयाँ पुस्तकका फेहरिस्त हामीलाई भन्दा बढी उनलाई थाहा हुन्छ । भाइ बिष्णु विवेकलाई पनि किताबप्रतिको चासो धेरै नै रहेछ ।
अन्त्यमा एकपल्ट फेरि साहित्य र पत्रकारिताको कुरा गरौँ । कहिलेकाहीँ सोच्छु- साहित्य र पत्रकारिता कसले मानिसलाई बढि चिनाउँछ ? कसले बढी बचाउँछ ? साहित्यमा प्रभावकारी रचना थोरै लेखेपनि कालजयी हुन सक्छन् तर पत्रकारिता प्रायः आफूले गरुञ्जेलका लागि मात्रै हो जस्तो लाग्छ । विश्वका कुनै समयका चर्चित पत्रकारहरूका नाम लिन गाह्रो छ तर सदियौँअघिका चर्चित साहित्यकारहरूको नाम अमर छ । तिनका कृतिका पुनर्संस्करणहरू पनि प्रकाशित भइरहन्छन्, तर पत्रकारितामा त्यस्तो हुँदैन । तथापि, हिजोआज इन्टरनेटका कारणले कसैको जीवनी या लेखन भेट्न सहज भएको छ । तर विश्वमा विगतमा चर्चा कमाएका पत्रकारले के लेखेका थिए भनेर सामाग्री पाउन गाह्रो छ । हामीकहाँ नै हेर्ने हो भनेपनि गुरुप्रसाद मैनालीले जम्मा ११ वटा कथा लेख्नुभयो । वि.सं. २०२६ सालमा प्रकाशित उहाँको कथा-संग्रह ‘नासो’का अहिलेपनि पछिल्ला संस्करणहरू प्रकाशित भइरहेका छन् । करिव उहाँकै पुस्ताबाट पत्रकारिता सुरु गरेका पत्रकारहरूले लेखेका कुराको खासै चर्चा हुँदैन । खोज, अनुसन्धान गर्नेहरूका लागि बाहेक अरुको चासोको विषय पनि खासै बन्दैन । एउटा पत्रकार र साहित्य सर्जकको रूपमा आफूलाई राखेर हेर्दा पत्रकारिताभन्दा साहित्य सिर्जना मलाई बढी कठिन लाग्छ ।
समाचारको पूरा चक्रमा पत्रकारलाई भौतिक दुःख बढी हुन्छ भने साहित्यकारको मानसिक र भावनात्मक दुःख र दबाब धेरै हुन्छ । आफू फरक अवस्थाबाट गुज्रिरहेको भएपनि एउटा साहित्यकारले सुख र खुशीका क्षणको परिकल्पना गरेर आफू गदगद हुँदै अनेकौँ माहौलहरू तय गर्न सक्छ । एक्लै मुस्कुराउन सक्छ, खुलेर हाँस्न र आहा…को अनूभूति पनि गर्न सक्छ । त्यसैले पनि साहित्यकारहरूलाई मानिसले अलि फरक खालको मान्छेका रूपमा परिभाषित गर्छन् । साहित्य सिर्जना गर्दा समय र आफ्नै कतिपय परिस्थितिको ख्याल नै हुँदैन । आफै कमाउनुपर्ने, ब्यवहारिक कुरा धान्नुपर्ने मानिसहरूलाई साहित्य सिर्जना गर्न त्यति सहज हुँदैन । तर, घर-ब्यवहार धान्ने खालको या भनौँ पैसा कमाउने काम गरिएन भने हाम्रो समाजमा आफ्नै परिवारका सदस्यहरूबाट ‘तिमीले के गरेका/गरेकी छौ र ? कथा, कविता या किताब मात्रै लेखेर के हुन्छ ?’ भन्ने अवस्था बन्छ । सिर्जना कति ठुलो कुरा हो भनेर सबैलाई बुझाउन सकिँदैन । त्यसैले कति साहित्यकारहरूले आफ्नै मान्छेबाट अपहेलित जीवन बताउनुपर्ने परिस्थिति बनिरहेको हुन्छ । साहित्यकारले लेखेका कथा, कविता, उपन्यास या भनौँ सिर्जना मात्र होइन साहित्यकार स्वयंका कथाहरू मिडियाले बाहिर ल्याउन सक्छ, ल्याइरहेको हुन्छ । जुन कथाहरू पुस्तौँ पुस्तासम्म प्रेरणा बन्न सक्छन्, बनेका पनि छन् । कोलोराडो सम्मेलनका अन्य धेरै उपलब्धिमध्ये पत्रकार र साहित्यकारबीचको समन्वयको सुरुवात एउटा महत्वपूर्ण उपलब्धि हो ।
प्रतिक्रिया