भारतवर्षीय ज्ञान-परम्पराको पुनर्जागरण र सभ्यतागत आत्मबोध

भारतवर्षीय ज्ञान-परम्पराको पुनर्जागरण र सभ्यतागत आत्मबोध


अहिलेको समय भारतवर्षको प्राचीन ज्ञान परम्पराको लागि निकै अनुकुल छ । विश्वभरि भारतवर्षको प्राचीन ज्ञान-परम्पराप्रति अध्ययन, अध्यापन, अनुसन्धान र नवाचारको रुचि तीव्र रूपमा बढिरहेको छ । योग, वेदान्त, आयुर्वेद, संस्कृत, धर्मदर्शन, भारतवर्षीय मनोविज्ञान, बौद्ध-जैन दर्शन, तन्त्र, ज्योतिष, नाट्य, संगीत, वास्तु, भाषा-विज्ञान र जीवन-दर्शनजस्ता विषयहरू अब केवल परम्परागत आस्थाका विषय मात्र रहेनन् । यी विषयहरू आधुनिक विश्वविद्यालय, अनुसन्धान-केन्द्र, स्वास्थ्य-विज्ञान, मनोविज्ञान, व्यवस्थापन, शिक्षा, जीवन-कला र नेतृत्व-विकासका विमर्शहरूमा समेत प्रवेश गरिरहेका छन् । संसारका प्रतिष्ठित विश्वविद्यालयहरूमा योग, ध्यान, माइन्डफुलनेस, आयुर्वेद, संस्कृत, वेदान्त र भारतीय दर्शनका पाठ्यक्रमहरू पढाइनु अब आश्चर्यको विषय रहेन । भारतको एउटा केन्द्रीय विश्वविद्यालयले त झन् एआइ र संस्कृत शिक्षालाई जोडेर पठनपाठन गर्ने घोषणा गरिसकेको छ ।

यो अवस्था केवल सांस्कृतिक पुनरुत्थानको सामान्य घटना होइन । यो भारतवर्षीय सभ्यताको दीर्घकालीन स्मृति, आत्मबोध र ज्ञान-सामर्थ्य पुनः जागृत भएको संकेत हो । लामो समयसम्म उपनिवेशी शिक्षा, पश्चिमी बौद्धिक वर्चस्व र आत्महीन मानसिकताले ढाकिएको भारतवर्षीय चेतना अब क्रमशः आफ्नो मूलतर्फ फर्किरहेको छ। यस फर्काइको अर्थ अन्ध-परम्परावाद होइन । बरु आफ्नो परम्पराका असल तत्वहरूलाई आलोचनात्मक, अनुसन्धानात्मक र आधुनिक उपयोगितासहित पुनः प्रतिष्ठित गर्ने प्रयत्न हो । नेपाल र भारतसहित विश्वका धेरै बुद्धिजीवि तथा अनुसन्धाताहरूले प्राचीन भारतवर्षीय ज्ञान परम्परालाई आधुनिक परिपेक्षमा बुझ्ने बुझाउने सशक्त कलम चलाइरहनु भएको छ ।

यही कारणले आफूलाई स्वतन्त्र, समाजवादी, बौद्धिक र प्रगतिशील ठान्ने कतिपय बुर्जुवा वृत्तमा असामान्य बेचैनी देखिन थालेको छ। उनीहरूको वैचारिक आधार लामो समयसम्म पश्चिमी प्रतिमान, उपनिवेशी आलोचना, धर्मनिरपेक्षताको एकांगी व्याख्या र भारतवर्षीय परम्पराप्रतिको अविश्वासमा टिकेको थियो। उनीहरूले आधुनिकताको अर्थ आफ्नै जरा अस्वीकार गर्नु, धर्म-संस्कृतिलाई पिछडापन ठान्नु र पश्चिमी बौद्धिक उत्पादनलाई मात्र सार्वभौम सत्य मान्नु हो भन्ने भ्रम फैलाउँदै आए। तर परिस्थिति बदलिँदैछ । अब भारतीय तथा नेपाली समाजले प्रश्न गर्न थालेको छ- के आधुनिक बन्नु भनेको आफ्नो मौलिकता त्याग्नु हो ? के वैज्ञानिकता भनेको वैदिक, बौद्ध, जैन वा लोकजीवनबाट आएका ज्ञान-स्रोतहरूलाई अपमान गर्नु हो ? के प्रगतिशीलता भनेको आफ्नै सभ्यताप्रति घृणा र परायाको प्रतिमानप्रति अन्धभक्ति हो ?

वास्तवमा, भारतवर्षीय ज्ञान–परम्परा कुनै संकीर्ण धार्मिक दाबी होइन । वेद, उपनिषद्, गीता, बौद्ध त्रिपिटक, जैन आगम, सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त, तन्त्र, आयुर्वेद, अर्थशास्त्र, नाट्यशास्त्र र अनेकौँ लोकज्ञानहरू मिलेर बनेको विशाल ज्ञान-संसार हो । यस ज्ञान-संसारले केवल ईश्वर, मोक्ष र आत्माको कुरा मात्र गरेको छैन । यसले शरीर, मन, समाज, राज्य, अर्थ, नीति, शिक्षा, स्वास्थ्य, प्रकृति, परिवार, कला, सौन्दर्य, भाषा र मान-सम्बन्धका गहिरा प्रश्नहरू उठाएको छ । त्यसैले भारतवर्षीय परम्परालाई केवल कर्मकाण्ड वा रूढि भनेर पन्छाउनु बौद्धिक आलस्य हो । नेपालका केही बांकपन्थी बुद्धिजीविहरूले वैदिक ज्ञानप्रणाली र सांस्कृतिक महत्व बुझेर होला, धार्मिक रूपमा नभए पनि सांस्कृतिकरूपमा नेपाली ज्ञान परम्पराको सुरक्षण हुनुपर्छ भन्ने अभिमत प्रस्तुत गर्नु भएको छ भने केहीले त आफुलाई “बौद्ध”नै भएको घोषणा गर्नुभएको छ ।

आज योगलाई शारीरिक व्यायाम मात्र मान्ने समय समाप्त भइसकेको छ । योग आधुनिक मानसिक स्वास्थ्य, तनाव-व्यवस्थापन, भावनात्मक सन्तुलन, ध्यान-प्रशिक्षण र जीवन-शैली चिकित्सासँग जोडिएको छ । आयुर्वेदलाई केवल घरेलु उपचारको रूपमा हेर्ने दृष्टि पनि साँघुरो भइसकेको छ । आज विश्वभरि समग्र स्वास्थ्य, प्रतिरोधात्मक चिकित्सा, आहार-विहार र मन-शरीर सम्बन्धको सन्दर्भमा आयुर्वेद पुनः अध्ययनको विषय बनेको छ। वेदान्त र बौद्ध दर्शन केवल मठ-मन्दिरको विषय रहेनन् ।  ती चेतना-अध्ययन, अस्तित्व-चिन्तन, मनोविज्ञान, नैतिकता र नेतृत्व-दर्शनका क्षेत्रमा पनि प्रवेश गरिरहेका छन् । संस्कृत केवल देवभाषा मात्र होइन । यो ज्ञान, व्याकरण, तर्क, काव्य, दर्शन र सूक्ष्म अभिव्यक्तिको अद्वितीय साधन हो भन्ने तथ्य पुनः स्थापित हुँदैछ। मैले पूर्वप्रधानमन्त्री केपी ओलीको सम्झना गर्न चाहन्छु जसले खुला मंचबाट योगको प्रवर्धनका लागि आवाहन गर्नुभयो र प्रष्टरुपमा ऋषिपथ नेपाली मनोविज्ञानको अनुकुल भएको स्वीकार्नु भयो । अन्य केही बामपन्थी नेताहरूमा यो चेतना जागृत हुनुमा पश्चिमा र भारतवर्षीय समाजमा मौलिक ज्ञानप्रणालीप्रति बढेको अभिरुचि हो ।

वैदिक ज्ञानपरम्पराको शक्ति फैलिंदै गर्दा पश्चिमी माइन्ड-सेटमा हुर्किएको प्रगतिशीलतालाई असहज हुनु स्वाभाविक छ । किनकि त्यसले आफ्नो बौद्धिक प्रतिष्ठा भारतवर्षीय ज्ञान-परम्पराको आलोचना, उपहास र अवमूल्यनबाट निर्माण गरेको थियो । लामो समयसम्म धर्मनिरपेक्षताको नाममा धर्म-संस्कृतिप्रति शत्रुतापूर्ण व्यवहार गरियो । समाजवादको नाममा स्थानीय ज्ञान, लोकसंस्कृति र आध्यात्मिक परम्परालाई सामन्ती अवशेष भनियो । आधुनिक शिक्षाको नाममा गुरुकुल, संस्कृत, शास्त्र, गुरु-शिष्य परम्परा र जीवन-आधारित शिक्षालाई पछौटे ठानियो । तर आज यिनै विषयहरू नयाँ दृष्टिले अध्ययनको केन्द्रमा आउन थालेपछि पुरानो बौद्धिक संरचना हल्लिन थालेको छ । यो बाम-समाजवादीहरूका लागि निकै चिन्ताको विषय बनेको छ ।

हालै भारतमा चर्चामा आएको कक्रोच जनता पार्टीको प्रदर्शनमा भारतीय कम्युनिस्ट नेता दीपांकर भट्टाचार्यको उपस्थिति केवल एउटा सामान्य राजनीतिक सहभागिता मात्र होइन । यसलाई भारतीय वामपन्थी चिन्तनको गहिरो विचलनका रूपमा पनि बुझ्न सकिन्छ- । शिक्षा प्रणाली, बेरोजगारी, परीक्षागत अनियमितता, सामाजिक अन्याय र युवाको भविष्यका प्रश्न उठाउनु लोकतान्त्रिक दृष्टिले अत्यन्त स्वाभाविक हो । यस्ता प्रश्नहरू कुनै पनि जिम्मेवार समाजले उठाउनुपर्छ । तर व्यङ्ग्यात्मक, क्षणिक असन्तोष र जनमनोविज्ञानमा आधारित आन्दोलनसँग वैचारिक दलहरूको हतारो सहकार्यले उनीहरूको दीर्घकालीन दर्शन, सांगठनिक आत्मविश्वास र ऐतिहासिक वैचारिक आधार कमजोर हुँदै गएको अनुभूति गराउँछ । भारतवर्षीय ज्ञानप्रणालीप्रतिको अविश्वास र घृणा फैलाउने कार्यमा क्रमशः असलता प्राप्त हुन थालेपछि आफ्नो अस्तित्व रक्षा गर्न नयाँनयाँ बैचारिक छातामा ओत लाएर आफ्नो अस्तित्व जोगाउने प्रयत्न गर्नु स्वाभाविक नै ठान्नुपर्छ ।

विचारवान् दल वा बौद्धिक आन्दोलनको शक्ति क्षणिक नारा, भीड वा व्यङ्ग्यमा होइन । दीर्घकालीन दृष्टि, दार्शनिक आधार, सामाजिक उत्तरदायित्व र सभ्यतागत संवेदनशीलतामा हुन्छ । जब कुनै विचारधारा आफ्नो मौलिक सृजनशीलता गुमाएर केवल प्रतिक्रियात्मक विरोधमा सीमित हुन्छ, तब उसले समाजलाई दिशा दिन सक्दैन । यही अवस्था आज धेरै बुर्जुवा प्रगतिशील वृत्तमा देखिन्छ । उनीहरू वैदिक ज्ञान-परम्पराको अध्ययन गर्न चाहँदैनन्, तर त्यसको विरोध गर्न भने तत्पर देखिन्छन्। यहाँसम्म कि वेद, पुराण, उपनिषद्, धम्मपदआदिको ब्याख्या नै आफ्नो राजनैतिक सोचलाई अनुकुल हुने गरी गर्न थाल्छन् ।  उनीहरू संस्कृत जान्दैनन्, तर संस्कृतप्रति कटाक्ष गर्छन् ।  संस्कृत जान्नेहरूले वेद-उपनिषदमा मार्क्सवाद खोज्छन् ।  बुद्धलाई प्रगतिशील भएको पगडी बोकाउँछन् ।  उनीहरू वेद, उपनिषद्, गीता, बौद्ध-जैन दर्शन र आयुर्वेदको गहिरो अध्ययन नगरी तिनलाई सामन्ती, ब्राह्मणवादी, अन्धविश्वासी वा अवैज्ञानिक भनेर खारेज गर्न खोज्छन् । यो आलोचना होइन, पूर्वाग्रह हो।

सन् २०१४ पछि भारतीय राजनीतिमा भारतीय जनता पार्टीको उदयसँगै भारतमा प्राचीन वैदिक, जैन, बौद्ध तथा अन्य रैथाने ज्ञान-परम्पराहरूको पुनः खोज, पुनः अध्ययन र पुनः प्रतिष्ठाको राजनीतिक तथा सांस्कृतिक वातावरण बलियो भयो । यस प्रक्रियाका आ-आफ्ना राजनीतिक पक्ष र विवादहरू हुन सक्छन् तर एउटा तथ्य स्पष्ट छ- नेपाली र भारतीय समाजमा आफ्नो सभ्यतागत स्रोतप्रति चासो बढेको छ । संस्कृत, योग, आयुर्वेद, गुरुकुल, तीर्थ, शास्त्र, भारतीय इतिहास, धर्मदर्शन र स्थानीय परम्पराहरू अब लज्जाको विषय होइनन् । तिनीहरू पुनः आत्मगौरवका विषय बन्दैछन् । ठूलाठूला प्रोफेसर तथा राजनैतिक शक्तिले वैदिक संस्कृतिको पक्षमा निर्धक्कसंग वकालत गर्न थालेका छन् ।

यसको प्रभाव नेपालमा नपर्ने कुरै भएन । नेपाल भारतवर्षीय सभ्यताको स्वाभाविक उद्गमस्थल  हो । यहाँको हिमालय, नदी, तीर्थ, भाषा, लोकसंस्कृति, वेद-पुराणीय स्मृति, शैव-शाक्त-वैष्णव-बौद्ध परम्परा, जात्रा, पर्व, संस्कार र गुरुकुलीय जीवन सबै भारतवर्षीय ज्ञान-परम्परासँग गहिरोसँग जोडिएका छन् । लामो समयसम्म अत्यन्त निरपेक्ष, मौन र रक्षात्मक देखिएको नेपाली हिन्दू समाजले पनि आफ्नै सामर्थ्यमा संस्कृत भाषा, गुरुकुल शिक्षा, वेदाध्ययन, धर्मदर्शन, योग, आयुर्वेद र सांस्कृतिक पुनर्जागरणका क्षेत्रमा काम गर्न थालेको छ । यस्तो उत्थानमा नेपालसरकारको राजकीय भूमिका अत्यन्त सीमित छ । धेरैजसो उम्दा गुरुकुल तथा संस्कृत विद्यालयहरू मुठीदान र दानबाट संचालित छन् । यो कार्यमा नेपाली सन्तसमाजको त्याग, तपस्या र मार्गदर्शनले महत्वपूर्ण योगदान गरेको छ ।

आज नेपालका धेरै गुरुकुलहरू केवल परम्परागत पाठशाला मात्र रहेनन् । तिनीहरू अनुशासन, संस्कार, भाषा, शास्त्र, जीवन–व्यवस्था र नैतिक शिक्षाका प्रयोगशाला बन्दैछन् । केही नेपाली गुरुकुलहरू त भारतका लागि पनि प्रेरक उदाहरण बन्न थालेका छन् । सीमित स्रोत, न्यून आर्थिक आधार र सामाजिक उपेक्षाका बीच पनि नेपाली गुरुकुलहरूले संस्कृत र वैदिक अध्ययनको क्षेत्रमा जुन समर्पण देखाएका छन्, त्यो उल्लेखनीय छ। यो पुनर्जागरण राज्यको आदेशले मात्र आएको होइन । समाजको आन्तरिक आवश्यकता, आत्मगौरव र सांस्कृतिक स्मृतिबाट उत्पन्न भएको हो र वैदिक समाजले आफ्नो मौलिक पहिचान खोजेको बलियो प्रमाण हो ।

तर यो पुनर्जागरणलाई केवल धार्मिक पुनरुत्थानका रूपमा बुझ्नु भूल हुनेछ । यसको गहिरो अर्थ छ- शिक्षामा आत्मनिर्भरता, ज्ञानमा मौलिकता, संस्कृतिमा आत्मसम्मान र आधुनिकतामा स्वदेशी दृष्टिको खोज । आज आवश्यकता अन्धआदरको होइन, आलोचनात्मक पुनर्पाठको हो । वेद, उपनिषद्, गीता, योग, आयुर्वेद, बौद्ध-जैन दर्शन र लोकज्ञानलाई आधुनिक अनुसन्धान, वैज्ञानिक परीक्षण, सामाजिक उपयोगिता र मानवकल्याणसँग जोड्नुपर्छ । जहाँ सुधार आवश्यक छ, त्यहाँ सुधार गर्नुपर्छ । जहाँ विकृति छ, त्यहाँ परिमार्जन गर्नुपर्छ । जहाँ अमूल्य ज्ञान छ, त्यो गौरवका साथ विश्वसमक्ष प्रस्तुत गर्नुपर्छ ।

सभ्यतागत आत्मबोधको अर्थ अरू सभ्यताप्रति घृणा होइन । भारतवर्षीय दृष्टिले कहिल्यै पनि सत्यलाई एकांगी रूपमा बन्दी बनाएको छैन । ‘आ नो भद्राः क्रतवो यन्तु विश्वतः’ अर्थात् चारैतिरबाट कल्याणकारी विचारहरू हामीतर्फ आउन् भन्ने वैदिक उद्घोष यस सभ्यताको खुलापनको प्रमाण हो । त्यसैले पश्चिमबाट आएका विज्ञान, प्रविधि, लोकतन्त्र, मानवअधिकार, व्यवस्थापन, चिकित्सा र अनुसन्धान-पद्धतिका असल पक्षहरू ग्रहण गर्न कुनै हिचकिचाहट हुनुपर्दैन । तर ग्रहणको अर्थ आत्मसमर्पण होइन । विश्वका असल कुराहरू यहाँ मिसाउने, कमसल कुराहरू त्याग्ने र आफ्नोमा भएका असल कुराहरू विश्वलाई दिने आत्ममूलक दृष्टि नै आजको आवश्यकता हो ।

पश्चिमी प्रतिमानमा अडिएको प्रगतिशीलताले बुझ्नुपर्ने कुरा यही हो- भारतवर्षीय ज्ञान-परम्पराको पुनर्जागरण कुनै प्रतिक्रियावादी परियोजना होइन । यो मानव सभ्यताको समृद्धिका लागि आवश्यक बौद्धिक योगदान हो । योग, ध्यान, आयुर्वेद, धर्मदर्शन, कर्तव्य-चिन्तन, आत्मानुशासन, प्रकृति-सम्मान, परिवार-व्यवस्था, गुरु-शिष्य सम्बन्ध, समष्टि-कल्याण र जीवनको अन्तर्मुखी खोज आजको असन्तुलित विश्वका लागि अत्यन्त आवश्यक छन् । भौतिक विकासले सुविधा दिएको छ, तर शान्ति दिएको छैन । सूचना-प्रविधिले सम्पर्क दिएको छ, तर सम्बन्धको गहिराइ घटाएको छ । उपभोगले वस्तु दिएको छ, तर सन्तोष दिएको छैन। यस्तो समयमा भारतवर्षीय ज्ञान-परम्पराले जीवनलाई बाहिरबाट मात्र होइन, भित्रबाट पनि व्यवस्थित गर्ने मार्ग देखाउन सक्छ ।

यसैले आजको वास्तविक प्रगतिशीलता आफ्नै जरा काटेर आधुनिक बन्ने होइन; जरा बलियो बनाएर विश्वसँग संवाद गर्ने हो । वास्तविक समाजवाद आफ्नो समाजको स्मृति, संस्कृति र आत्मालाई नष्ट गरेर आउँदैन; समाजको आत्मबोधलाई सम्मान गर्दै न्याय, समानता र करुणा स्थापित गर्दा आउँछ । वास्तविक धर्मनिरपेक्षता धर्मप्रति घृणा होइन; सबै परम्पराको न्यायपूर्ण सम्मान हो । वास्तविक बौद्धिकता पूर्वाग्रह होइन; अध्ययन, अनुसन्धान, संवाद र सत्यप्रतिको निष्ठा हो । नेपाली संस्कृतिले घृणावादको होइन; प्रेमपूर्ण संवादको बाटो अवलम्बन गर्न खोज्दैछ । राम्रो कुरा के हो भने यस्तो चाहनाको पक्षमा अभिमत बढ्दो छ ।

नेपाली समाजले आफ्नो जरोकिलो चिन्न थालेको छ। भारतवर्षीय सभ्यताको गौरव केवल अतीतको कथा होइन अपितु भविष्यको सम्भावना पनि हो । हामीले आफ्ना शास्त्रहरूलाई संग्रहालयमा राखेर पूजा गर्ने होइन । 

जीवन, शिक्षा, स्वास्थ्य, मनोविज्ञान, नीति, समाज र विश्वशान्तिका क्षेत्रमा उपयोगी बनाउने हो ।  यी ज्ञान परम्पराहरूलाई विद्यालय र विश्वविद्यालयको तहबाट वैश्विक बनाउने हो । वैदिक ज्ञान-परम्पराको पुनर्जागरण भनेको पुरानोमा फर्कनु होइन अपितु सनातन जीवनदृष्टिलाई आधुनिक चेतना, वैज्ञानिक विवेक र वैश्विक संवादसँग जोडेर नयाँ भविष्य निर्माण गर्नु हो ।

अब समय आएको छ- हामी आत्महीनताको युगबाट आत्मबोधको युगमा प्रवेश गरौँ । पश्चिमबाट सिकौँ, तर पश्चिमकै प्रतिलिपि नबनौँ । आफ्नो परम्परालाई जाँचौँ, तर अपमान नगरौँ । असल कुरालाई ग्रहण गरौँ, कमजोर पक्षलाई सुधारौँ र भारतवर्षीय ज्ञान-सम्पदालाई विश्वकल्याणको दिशामा पुनः प्रतिष्ठित गरौँ । यही वैदिक ज्ञान-परम्पराको पुनर्जागरण हो । यही सभ्यतागत गौरव हो । यही भविष्यको स्वाभाविक मार्ग हो र नेपालीको मौलिक चिनारी पनि हो ।