जवाङ खोलामा पुनः लेदोसहितको पहिरो, मुग्लिङ-काठमाडौं सडक दुईतर्फी अवरुद्ध

जवाङ खोलामा पुनः लेदोसहितको पहिरो, मुग्लिङ-काठमाडौं सडक दुईतर्फी अवरुद्ध


धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा फेरि लेदोसहितको पहिरो खसेपछि मुग्लिङ-काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

अविरल वर्षापछि आएको लेदो र ढुंगामाटोसहितको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक बन्द भएसँगै सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुले सास्ती ब्यहोर्नुपरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार डोजरमार्फत पहिरो हटाउने काम भइरहेको छ । तर माथिबाट थप लेदो र ढुंगा खस्ने क्रम जारी रहेकाले सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको उनले बताए ।

प्रहरीले मौसम अनुकूल भएलगत्तै सडक खुलाउने प्रयास भइरहेको जनाएको छ भने यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।