सम्पर्कमा आए शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु

सम्पर्कमा आए शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् ।

आइतबारदेखि सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका-१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कबाहिर रहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।

सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य ब्यापक पारिएपछि हराएका महिलाहरु सुरक्षित अवस्थामा परिवारको सम्पर्कमा आएको रउनको भनाइ छ ।

त्यसैगरी, आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।

उनीहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।