हिन्दूधर्ममा मृत्यु–संस्कार–२–डा. बालकृष्ण थापा

हिन्दूधर्ममा मृत्यु–संस्कार–२–डा. बालकृष्ण थापा


किरिया प्रक्रिया : कति दिन बस्ने ?
हिन्दूधर्म मान्ने वा सो समाजमा बस्ने अन्य धर्म मान्ने घोषणा नगरेकाहरूका लागि किरिया गर्ने हिन्दू परम्परा १३ दिनको हो । सुरुमा १३ वर्ष शोक मनाउने हुँदै १३ महिना भएर १३ दिनमा आएको भन्ने विश्वास छ । तर, किन १३ दिन भन्ने प्र्रश्नको कसैको कतै जवाफ भने सन्तोषप्रद छैन । खास कति दिन किरिया बस्नुपर्ने भन्ने पनि कुनै नियम छैन । गरुड पुराणमा लेखिएको छ राजा, लडाइँमा रहेको सिपाही, मन्त्री, कविवर, भाइ भारदारलगायतका लब्ध–प्रतिष्ठिहरूको हकमा एक दिन शोक मनाए पुग्छ । त्यसैकारण राज्यस्तरका व्यक्तिहरूको एक दिन वा तीन दिन शोक मनाउने प्रचलन बसेको हो । यो १३ दिन न वैज्ञानिक छ न त व्यावहारिक । यसमा परिमार्जन गरिएन भने संस्कार जोगाउने भन्ने कुरा हास्यास्पद हुन पुग्छ कालान्तरमा । शास्त्रहरूका अनुसार उच्चतम लब्धप्रतिष्ठित व्यक्तिहरूले एक दिन मात्र किरिया गरे पनि हुने व्यवस्था छ । त्यसैले एक दिनदेखि १३ दिनसम्म जति पनि किरिया बस्न मिल्ने शास्त्रीय व्यवस्था भएकाले हिन्दूधर्म अति नै व्यावहारिक धर्ममा गनिएको हो । नेपालमा हायु प्रजातिमा तीन दिन मात्र किरिया बस्ने चलन छ । मलामीहरूका बीच हरेक घाटमा कुराकानी हुन्छ, भएको छ, किरिया प्रक्रिया लामो भयो । कोही तीन दिनको, कोही पाँच दिनको कोही सात दिनको कुरा गर्छन् भएका छन् । तर, बिरलै मात्र गरिएका छन् । त्यसैले सोच विकास भइसकेको छ खाली यसलाई कार्यान्वयन गर्ने–गराउने कुरा हो । कसैले आफंैले सुरु गर्नुपर्छ अरूलाई भन्नुअघि । आजको २१औँ शताब्दीमा जहाँ संस्कारभन्दा सम्पन्नता र समय बढी महत्ववपूर्ण भएको छ विज्ञानले हिजो सम्भव छैन भनेका कुरा सम्भव बनाएको छ । त्यसबेला बढ्दो मात्रामा १३ दिनलाई नमान्नेको सङ्ख्या बढ्नेछ । बढ्दै जाँदा संस्कारको अन्त्य नहोला भन्न सकिन्न । तसर्थ यसमा परिमार्जन अति आवश्यक छ । तर, बिरालाको घाँटीमा कसले घन्टी बाँध्ने ? जसले आफूले गर्दैन अरूलाई गर भन्ने अधिकार रहन्न । एकैचोटि परिवर्तन पनि हुँदैन । त्यसैले बिस्तारै यसलाई परिवर्तन गर्दै लाने र वैज्ञानिक र युगसम्मत बनाउने कुरा सोच्न ढिला भएको छ ।
हामीले सोचेजस्तो बाहुनवाद र बाहुनहरूको पेसाजन्य रूपमा यसलाई छोट्याउन नसकिएको भन्ने कुरासँग म सहमत हुन सकिनँ । आजका बाहुनहरू हामीले सोचेभन्दा फरक भइसकेका छन् । उनीहरू परिवर्तन भइसकेका रहेछन् । र पुराना पुस्ता पनि यसका बाधक होइन रहेछन् । तर, नयाँ पुस्तामा एउटा नौलो कुराको विकास भएको रहेछ । आफू राम्ररी अध्ययन नगर्ने, कुनै पनि कुराबारे आफ्नो निर्णय दिन पनि नसक्ने, तर्क गर्न आँट नगर्ने तर नयाँ कुरा स्वीकार्न पनि नसक्ने । बूढापाकाहरू स्वीकार्न तयार हुने नयाँ पुस्ता किन भन्ने उत्तर पनि नखोज्ने, हुन्न पनि भन्न नसक्ने तर मान्न पनि नमान्ने संस्कृतिको विकास भएको रहेछ आजको समाजमा । सायद यसैले होला परिवर्तन हुन नसकेको । त्यसैले नयाँ पुस्तालाई अध्ययनशील र तर्कशील बनाउन सकिएन भने कुनै पनि ठाउँमा सांस्कृतिक दुर्घटना हुन सक्छ । पण्डित र धर्मावलम्बीहरूले विचार गर्नुपर्ने भएको छ ।
अब कुरा गरौँ के गर्नै गरिन्छ भनेर । सुरुकै दिनमा घाटबाटै टाउकाको कपला, दाह्री, जुँगा, आँखीभौँ काट्नु वा खौरनुपर्ने त्यसपछि भोलिपल्टदेखि नै कोरा बस्नुपर्ने, ढिकुरो राख्नुपर्ने र नवौँ दिनमा विचार दिनुपर्ने दशौँ दिनमा ढिकुरो फुटाउनुपर्ने कामहरू मुख्य हुन् । यी कामहरूमध्ये पहिलो, नवौँ र दशौँ दिनको कामहरू मुख्य हुन् । अरू सबै दिन एउटै काम दोहोर्‍याउने मात्र हो । यस हिसाबले हेर्दा तीन दिनभन्दा बढी किरिया बसिरहनुपर्ने कुनै तर्क देखिँदैन एउटै काम एकै दिनमा गर्नुको साटो दश दिन दोहोर्‍याउनुको कुनै तुक छैन ।
किरिया बाध्यता कि अधिकारको कुरा ?
हिन्दूधर्म मान्नेहरूमा बाबुआमा मरेपछि किरिया बस्नुपर्छ भन्ने भए पनि यो अनिवार्य विषय नभएको र प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएको पनि बताउँछन् । त्यसैले धर्म आफैंले कसैलाई पनि अनिवार्यता गराएको छैन किरिया बस्नका लागि ।
दान धर्म
अन्तिमका दुई दिन खासगरी दानधर्म गर्ने नियतले राखिएको देखिन्छ । दान भन्नाले एकजना मानिस बाँच्नका लागि चाहिने, प्रयोगमा ल्याइने सरसामान र गाई दान गर्नुपर्ने प्रचलन छ । क्षमता हेरी दान गर्न पाइने नियम छ, तर समाजलाई देखाउनका लागि र समाजकै देखासिकीमा बढ्दो खर्च गर्ने प्रचलनलाई अनिवार्य नियन्त्रण गर्न जरुरी छ प्रगति गर्ने हो भने । हरेकलाई जस्तै योग्यताअनुसारको काम र कामअनुसारको दाम दिनबाट पण्डित पुरोहितहरूलाई वञ्चित गर्नै मिल्दैन । तर, समाजका लागि दीर्घकालीन रूपमा सहयोग हुने गरी दान गर्न सके धर्म नै हुन्छ ।
ढिकुरो बसाउने किन ?
आर्य संस्कृतिको एउटा मान्यता माटो पवित्र हुन्छ भन्ने हो । जुन हिन्दूधर्ममा पनि कायम रहेको छ । प्रत्येक कार्यहरू गर्दा माटोको विभिन्न आकृतिका वेदी (ढिस्का) बनाउने चलन छ । मृत्यु संस्कारमा बनाइने वेदीको नाम हो ढिकुरो । यसलाई प्रेतलाई दिने पिण्डका रूपमा लिइन्छ । मानिन्छ ढिकुरोमा प्रेतकल्प बनेर आउने र दिएकोमध्ये दुई भाग यमराज र एक भाग पितृले पाउने गरी ढिकुराको माध्यमबाट दिइने मान्यताबमोजिम हिन्दूहरूले मृत्यु संस्कारमा ढिकुरो बनाउने प्रचलन आयो । अहिले धेरैको विश्वास हो ढिकुरो मृत्यु संस्कारको मेरुदण्ड हो । तर, यसमा वैज्ञानिक आधार भने भेटिन्न । पहिले–पहिले तर्पण दिने बेलामा मृगको रगत दिनुपथ्र्यो । अहिले त्यो कहावत मात्र भएको छ । पिण्ड दिनका लागि मासुको पिण्ड दिनुपथ्र्या । तर, अहिले पिण्ड दिनका लागि मासको प्रयोग गरिन्छ ।
नुन नखाने
मृत्यु संस्कार को एउटा महत्ववपूर्ण पाटो हो नुन बार्ने । तर, किन भन्ने खास उत्तर नभए पनि नुन सायद निम्न कारणले बारिएको होला भन्ने अनुमान र किम्बदन्ती छ ।
१. नुन शरीरको सबभन्दा ठूलो शक्ति हो । मृतकका सन्तान यसबेला शोकमा भएकोले आत्महत्या गर्नेसमेत शक्ति उसमा नआओस् भनेर पनि यो गरिएको हुन सक्छ ।
२. शोकको बेलामा एकाग्र भएर ब्रह्मचारी रहनका लागि सहयोग पुगोस् भन्ने पनि होला ।
३. पहिले पहिले नुन कि त भोटबाट आउँथ्यो कि त समुद्रबाट । यी दुवैमा भेडा वा माछा वा समुद्री जनावरको अपाच्य कुराहरू मिश्रित भएको हुन सक्ने भएकाले पनि यसलाई बर्जित गरिएको हुन सक्छ ।
त्यसैले सिदेनुन वा वीरेनुनका नाममा शरीरलाई चाहिने सोडियम लिन सकिने पनि वैकल्पिक व्यवस्था छ ।
कपाल काट्ने
वास्तवमा आर्यहरूका गुरुहरूका गुरुहरू ऋषिमुनीहरूको सान भनेको लामो कपाल, लामो दाह्री लामा–जुँगा हुन्थे । राजा, मन्त्रीहरू, भाइभारदारहरू सबै दाह्रीजुँगा पाल्ने गर्थे । सायद विष्णु गुप्त र चाणक्यकालमा कपालमा जुम्रा पर्ने, फोहोर हुने र सफा रहन कपाल काट्ने चलन बसाए पनि आप्mनो लामो कपालको सम्झनामा टुप्पी राख्ने चलन चलाएका थिए । आज पनि हिन्दूहरू कपाल खौरँदा टुप्पी राख्ने गर्छन् । तर, यदि कपाल सफा राख्न सकिन्छ भने यसलाई काट्नैपर्छ भन्ने छैन । जुँगा त सानको विषय हो, जुँगा काटेर मेरो सान गयो भनी सङ्केत गर्न खोजिएको हो । यी सबै प्रतीकात्मक कुराहरू मात्र हुन् । बाध्यकारी होइनन् । (क्रमश:)