ए ऽ बाउसे/रोपार !– रामेश्वर राउत मातृदास

ए ऽ बाउसे/रोपार !– रामेश्वर राउत मातृदास


नेपाली रोपार बाउसेले सार लाउनै छ असार
उठेका द्वन्द्व/अशान्तिलाई बटारी कसार
नेपाली आँट/अठोटले आँटे असम्भव हुन्न केही
धर्तीलाई एउटै आँगनमा घुम्ने प्रतिज्ञा गरौँ यही

चन्द्र र सूर्य हलगोरु नारी आकाश चुम्नु छ
यी सातै सागर धरतीलाई प्रीत लगाई घुम्नु छ
भावना हाम्रो अनन्त मारुनी/पुरुसुङ्गे
छेकटो हाली नछेक्नु बाटो पाङ्दुरा बुरुथुङ्गे

घामका झुल्का बटुली नाच्छन् हिमालका चुचुरा
आकाश/धरती गम्काई फुल्छन् सहनशील मुजुरा
मनका ईश थुनेर हुन्न उघारौँ दुवार
संसार साझा घर हो जीवन/जगत्को मुहार

मङ्गल/वृहस्पतिमा पुग्ने ए ऽबाउसे/रोपार
अशिक्षा/अभाव/अशान्तिलाई खिपेर दोबार
हाँसेर नाच्छन् खुसीका फूल सुवास छरेर
गुञ्जिन थाल्छन् बाँसुरी धुन उत्साह भरेर

नछेक बाटो अनन्त छुने जीवन मुक्ति धाम
पवित्र यही छ जुनीमा झुल्ने घाम र जुनको याम
यी अग्नि–वायु–धरती र आकाश निर्झर जवानी
मासेर कहिल्यै मेटिने छैन अमर कहानी ।
नेपाली रोपार/बाउसेले…
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती