चेपाङ, च्याउ र चेतना –वीरेन्द्रमणि पौडेल

चेपाङ, च्याउ र चेतना –वीरेन्द्रमणि पौडेल


चेपाङ जाति भन्ने गरिएका नेपाली सामाजिक, आर्थिक, राजनीतिक, शिक्षा, स्वास्थ्यलगायत करिबकरिब सबै विषयमा कमजोर मात्रै होइन अति नै कमजोर छन् । सबै विषयमा यतिबिघ्न यिनीहरू किन कमजोर भए कारणहरू केलाउँदै जाँदा थुप्रै रहस्यसहित कारण पत्ता लाग्दै जालान् । तर, यतिबेलाको आवश्यकता भनेको किन गरिब र कमजोर भए खोजीको सट्टा यिनीहरूलाई कसरी बचाउने भन्नेतर्फ सचेत दाबी गर्नेहरूले घोरिनुपर्ने अवस्था सिर्जना भएको छ ।
उर्वराशक्ति कम भएको माटोमा बस्ने खासगरी चितवन र मकवानपुरका चेपाङहरूलाई हाडछाला घोटेर बारीमा काम गर्दासमेत उब्जिएको अन्नले ६ महिना खान पुग्दैन । जेनतेन रगत र पसिनाको बलमा उत्पादित अन्न ६ महिना खाएपछि तिनको घरको भकारी र थैलाहरू रित्तिन्छन् । नेपालको जनगणनाका लागि चेपाङहरू बाँचिदिनुपर्छ । चेपाङ बस्ने ठाउँको नक्सा कोरेर जागिर पचाउनेहरूका लागि चेपाङले बाँचिदिनुपर्छ । चेपाङको दर्दनाक अवस्थालाई देखाएर, तिनीहरूको ख्याउटी परेको पेट, कलेटी परेको ओठ, मुजा परेको गाला, काइँयो नदेखेको कपाल देखाएर डलर कमाउनेहरूका लागि यी चेपाङहरूले बाँचिदिनुपर्छ । बाँच्नका लागि पेट भर्नुपर्छ । पेट भर्नकै लागि चेपाङहरू भौँतारिन्छन् । भोको पेट लिएर भौँतारिएका केही चेपाङहरूका आँखा गिठा, भ्याकुर, च्याउ र कन्दमूलका लागि जङ्गलतिर सोझिन्छन् त केही चेपाङका आँखा अन्न थुपारिएका सहर–बजारतिर सोझिन्छन् । सोझा, छलकपट गर्न नसक्ने, नजान्ने यी चेपाङहरू सहरका ठालुहरूले अन्न दिए लगेर लालाबालाको पेट भर्छन् नदिए जङ्गलै फर्कन्छन् र गिठा, भ्याकुर, कन्दमूल र च्याउ खोज्छन् । ६ महिना खान नपाएर भौंतारिएरै चेपाङहरूले शासक र डलर फलाउने एनजीओ सञ्चालकहरूका लागि लामो समयदेखि बाँचिदिँदै आए । आधा पेटले चेपाङ बाँचिदिए । सरकारले धनी देशहरूसँग भिख माग्न पायो र बाठा, चतुरहरूले चेपाङको नाङ्गो आङ देखाएर चेपाङ उत्थानका नाममा डलर कमाए । ६ महिना पूरा पेट र ६ महिना आधा वा एक चौथाइ पेट भरेर चेपाङहरू बाँच्दै आए । तिनको नाममा शासक र एनजीओवालाहरू मालामाल हुँदै आए । चेपाङहरूमाथि चरम अत्याचार हुँदै आयो । तिनीहरूको खाएर बाँच्न पाउने अधिकार लगातार हनन हुँदै आयो । चेपाङको नाम बेचेर कमाउनेहरूले कमाइरहे । हेर्नेहरूले हेरिरहे । बोल्न सक्नेहरू आफ्ना लागि बोले । बोल्न नसक्ने चेपाङहरूका लागि कोही बोलेनन् । यहाँसम्म सहन सक्ने अवस्था किन थियो भने कम्तीमा जसरी भए पनि चेपाङहरू बाँचेकै थिए । तर, अब मानवताको पक्षमा बोल्ने र लेख्नेहरूले सहन सक्दैनन् । नसक्ने अवस्था विषालु च्याउ सेवनका कारण मृत्युको मुखमा पुगेका चेपाङका शवले सिर्जना गरेको छ ।
करिब दुई वर्षअघि मकवानपुरका आठजना चेपाङकोे विषालु च्याउ सेवनका कारण दुखद् निधन भयो । आठजना चेपाङको त्यो हृदयविदारक मृत्युको समाचार देशका प्रायः सबै पत्रपत्रिका र रेडियो, टेलिभिजनले छापे, फुके र देखाए । सरकारी निकाय, सामाजिक सङ्घसंस्था र नेपाली जनताको ठूलो हिस्साले समाचार पढे, सुने र हेरे । उज्यालो भयो, दिन आयो, रात पर्‍यो । अर्को दिन आयो, गयो । आठजना चेपाङ भनिएका नेपाली मरे, सकिए । सबैले बिर्सिए । जापानको एकजना नागरिक सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा पुरिएर मृत्यु भयो भने जापान सरकार तुरुन्त आफ्नो नागरिकको शव आफ्नो देश लैजान सक्रिय हुन्छ । अमेरिकी नागरिक नेपाल भ्रमणमा आउँदा केही कठिनाइ भए तुरुन्त अमेरिकी सरकारले नेपाल सरकारलाई फोन गर्छ र भन्छ, ‘हाम्रो नागरिकलाई केही अप्ठ्यारो भए सहयोग गर्नु ।’ अरू देशका सरकार आफ्ना जनता र नागरिकप्रति जवाफदेही र जिम्मेवार छन्, तर खानेकुराको विकल्पको रूपमा विषालु च्याउ खाएर आठ–आठजना नेपालीको मृत्यु भयो तर नेपाल सरकार चुँसम्म बोलेन । मानवअधिकारको कुरा गर्नेहरू कहाँ गए थाहा भएन । चेपाङ उत्थानको नाममा डलर सोहोर्नेहरू बेपत्ता भए । दुई वर्षपछि फेरि चितवनका गरिब चेपाङहरू जसको सम्पूर्ण ध्यान पेटमा अन्न हालेर बाँचिदिने मात्रै छ जङ्गली च्याउ खान पुगे र केही दिनको अस्पताल बसाइपछि प्राण त्यागे । करिब तीन वर्षको अवधिमा १३ जना चेपाङको विषालु च्याउका कारण जीवन समाप्त भयो । यी शब्दहरू लेख्दै गर्दा भरतपुर अस्पतालमा विषालु च्याउ खाएका केही बिरामी मृत्युसँग पौंठेजोरी खेलिरहेका छन् । अब प्रश्न उठ्छ– चेपाङले पेटभरि खाना खान पाउने कि नपाउने ? चेपाङलाई बचाउने कर्तव्य सरकारको मात्रै हो कि अरूको पनि हो ? चेपाङलाई सधैंभरि खाना खोज्न जङ्गलै पठाइरहने कि अर्को विकल्प दिने ? जब च्याउले नै जीवन हरण गरिसकेको प्रमाणित भइसकेपछि च्याउबारे एउटा निर्णय गर्ने कि नगर्ने ? नेपाली नागरिक समाजमा भित्रभित्रै भुसको आगोसरी छलफलमा आइरहेका यी प्रश्नका सम्भावित जवाफ यहाँ प्रस्तुत गर्ने जमर्को गरौँ ता कि बिनाअपराध चेपाङहरूले जीवन नगुमाउन् र मानवअधिकारसमेत बहाल हुन सकोस् । पीडित चेपाङहरूले सबैभन्दा पहिले पेटभरि खाना खान पाउनुपर्छ । यसका लागि जब चेपाङका अन्नका भकारी र बोराहरू रित्तिन्छन् ६ महिनाका लागि चेपाङहरूको जनसङ्ख्याका आधारमा पर्याप्त हुनेगरी अन्नको जोगाड गर्ने जिम्मेवारी जिल्ला विकास समिति, सम्बन्धित जिल्लाका नगरपालिकाहरू, उद्योग वाणिज्य सङ्घ, विभिन्न सामाजिक सङ्घसंस्थाहरूबाट एक समिति निर्माण गरेर अन्न र तरकारी आपूर्ति गर्न सकिन्छ । अल्पकालीन समस्या समाधानको रूपमा यसलाई लिन सकिन्छ भने डाँडा र जङ्गलको भित्तामा बसिरहेका चेपाङहरूलाई पुनर्वास कार्यक्रमअन्तर्गत मिहिनेती चेपाङहरूलाई खेतीयोग्य जमिन भएका स्थानमा समूह–समूहमा बसाइँसराइ गराउन सकिन्छ ता कि उनीहरू आफैं खेती गरून्, अन्न उब्जाउन र अन्नमा आत्मानिर्भर होऊन् । यसरी उनीहरूलाई अन्नद्वारा सुरक्षित गर्न सकिन्छ भने ‘बाँचेपछि नाच्न सकिन्छ’ भनेझैं शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय अन्नको ग्यारेन्टी गरेपछि गर्न सकिन्छ ।
नेपालको सरकार अस्थिर छ, जिम्मेवारीबोध गर्न सक्ने खालको पनि छैन । यसकारणले पनि चेपाङ उत्थानका लागि ख्यालख्यालका मान्छेहरू होइन अब साँच्चैका मान्छेहरू अघि बढ्नुपर्छ । नेपाली नागरिक समाजमा मानव शरीर धारण गरेर मानवकै जस्तो व्यवहार प्रदर्शन गरिरहेका र गर्ने प्रयास गरेका मानिसहरू अब चेपाङ जनतालाई बचाउन र अघि बढाउन क्रियाशील हुन आवश्यक छ । यसका लागि कुनै एक विवेकशील नागरिकको संयोजकत्वमा ‘चेपाङ संरक्षण र विकास कोष’ नामक समिति गठन गर्न सकिन्छ र त्यसमार्फत सरकार सक्षम र जिम्मेवार नभइन्जेलका लागि निरन्तर आर्थिक र अन्य खालका सहयोग निरन्तर उपलब्ध गराउन सकिन्छ । रह्यो सवाल चेपाङहरूले विषालु च्याउ खाइरहेको अवस्था र च्याउबारे धारणा निर्माण गर्ने विषय । च्याउ विषालु हो वा होइन न चेपाङले जानेका छन् न त स्वास्थ्य क्षेत्रमा क्रियाशील अरू कसैले । समस्या यही हो । यो समस्याको समाधान च्याउ विषालु हो वा होइन भन्नेतर्फ जानुभन्दा च्याउ नै नखाँदा समस्याको स्वतः समाधान हुन्छ । चेपाङहरूलाई च्याउ नखाऊ भन्नका लागि अहिलेदेखि नै व्यापक रूपमा सञ्चारमाध्यम र सामाजिक, सरकारी साधनस्रोत परिचालन गरेर सचेत गराउन सकिन्छ ।
केही चेपाङ चेतनाकमीका कारण विषालु च्याउ खाएर बिते । मानव चरित्र मानवको दुःखमा दुःखी हुनु हो, दुःखीलाई सक्नेले सहयोग गर्ने हो । मर्ने चेपाङहरू धनी थिए भने च्याउ खाने थिएनन् । जङ्गली च्याउ अरूले खाँदैन गरिबले बाहेक । कमजोरलाई सहयोग गर्नु मानवको खास चरित्र र परिचय हो । धनीले गरिबलाई, सक्नेले नसक्नेलाई, स्वस्थले रोगीलाई सहयोग गर्ने हो । चितवन जिल्लामा चेपाङ जनसङ्ख्यालाई छाडेर पनि करिब पाँच लाखको हाराहारीमा जनसङ्ख्या छ । के अब हामी पाँच लाख जनताले पाँच–पाँच रुपैयाँ जम्मा गरेर २५ लाख रुपैयाँको अन्न र तरकारी ६ महिनाका लागि चेपाङलाई दिन सक्छौँ ? सिर्फ पाँच रुपैयाँ दिएर मानवता प्रदर्शन गर्न सक्छौँ ? यदि सक्छौँ भने आउनुस् कुनै एकजना मानवअधिकारकर्मी, पत्रकार वा सामाजिक कार्यकर्ताको संयोजकत्वमा चेपाङ संरक्षण र उत्थानका लागि पाँच रुपैयाँ सङ्कलन गर्न थालौँ । होइन भने न्यून चेतनाका कारण चेपाङ भनिएका नेपाली विषालु च्याउ खाएर मरिरहने तपाईं बासमती चामलको भात बढी भएर कुकुरलाई दिने जुन अवस्था छ यो अवस्थालाई हेर्दा भन्न सकिन्छ हामीले शरीर मान्छेको पायौँ तर मान्छेको चरित्र निर्माण गर्न सकेनौँ, सक्दै सकेनौँ ।