‘प्रधानमन्त्री’ दिनुअघि विचार पुर्‍याऔँ है †

‘प्रधानमन्त्री’ दिनुअघि विचार पुर्‍याऔँ है †


-वसन्तराज कुँवर
लागूपदार्थ ओसार-पसारविरुद्धको दिवसको अवसर पारेर केही दिनअघि एक टेलिभिजन च्यानलले दुर्व्यसनविरुद्ध सञ्चालन गरिने विशेष अभियान र त्यसमा मन्त्रीज्यूहरूले जनाएका वचनबद्धताको प्रभावकारिताबारेमा आफ्नो धारणा राख्न पङ्क्तिकारलाई अनुरोध गर्‍यो । मैले भनेँ, ‘मुखले बोलेर केही हुँदैन, ठूलाठूला कुरा गरेर पनि केही हुँदैन । देशमा दुर्व्यसनविरुद्ध मन्त्रीज्यूद्वारा छेडिएको अभियानबाट दुर्व्यसनी छोराछोरीका कारणले आफ्नै घरमा असुरक्षित महसुस गरी रोइरहेका आमाबाबुलाई राहत मिलेको भए यो अभियान सफल भएको मान्नुपर्छ । ती पीडित आमाबाबुले आफ्ना छोराको दुर्व्यसनको समस्या समाधान भई राहत पाएको भए तिनले मन्त्रीज्यूलाई घरघरबाट धन्यवाद दिनुपर्छ । जो दुर्व्यसनमा परेर मृत्यु कुरिरहेका छन् तिनले मन्त्रीज्यू र उनको अभियानबाट दुर्व्यसनमुक्त जीवन फिर्ता पाई नयाँ जीवन पाएको भए उहाँलाई धन्यवाद दिनुपर्छ । जो लाखौँ विद्यार्थी स्कुल कलेजमा लागूऔषधमा पर्न लागेका छन्, तिनीहरू यो अभियानबाट जोगिएका छन् भने तिनले यो अभियानलाई र सरकारलाई धन्यवाद दिनुपर्छ । तर, लागूऔषधविरुद्धको दिवस केवल औपचारिकताका लागि हो भने त्यस्ता औपचारिकता निभाउन दिएको मन्त्रीज्यूको उद्घोषको खासै केही अर्थ रहन्न । यस्तो अभियान संयुक्त राष्ट्रसङ्घको केही पैसा खर्च गर्न मात्र गरिएको मान्नुपर्छ वा संयुक्त राष्ट्रसङ्घको कार्यक्रमलाई औपचारिकता दिएको मात्र मान्नुपर्छ ।’
मैले यति भनेपछि च्यानलका रिपोर्टरले भने, ‘तपाईंको विचारमा अब के गर्नुपर्ला त ? के तपाईं आफ्ना विचार गृहमन्त्रीसमक्ष प्रस्तुत गर्न सक्नुहुन्न ? जवाफमा मैले भनेँ, ‘गृहमन्त्रीज्यूको काम नेपालीलाई दुर्व्यसनबाट जोगाउनु हो भने उहाँले पनि हामीलाई बोलाए हुन्छ वा हाम्रा कामहरू आफैं हेर्न आए हुन्छ । मलाई उहाँलाई भेट्न धेरैजनालाई बक्साउनुपर्छ । त्यसरी बक्साएर पनि समय पाइन्छ भन्ने छैन, तर म त सधैं उहाँका लागि उपलब्ध छु ।’ फेरि सञ्चारकर्मी प्रश्नकर्ताले सोध्नुभयो, ‘नेपालमा दुर्व्यसनलाई नियन्त्रण गर्ने तपाईंसँग के कार्यक्रम छ त ?’ मैले भनेँ, ‘कार्यक्रम बताएर केही फाइदा छैन, कार्यक्रम त थुप्रैले भनिरहेका छन् । मलाई सरकारले दुई वर्षका लागि ड्रग्स नियन्त्रण गर्ने जिम्मेवारी देओस् । त्यसका लागि मैले भनेझैं कर्मचारी र आवश्यक अधिकार देओस्, म मान्छेले अनुभव गर्न सक्ने गरी ड्रग्स नियन्त्रण गरेर देखाइदिन्छु । यो हो कि ड्रग्स पूर्ण रूपमा नियन्त्रण हुँदैन तर पनि म जनताले अनुमति गर्नेगरी नियन्त्रण गरिदिन्छु ।’
त्यस रात कान्तिपुर आज भन्ने कार्यक्रममा मैले दुई वर्षको समय र जिम्मेवारी मागेको कुरा प्रसारण भयो । मैले बोलेका सबै कुरा नअटाए पनि दुई वर्ष मागेको कुरा प्रस्ट आयो । भोलिपल्ट थुप्रैले मलाई फोन गरे र सोधे, ‘तपाईं यसरी आत्मविश्वासका साथ त्यो कुरा कसरी भनिरहनुभएको छ ?’ मैले भनेँ, ‘मलाई यो काम के हो – यसलाई कसरी रोक्नुपर्छ र त्यो काम कसरी गर्नु या गराउनुपर्छ भन्नेबारेमा स्पष्ट अवधारणा मात्र होइन कार्यक्रम बनाउने र लागू गराउने ज्ञान पनि छ । म त्यही काम गर्छुनेर मात्र यो जिम्मेवारी मागिरहेको छु, त्यसबाहेक यो जिम्मेवारीको आडमा मलाई अरू कुनै काम वा कुरा गर्नु छैन, त्यसैले म त्यो गरेर देखाइदिन्छु ।’
मैले टेलिभिजनमा जे बोले पनि सरकारका तर्फबाट कसैले मलाई त्यो जिम्मेवारी दिएनन् र त्यसबारे तपाईंको धारणा के हो भनेर पनि सोधेनन् । मैले पनि त्यसको आशा गरिनँ, किनकि मलाई थाहा छ यो मुलुकमा काम गर्छु गर्न सक्छु भन्नेहरूलाई मूर्ख ठान्ने मात्र होइन फुटेको आँखाले पनि हेर्न चाहेको देखिन्न । चाहे त्यो कर्मचारीतन्त्रमा होस्, चाहे राजनीतिमा वा उद्योग व्यवसायमा होस्, यस देशमा कोही कसैलाई प्रसंशा गर्न जान्दैनन् । कोही कसैको सम्मानमा उठेर ताली बजाउन चाहँदैनन् । कोही कसैको भलो चिताउँदैनन् । कोही कसैभन्दा आफूलाई कम ठान्न पनि चहँदैनन् । तर, यो कुरा पनि सही हो कि प्रत्येक मानिस समान क्षमतायुक्त हुँदैनन् । सबै अधिकृत नयाँ-नयाँ योजना गर्ने रचनात्मक गुण भएका हुन्छन् भन्ने पनि हुँदैन । सबै सचिव राष्ट्रका लागि केही योगदान दिएर जाऊँ भन्ने पनि हुँदैनन् । सबै प्रहरी प्रहरीको काम गरेर मात्र माथि पुगिन्छ भन्ने विश्वास राख्ने पनि हुँदैनन् । सबै नेता मुलुकको विकास र लोककल्याणकारी राज्य निर्माण गर्न भनेर राजनीतिमा लागेका पनि हुँदैनन् । अहिले यो मुलुकमा यही समस्या छ कि जो गर्छुन्छ जो सक्छु भन्छ, जो जसले वास्तवमै गरेर पनि देखाउन सक्छ, तिनले आफ्नो योग्यताअनुसार काम गर्ने मौकै पाएका छैनन् । तिनलाई त्यो मौका दिएको पनि छैन । हरेक स्थानमा केवल स्वार्थ, पैसा, नाता, राजनीति र दबाबले मात्र कसैलाई जिम्मेवारी दिइएको छ । यस्ता व्यक्तिहरू मुलुकका लागि केही गर्छुनेर आएकै हुँदैनन् । तिनलाई ल्याउनेले पनि यो व्यक्तिले यो पदमा बसेर मुलुकका लागि केही गरिदियोस् भनेर ल्याएकै हुँदैन । जो व्यक्तिका छनोट राजनीतिमा, कर्मचारीतन्त्रमा वा अन्य क्षेत्रमा कुनै खास लोककल्याणकारी राज्यको निर्माणमा सहयोगी होओस् भनेर गरिएकै छैन भने ती व्यक्तिहरूका कारण मुलुकले छलाङ लगाउला भनी विश्वास गर्नु दिवासप्नजस्तो मात्र हो । यस्तो बेलामा मन्त्री वा प्रधानमन्त्रीले पनि वाचा गर्ने, उद्घोष गर्नेबाहेक अरू के नै गर्न सक्छन् र – तर, वाचा वा उद्घोष मात्रले त मुलुकको विकास सम्भव छैन ।
यो सन्दर्भमा अब कुरा गरौँ नयाँ प्रधानमन्त्रीको । नेपालमा अहिले नयाँ प्रधानमन्त्रीको खोजी भइरहेको छ । एक साथीले मलाई फोन गरी प्रधानमन्त्रीमा प्रचण्ड र्फकन लागेको बताए । अर्का साथीले रामचन्द्र पौडेल आउँदै छन् भनेर बताए । कुरैकुरामा झलनाथ खनाल नै अबका प्रधानमन्त्री हुन् भन्ने कुरा पनि चल्यो । बाबुराम पनि बन्न सक्ने चर्चा चल्यो । शेरबहादुर देउवा र कुलबहादुर गुरुङ आउन सक्ने भन्ने तर्क पनि आयो । जसले जसलाई प्रधानमन्त्रीको रूपमा उम्मेदवार घोषणा गरे पनि वा ती प्रधानमन्त्री हुने कुरा चर्चा चलाए पनि मलाई भने यो कुराले पटक्कै अर्थ राख्दैन । किनकि, को आउँछ भन्नुभन्दा पनि के गर्नका लागि ऊ आउँदै छ भन्ने कुराबाट कसैको मूल्याङ्कन हुनुपर्छ भन्ने कुराको म पक्षपाती हुँ । हिजो प्रचण्ड भन्ने व्यक्ति प्रधानमन्त्री भएका थिए । सिङ्गो राज्य सञ्चालन गर्ने अवधि नौ महिना पाउनु कम ठूलो कुरा होइन । नौ महिनामा मुलुकका लागि ठूलाठूला योजनाको सुरुवात हुन सक्छ । मुलुकका लागि दीर्घकालीन विकासको रोडम्याप बन्न सक्छ । सयौँ नयाँ परियोजनाको सुरुवात वा शिलान्यास हुन सक्छ । तर प्रचण्डको पालामा भएको विकास के हो त – के तत्कालीन प्रधानसेनापतिलाई खोस्नुलाई नै मुलुकको ठूलो उपलब्धि मान्ने – के राष्ट्रपतिको विरोधमा समय बिताउनुलाई नै ठूलो उपलब्धि ठान्ने – मेरो विचारमा प्रचण्डको प्रधानमन्त्रीत्वकाल केवल औपचारिकतामा बित्यो, देशले केही पाएन । जब उनले देशलाई केही दिन सकेनन् भने अब फेरि उनी किन आउने ? रामचन्द्र पौडेल पनि यो देशमा उपप्रधानमन्त्री र गृहमन्त्री साथै सभामुख पनि भए । उनले देशका लागि गरेको, प्रहरी सङ्गठनको सुधारका लागि गरेको काम के-के हुन् त ? कुन कामका लागि उनलाई सम्झने ? उनी शक्तिमा भएको बेलामा उनका परिवार र नातागोताले अर्थलाभ गरेको वा आफ्नो हैसियत बढाउन सफल भएकोलाई नै उनको क्षमता मान्ने – यदि नमान्ने हो भने यी व्यक्तिले पनि देशका लागि केही गरेका छैनन् र पुनः उनले प्रधानमन्त्रीमा फर्किएर पनि केही गर्ने छैनन् । शेरबहादुर देउवा धेरैपटक प्रधानमन्त्री भए र प्रजातन्त्र पनि दरबारमा बुझाए । नेपालको समग्र विकासमा शेरबहादुर देउवाले ल्याएको ऐतिहासिक नीति के हो ? उनले गरेका ऐतिहासिक काम के हुन् । केवल सुदूरपश्चिममा चुनाव जित्न अलिअलि बाटो थपेका र आफ्नो सम्पत्ति उकासेको कामलाई नै उनको क्षमता मान्ने हो भने भन्नु केही छैन, नत्र मौका पाउँदा मुलुकका लागि केही गर्न नसक्ने व्यक्ति फेरि प्रधानमन्त्रीमा किन फर्किने ? झलनाथ खनाल कुन मन्त्रालयमा मन्त्री भएका थिए र तिनले मन्त्री हुँदा राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने के काम गरे, त्यो पनि पर्गेलिनु जरुरी छ । केवल अध्यक्ष भए भन्दैमा मुलुक चलाउने क्षमता उनमा हुन्छ भनेर मान्न सकिन्न । कुलबहादुर गुरुङ केवल कोइराला परिवारको छाया भएर मात्र नेता हुन सकेका व्यक्ति हुन् भनेर भनिन्छ । उनको राष्ट्रिय योगदान के हो – उनले काम गरेको ठाउँमा दीर्घकालीन असर हुनेगरी छोडेका योगदानका उदाहरणहरू के हुन् ? ती कुराहरूको अध्ययन हुनुपर्छ । केवल म प्रजातन्त्रका लागि लडेँ भन्ने मात्र योग्यता प्रधानमन्त्री हुनका लागि काफी हुँदैन ? प्रधानमन्त्रीले समग्र देश, समग्र पार्टीहरू, समग्र जातिहरू र समग्र भूमि र संस्कृतिको प्रतिनिधित्व गर्छ । त्यसैले यो समग्र राज्यको प्रतिनिधित्व गर्ने क्षमता अहिलेका प्रधानमन्त्री हुन खोज्नेहरूबाट पाउन सकिन्छ भन्ने मलाई लाग्दैन । केवल ती व्यक्तिहरूको व्यक्तिगत आकाङ्क्षा र आफ्नो उचाइ बढाउने लोभका कारणले मात्र तिनलाई देशको कार्यकारी प्रमुख बनाउनुहुन्न ।
मेरो विचारमा अबको प्रधानमन्त्री त्यस्तो व्यक्ति हुनुपर्छ जसले यो मुलुकको विकासका लागि र जनताको सुरक्षा तथा स्वतन्त्रताका लागि एउटा महत्त्वपूर्ण योगदान दिएको होस् । उसले दिएको योगदान घामजस्तै र्छलङ्ग होस् । उसलाई यो मुलुक कसरी चलाउनुपर्छ भन्ने कुरामा कुनै शङ्का नहोस् । त्यो व्यक्तिले सबैलाई मिलाई-मिलाई आफ्नो पद जोगाउनुपर्ने बाध्यता पनि नहोस् । त्यो व्यक्तिले देशलाई यहाँ पुर्‍याउँछु भनेर एउटा सपना आफू पनि देखोस्, जनतालाई पनि देखाओस् र त्यो सपना पूरा गर्न आवश्यक पर्ने योजना गर्ने खुवी पनि त्यसले कसैबाट सापटी लिन नपरोस् र त्यसका लागि आवश्यक पर्ने कार्यक्रमहरू कार्यान्वयन गर्न ऊ आफैं सक्षम होस् । कुनै पार्टीको अध्यक्ष, सभापति, क्षेत्रीय नेता, जातीय नेता भएकै भरमा प्रधानमन्त्रीको दाबेदार हुन त सक्लान् तर देशको प्रधानमन्त्री हुन गाह्रै पर्ला । देशको प्रधानमन्त्री हुन देशलाई माथि लैजाने अद्वितीय क्षमता चाहिन्छ । हिजोका प्रधानमन्त्रीहरू, मन्त्रीहरू, उपप्रधानमन्त्रीहरू भएकाहरूमा त्यो अद्वितीय क्षमता देखिएन । नयाँ हुन खोज्नेहरू पनि काविल भेटिएनन् । त्यसैले मेरो विचारमा अबको प्रधानमन्त्री जुनसुकै दल वा नागरिक समाजबाट भए पनि ४५ वर्षमुनिको होस् र ती व्यक्तिमा नेपाललाई विकासित मुलुकको हाराहारीमा पुर्‍याउन सक्ने अद्वितीय क्षमता र त्याग होस् । थोत्रा-मोत्रा, अक्षम-कायर, बूढा-बूढी, रोगी-अपाहिजहरूलाई आवश्यकताअनुसार सम्मान दिएर त राखौँ तर प्रधानमन्त्रीको जिम्मेवारीचाहिँ दिइनहालौँ है †