पाठ सिक्लान् नेताहरूले ?

पाठ सिक्लान् नेताहरूले ?


संविधानसभालाई आफ्नै नालायकीको नालमा बगाइसकेपछि आपसी हिलो छ्यापाछ्यापमा अल्झिएका राजनीतिक दलका नेताहरूले यतिबेला नयाँ ‘विजनेस’ फेला पारेका छन् । पूर्वराजाको एक अभिव्यक्तिलाई लिएर धमिलिएको राजनीतिक तलाउमा तरङ्ग ल्याउन उनीहरू उद्यत् देखिएका छन् । मुलुकमा जारी ‘सहमतीय राजनीति’को मुद्दा नै छोडेर पूर्वराजाको पछिल्तिर हात धोएर लागिपर्ने छाँटकाँट देखाउन थालेका दलीय नेतृत्वको रवैयालाई ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखानसँग दाँज्न सकिन्छ ।
मठ–मन्दिर तथा शक्तिपीठ धाउँदै पूजाआजा कर्मका लागि कहलिएका पूर्वराजा ज्ञानेन्द्र आफ्नो पूर्वनिर्धारित कार्यक्रमका साथ हालै पश्चिम तराईका केही मन्दिर तथा शक्तिपीठको यात्रा गरी राजधानी फर्किनुभयो । धार्मिक यात्राका क्रममा स्थानीय जनताले उहाँसँग साक्षात्कार गरे, राजा या राजसंस्थाका अनुयायीहरूले भक्तिभाव देखाए र राजसंस्था पुनस्र्थापन हुनुपर्ने जिकिरसमेत गरिदिए । गणतन्त्र स्थापनाअघि ‘लोकतान्त्रिक सुख–समृद्धि’को मीठो सपना देखेका तर आज त्यो सपना चकनाचुर भएको ठान्ने धेरैले पूर्वराजाप्रति आकर्षण र स्नेहभाव दर्शाइदिए । महङ्गी, अभाव, असुरक्षा, अराजकता र अन्योलपूर्ण राजनीतिका कारण थिल्थिलिएका सर्वसाधारणले राजा आऊ देश बचाऊ भन्नेसम्मका नारा नै उरालिदिए । हिजो निरङ्कुश राजतन्त्रको खिलाफमा आवाज उठाएकाहरूमध्येबाटै पनि पूर्वराजालाई ‘अभिभावकत्व’ लिइदिन आग्रह गरिएका प्रसङ्ग पनि सुन्नमा आए ।
यो सबै पूर्वराजाको चाहना, उत्प्रेरणा या प्रयासका कारणभन्दा पनि दलीय नेतृत्वको असफलता र मुलुकको अधोगतिका कारण आजित जनताको तप्काबाट स्वतःस्फुर्त नै प्रकट भएका हुन् भन्न सकिने प्रशस्तै आधारहरू छन् । नागरिक तहबाट यसरी आफूप्रति दर्शाइएको आशा–अपेक्षाको भाव प्रत्यक्ष अनुभूत गर्न पाउँदा पूर्वराजामा राजनीतिक महत्वाकाङ्क्षा कति जाग्यो या जागेन भन्ने अनुमान अहिले नै लगाउन हतारो ठहरिने भए पनि उहाँमा खुसी र गर्वानुभूूति पक्कै जाग्यो होला भन्न सकिन्छ । अध्यात्मको भाषामा सन्त, महात्मा वा त्यागी–तपश्वी पथ अङ्गीकार नगरिसकेको एक व्यक्तिमा कसैबाट प्रशंसा र स्वागत पाउँदा मनभित्र सुखदभाव पैदा हुनु कुनै अप्राकृतिक वा अस्वाभाविक पनि होइन । यस्तै सुखदानुभूति बोकेर बासस्थान फर्किनुभएका पूर्वराजाले त्यो खुसी मनभित्र बाँधेर राख्न सक्नुभएन र आमसञ्चारमार्फत व्यक्त गरिदिनुभयो । आफूसँग नेपाली दाजुभाइ–दिदीबहिनीहरूले ‘अभिभावकीय दायित्वबाट नपन्छन’ गरेको आग्रहलाई प्रसङ्गवश पूर्वराजाले खुलस्तै राखिदिनुभयो भने राजसंस्था पुनस्र्थापनको सवालमा जनमतसङ्ग्रह गरेर नेपाली–नेपालीबीच दुई ध्रुव खडा गर्ने पक्षमा आफू नरहेको धारणा पनि उहाँले प्रस्टसँग राख्नुभयो । सहज रूपमा नारायणहिटी छोडर गएपछि सार्वजनिक तवरमा सम्भवतः पहिलोपटक यसरी खुल्नुभएका पूर्वराजाको अन्तर्वार्ताप्रति सबैले चासो दर्शाए, चर्चा चलाए । पूर्वराजा ज्ञानेन्द्रको शक्तिपीठ–भ्रमण र राजधानी फर्किएर दिइएको सार्वजनिक अभिव्यक्ति–प्रकरणको सर्सर्ती देखिएको र सम्भवतः यथार्थ पाटो यत्ति मात्र थियो र यो कुनै नयाँ र विशेष कुरा पनि थिएन ।
यस सामान्य घटनालाई अहिले अत्यन्त असामान्य रूपमा चित्रण गर्ने तथा मुलुक र जनताले व्यहोरिरहेको वास्तविक समस्याबाट मुन्टो बटारेर फोस्रा विषयमै अल्झिने÷अल्झाउने उपक्रम दोहोर्‍याउन थालेका छन् प्रमुख राजनीतिक दलहरू । पूर्वराजाको सामान्य एउटा अन्तर्वार्तालाई आफ्नो अक्षमता र कमजोरी ढाक्ने हतियार तुल्याउने असफल प्रयत्न गर्दै छन् दलका नेताहरू । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुनसक्छ भन्ने तर्कको आडमा कुनै पूर्वाराजा या अर्कोलाई धारेहात तेस्र्याउँदैमा जनताको मुखमा माड लाग्नेवाला छैन भन्ने बुझ्नु अत्यावश्यक छ शासन–सत्ताको डाडुपन्युँ समाउने र डाडुपन्युँ हत्याउने प्रयासमा रहेकाहरूले ।
जनताले सबैको औकात र नियत चिनिसकेका छन् र प्रश्न गरिरहेका छन्– ‘लोकतान्त्रिक गणतन्त्रले दिने के यही दुरावस्था र सधैंको राजनीतिक किचलो मात्रै हो ? जातीय विद्वेष र विखण्डनको धराप थाप्नु नै लक्ष्य थियो त लोकतान्त्रिक आन्दोलनको ?’ के यसको चित्तबुझ्दो जवाफ दिने आत्मविश्वास छ आजको हाम्रा नेतृत्ववर्गसँग ? के पूर्वराजाबाट प्रेरणा लिने नैतिकता देखाउन सक्छन् नेताहरूले ? किनकि, पूर्वराजाप्रति बढिरहेको जनाकर्षणले आजका दल र नेताहरूलाई मेलमिलाप र सहमतिका साथ अघि बढ्नुपर्ने पाठ पढाइरहेको छैन र ?