भल्गर बोलेर गल्ती गरें

भल्गर बोलेर गल्ती गरें


हुन त सविना कार्की चलचित्र दुलही रानीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । तर, उनको चर्चा भने चलचित्र एटीएमबाट बढी भयो । अश्लील र विकृतिजन्य चलचित्रको रूपमा प्रचार पाएको एटीएमको एक पात्र हुन् सविना । देशदेखि विदेशसम्मका नेपाली चलचित्रपे्रमीले यो चलचित्र र यसमा आबद्ध कलाकर्मी एवम् प्राविधिकहरूको आलोचना हुन थालेपछि यतिबेला सविना पनि बेकारमा यस्तो फिल्म खेलिएछ भन्न थालेकी छिन् ।
० दुलही रानीजस्तो नेपालीपनको चलचित्र खेलेको मान्छे किन एटीएमजस्तो भद्दा
फिल्म खेलेको ?
– त्यो चलचित्रको यस्तो गलत प्रभाव पर्ला भन्ने नै सोचिएन त्यतिबेला ।
० किन र ? कथा पढिएन पहिले ?
– कथामा त त्यस्तो केही थिएन । आधुनिक चलचित्र भनियो । तर, आधुनिक पनि त्यस्तो आधुनिक होलाजस्तो लागेन ।
० त्यस्ता भद्दा संवाद बोल्न असजिलो लागेन ?
– केटी–केटी झगडा हुँदा त्यस्तो संवाद बोलियो तर अन्ततः त्यस्तो संवाद नै गलाको पासो भयो ।
० के–कस्ता प्रतिक्रिया आए त ?
– एटीएमको प्रोमो बजारमा आएपछि स्याबास भन्ने त कोही पनि भेटिएनन् । साथीभाइ र आफन्त सबैबाट छीःछीः मात्र भयो ।
० निर्माताहरू किन बनाउँछन् यस्ता फिल्म ?
– सस्तो चर्चा र दाम बढी कमाइएला भन्ने सोचेर ।
० कुरा हो रहेछ त ?
– त्यस्तो सोच गलत रहेछ । अब फिल्म पनि रिलिज नहुने भयो अनि बद्नाम पनि भइयो । अब हेर्नुस् त हामीजस्ता नयाँ कलाकारहरूको विजोग ।
० भनेपछि गल्ती गरेँजस्तो लागेको छैन ?
– किन नहुनु ? ठूलै गल्ती गरेँछु । अब यो कालो दाग मेटाउन निकै कोसिस गर्नुपर्छ । जोसमा होस नपुर्‍याउँदा अहिले पछुताइरहेकी छु ।
० एटीएममा आफूसँगै खेल्ने अरू कलाकारलाई के भन्ने इच्छा त छ ?
– म अरूको बारेमा भन्न सक्दिनँ । म मेरोबारेमा भन्छु कि मैले गल्ती गरेँ ।
० त्यस्तो फिल्ममा केका लागि काम गरिएको थियो । नाम या दाम ?
– हामी नयाँ कलाकार हौँ । त्यसैले अवसरका लागि सदा खोजीमा हुन्छौँ हामी । अवसर पनि यस्तो पाइयो कि क्यारियर नै डुब्ने अवसर हात लाग्यो । के थाहा यस्तो होला भनेर ।
० अब के छ नि नयाँ योजना ?
– केही नयाँ फिल्म खेल्दै छु । तर एटीएम जस्तो होइन । करोडौँ दिए पनि यस्तो
फिल्म खेल्दिनँ अब ।

चपली हाइट हिस्स मुनामदन मख्ख
नयाँ धार र नयाँ स्वादको नाममा सभ्य, शालीन अनि भद्र सिनेमाहरू निर्माण भइरहेको परिवेशमा आएका लुट र चपली हाइटले दाम कमाएको देखेपछि त्यही पथलाई अङ्गीकार गरेका केही सिनेकर्मीहरू यतिबेला ‘घर न घाट’ का भएका छन् । लुट किन चल्यो वा चपली हाइटलाई किन चलाइयो ? भन्ने कुराको सानो हेक्का पनि नराख्ने सिनेकर्मीहरूको दिमागमा यी दुई चलचित्रको व्यापारिक सफलताले फिल्ममा छाडा शब्द राखिनुपर्दो रहेछ भन्ने कुरा रामै्रसँग घुस्न पुग्यो । तर, त्यस्ता शब्दको आयु धेरै हुँदैन भन्ने कुरा यिनीहरूले बुझेनन् र त्यसपछि बनेका लक, नाइट क्विन, तँ त साहै्र सप्रिस् नि बद्री र द लास्ट किसमा विकृतिजन्य दृश्य अनि संवाद भरपूर राखियो । यसरी सिनेमाको नाममा समाज बिगार्ने र गलत संस्कारको विकास गर्न खोज्ने निर्माता–निर्देशकहरूले दर्शकहरूबाट यति थप्पड खाए कि व्यावसायिक रूपमा यिनीहरू अब उठ्न नसक्ने अवस्थामा पुगेका छन् ।
तपाईंले कुन चलचित्र बनाएको हो भनेर एक कार्यक्रममा प्रश्न राख्दा चपली हाइटका निर्माता अर्जुन कुमारले शिर निहुराएर भन्नुपर्‍यो कि मैले ‘चपली हाइट’ बनाएको हुँ । तर, त्यही कार्यक्रममा चलचित्र मुनामदनका निर्माता नवराज ढकालले गौरवकासाथ भन्न सके ‘मैले मुनामदन बनाएँ । अब मेरा नातिहरूले पनि यो फिल्मप्रति गौरव गर्न सक्छन् ।’ नवराजले यति मात्र भन्दा उता अर्जुनकुमार भने हिस्सा परिरहेका थिए । सिनेमा निर्माण भनेको केवल पैसा कमाउने मात्र होइन समाज र राष्ट्रमा आफ्नो गौरवपूर्ण उपस्थिति पनि हो । त्यसैले भविष्यमा लुट र चपली हाइटलाई दर्शकहरूले बिर्सने छन् मात्र होइनन् कि अहिले नै बिर्सिसके तर मुनामदन भने चिरष्मरणीय रहिरहनेछ । अनि लुट र चपली हाइटका केही कलाकारलाई रातारात स्टार पनि भनियो र लेखियो । तर, खै आज उनीहरूको चर्चा ? क्षणिक नाम र सान नभएर दिगो हुन सक्नुपर्छ । आज लुटका कलाकार हात खाली बसेका छन् तर बजारमा जीवन लुइँटेल, राजेश हमाल, राजबल्लभ कोइराला, रेखा थापा, झरना थापा र निशा अधिकारीलाई भ्याइनभ्याई छ । यसबाट बुझिन्छ कि स्टार को हो ?
पछिल्लो समय मूलधारका सिनेमा चल्न छाडे भनेर गलत हल्ला फैलाउने आफूहरूलाई पढेर, जानेर अनि फरक चलचित्रकर्मी भन्न लगाउनेहरूलाई चलचित्र रावण, अन्दाज र किन लाग्छ मायाले रामै्र झापड हानेको छ । लुट र चपली हाइटसँग जुधेको रावणले कलेक्सन मात्र होइन दर्शक पनि लुटभन्दा रामै्र पायो । दशौं वर्षमा एकपटक आउने लुटजस्ता सिनेमालाई प्रतिनिधित्व मान्दै त्यसैको बाटोमा हिँड्ने चलचित्रकर्मीहरू अहिले टाउकोमा हात राख्न बाध्य भएका छन् भने मूलधारमा नै फर्किएका छन् उनीहरू । त्यसैले पहिले त प्रमुख बाटो नै समात्नुपर्छ । अनि त्यसपछि मात्र हो गोरेटो र सानातिना बाटोतिर लाग्ने । आज पनि लुट र चपली हाइटमा मनपरी संवादभन्दा राजेश हमालको हे र रेखा थापाको लचकता नै बिक्री हुन्छन् ।

नयाँको तयारीमा सिर्जना
लोकगायन क्षेत्रको एक चर्चित नाम हो सिर्जना विरही थापा । विशेष गरेर ‘वनको काफल वनकै चरीलाई…’ बोलको गीतबाट चर्चामा आएकी हुन् उनी । छोटो समयमा नै लोकगायन क्षेत्रमा लामै चर्चा र सफलता हात पारेकी थापा स्टेजका कार्यक्रमतिर पनि रामै्र जम्ने गर्छिन् । गायनकै क्रममा थुपै्र मुलुकको भ्रमण गरिसकेकी थापाले केही समय दोहोरी रेस्टुरेन्टमा पनि आफ्नो कला प्रस्तुत गरेकी थिइन् । सिर्जनाले आफूले लेखेको पहिलो गीतबाटै अवार्ड पाएकी थिइन् भने त्यसपछि उनको व्यस्तता झाँगिँदै गएको थियो । यतिबेला सिर्जना नयाँ एल्बम ‘मलाई यति हुन लेखेको’ बजारमा ल्याउने तयारीमा छिन् ।

अभिनेता राणालाई पितृशोक
निर्माता तथा अभिनेता रोज राणालाई पितृशोक परेको छ । राणाका ६९ वर्षीय पिता खड्गबहादुर थापाको यसै साता निधन भयो । उहाँको उपचारकै क्रममा निधन भएको थियो । केही समयअगाडि स्वर्गीय थापा कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । रोज हाल पशुपतिमा नै किरियामा बसेका छन् भने उनलाई भेटेर समवेदना दिने कलाकर्मीको यतिबेला पशुपतिमा ठूलै भीड लाग्ने गरेको छ ।