पुरुषको हृदयमा धर्म हुँदैन भन्छन्-जुनु श्रेष्ठ

पुरुषको हृदयमा धर्म हुँदैन भन्छन्-जुनु श्रेष्ठ


केही समय टेलिभिजनमा काम गरेपछि जुनु श्रेष्ठ अहिले सिनेमाको हिरोइन बनेकी छिन् । उनले अभिनय गरेको चलचित्र हो ज्यान हाजिर छ, जुन चलचित्र अहिले रिलिज भइरहेको छ । पुराना कलाकर्मी बद्री अधिकारीले पत्याएकी नायिका जुनु अझै पनि चलचित्रभन्दा टेलिभिजनतिरै बढी चाख राख्छिन् ।
० कुन राम्रो, टेलिभिजन कि फिल्म ?
– मलाई त टेलिभिजन नै राम्रो लाग्यो । यसमा दिगो हुन सकिन्छ र प्रतिक्रिया पनि चाँडै प्राप्त हुन्छ ।
० कस्तो छ त ‘ज्यान हाजिर छ’बाट दर्शक प्रतिक्रिया ?
– साथीहरू त राम्रो छ भन्छन् तर वास्तविक दर्शकहरूबाट भने त्यति राम्रो प्रतिक्रिया पाएकी छैन ।
० पारिश्रमिक लिएर खेलेको कि सित्तैमा ?
– हामीजस्ता नयाँलाई टन्न पारिश्रमिक कसले दिन्छ र ? तर, जे होस् धेरै–थोरै पाएकै छु ।
० सधैं मनमा राखिरहने कुरा के हो ?
– भगवान्प्रतिको श्रद्धा । म माता दुर्गाको भक्त हुँ ।
० बाहिर हिँड्दा प्रायः कति पैसा बोकेर हिँडिन्छ ?
– त्यस्तै ७–८ हजार बोकिन्छ ।
० खर्च कत्तिको हुन्छ नि दिनमा ?
– म त्यति खर्च गर्दिनँ । तर, डे«समा भने खर्च हुन्छ ?
० कति हुन्छ लुगामा मासिक खर्च ?
– हरेक महिना दशदेखि बीस हजार खर्च हुन्छ ।
० कसरी पुगेको छ त त्यत्रो खर्च ?
– सायद भगवानको कृपाले होला ।
० भेट्न मन लागेको तर भेट्न नपाएको त्यस्तो कोही छ ?
– त्यस्तो कोही छैन । तर, यो कुरा आजको अवस्थामा असम्भव होला । मलाई भगवान् दुर्गालाई भेट्न इच्छा छ ।
० सर्लाही मलंगवाको मान्छे, काठमाडौं किन आएको नि ?
– म तीन वर्ष पहिले दिदीको घर काठमाडौं आएकी थिएँ । त्यसपछि यतै बसियो । बिनायोजना त्यतिबेला काठमाडौं आएकी थिएँ ।
० कसैको माया, पे्रम वा रूपले तान्यो कि ?
– तपाईंले भनेजस्तो कुराले तानेको छैन ।
० विवाहबारे के छ योजना ?
– त्यस्तो योजना बनाएकी छैन अहिले ।
० कोही छानेर राखेको छ कि ?
– त्यस्तो पनि छैन । छानेर राखेकी छैन अहिले । कोही त होला नि कुरेर बसेको ।
० बिहान उठ्दा पुरुष भइयो भने के होला ?
– पहिला त छक्क पर्थें । अनि मलाई दुःख लाग्दथ्यो ।
० किन नि पुरुष हुनुपर्दा दुःख ?
– म केटा हुन चाहन्नँ ।
० केटाप्रति यत्रो वितृष्णा किन नि ?
– एउटा भनाइ छ नि लोग्ने मान्छेको मनमा धर्म हुँदैन, त्यसैले ।

नो फाइट नो सेक्स भन्दा बद्री चुर्लुम्मै
एउटा भनाइ छ नि ‘सानो छँदा मर्ला भन्ने चिन्ता अनि ठूलो भएपछि मार्ला भन्ने चिन्ता ।’
बाबुआमाको आफ्ना सन्तानप्रति लक्षिण यो उखान आज पनि उत्तिकै सान्दर्भिक हुने गरेको छ । तर, यहाँ मर्ने र मार्नेभन्दा पनि अस्तित्वको प्रसङ्गसँग यो उखानलाई जोड्न लागिएको हो । पात्र हुन् पुराना कलाकर्मी चलचित्र निर्देशक बद्री अधिकारी अनि उनकै सुपुत्री यतिबेलाकी ‘हट केक’ बनेकी अभिनेत्री केकी अधिकारी ।
आफ्नै छोरीको लहलहैमा लाग्दा र विश्वास पर्दा बद्रीले दुःखले निर्माण गरेको चलचित्र ‘ज्यान हाजिर छ’ दर्शकहरूमाझ नराम्ररी पछारिन पुगेको छ । उनकी छोरी केकी पनि निकै बाठी । किनकि अरूको फिल्म खेल्न भ्याइनभ्याई भए तापनि नछोड्ने तर आफ्नै बाबुको फिल्ममा भने उनले सानो भूमिकासमेत खेलिनन् । किनकि उनलाई पहिले नै थाहा थियो कि ‘ज्यान हाजिर छ’ राम्रो हुने थिएन ।
अरू सिनेमाको छायाङ्कनको कारण देखाएर केकीले बाबु बद्री अधिकारीको फिल्म खेलिनन् तर पनि ‘प्रमोसन’मा भने साथ दिने वाचा गरिन् । छोरीको यो आश्वासनले पनि निर्देशक अधिकारीले केही राहतको महसुस गरे । पोस्टरमा चिनिने कुनै अनुहार नभएपछि निर्देशक बद्री अधिकारीले चिनिएकी केकीलाई प्रचारप्रसारमा साथ लिएका त थिए तर आफ्नै छोरीको सल्लाह नै गलत भइदियो । छोरीकै आइडियाअनुसार बद्रीले पोस्टरमा ‘नो कमेडी, नो सेक्स, नो फाइट र नो ड्रामा’ भनेर लेखे । तर यही भनाइ नै अन्ततः यो सिनेमाका लागि घातक सिद्ध भयो । सिनेमा हेर्न हलमा पुगेका दर्शक भन्न थाले, ‘यी कुराहरू केही पनि छैनन् भने किन हेर्ने त फिल्म ?’ दर्शकहरूको प्रतिक्रिया यस्तो आउन थालेपछि अन्ततः हलमा पनि ‘नो दर्शक’ भएपछि चलचित्र ‘ज्यान हाजिर छ’ को अस्तित्व मेटिन पुग्यो । सोझा कलाकर्मी बद्री अधिकारी आफ्नै छोरीको आइडियामा पर्दा नराम्ररी पछारिन पुगे । यदि आफ्नो बाबुको लगानी र अस्तित्वप्रति छोरीलाई माया थियो भने केकी आफैं पनि बाबुको फिल्म खेल्थिन् होला तर उनले खेलिनन् । बाबुको फिल्म खेल्दा दुःख धेरै गर्नुपर्ने अनि पारिश्रमिक माग्न पनि नमिल्ने कारणले गर्दा सुटिङ नै नभएको फिल्ममा आफू व्यस्त भएको गजबको बहाना निकालिन् उनले । एक समय टेलिभिजन र रंगमञ्चका हस्ती बद्री अधिकारीले कथा र बजारको समय बुझ्न नसक्दा पनि ‘ज्यान हाजिर छ’बाट आर्थिक घाटा सहनुपर्‍यो । फिल्ममा चिनिने अनुहार नहुनु पनि यो सिनेमाको माइनस प्वाइन्ट हो । बाबुलाई सल्लाह दिने छोरीले पनि यसतर्फ सल्लाह दिइनन् । बद्री अधिकारीलाई चिन्ने पुराना दर्शक हलमा नआउनु अनि नयाँ दर्शकले चिन्ने एउटा पनि कलाकार सिनेमामा नहुनुजस्ता प्रसङ्ग ‘ज्यान हाजिर छ’लाई दर्शकमाझ फ्लप बनाउने कडी सावित भयो ।
विषय त निर्देशक अधिकारीले राम्रै उठाएका थिए तर हलसम्म तान्ने अनुहार भएनन् । यता यो फिल्म केकीले खेलिदिएकी भए मात्र पनि व्यवसायमा केही प्लस भने हुने थियो ।

मेरो बद्नाम गर्न खोजियो
सबै छ यिनीसँग । उचाइ, आकर्षक अनुहार, मिलेको शरीर अनि आकर्षण । उसो भए के छैन त ? जवाफमा नायिका जेनिशा केसी भन्छिन्, चाकडी र चाप्लुसी गर्ने बानी छैन मसँग । त्यसैले पछाडि परेकी हुँ ।’
नायिका मौसमी मल्लले सिनेमाको रंगीन दुनियाँमा छिराएकी हुन् यिनलाई । मौसमी आफैंले बनाएको चलचित्र गिरफ्तारमा काम पनि रामै्र गरिन् यिनले र त्यसपछि अन्य सिनेमाहरूमा पनि खेलिन् जेनिशा । तर, अहिले उनको चर्चा गरम भइरहेको छैन । सेलाउँदै गएको छ– यो कुरा मान्दिनन् जेनिशा । उनले भनिन्, ‘म गरम पनि भएकी छैन र सेलाएकी पनि छैन । यहाँ गरम हुन खराब सिनेमा खेल्नुपर्छ तर, म त्यस्ता फिल्म खेलेर गरम हुन चाहन्न बरु सेलाउनुमा नै ठीक छ ।’
करिब एक दर्जनभन्दा बढी सिनेमामा काम गरिसकेकी छिन् जेनिशाले । यसबीचमा राम्रा र नराम्रा सबै अनुभव उनले संगालेकी छिन् । ‘यहाँ त कोहीसँग बोलेमा वा नजिक भएमा त्यसको अर्थ नै गलत लगाउँछन् । अनि नबोलेमा कस्तो गम्म भएर फुलेकी भन्छन् । अचम्म लाग्छ कि मन र व्यवहार बुझ्नै गाह्रो,’ यही हो जेनिशाको भोगाइ । अर्को कुरा, उनी पारिश्रमिकको मामिलामा पनि ठगिएकी रहिछिन् । यसबारे पनि उनले कुनै कुरा लुकाइनन् । ‘सुरुमा त आश्वासन र सम्मानका ठूला कुरा गर्छन् तर पछि पारिश्रमिक दिने मामिलामा भने गरिब अवस्था । दिक्क लागिसक्यो, कति सहनु,’ उनको तिक्तता छ ।
एकपटक एक नायकसँग आफ्नो नाम जोडेकोमा पनि जेनिशा दिक्क भएकी थिइन् । केही सिनेमामा सहयोग गरेका ती नायकसँग गलत रूपले आफ्नो नाम जोडेकोमा चित्त दुखेको बताउने जेनिशाले घटना र विचारसँग भनिन् । ‘कसैले सपोर्ट गर्छु भन्यो भने कसले पो नाइँ भन्छ र ? म त्यतिबेला नयाँ थिएँ र मलाई कसैको सहयोग पनि चाहिन्थ्यो । तर, त्यही कुरालाई गलत रूपले बजारमा चर्चा गरियो,’ जेनिशाले पुरानो कुरा कोट्याइन्, ‘खै त अहिले घामजस्तै छर्लङ्ग भयो नि उहाँ र मेरो सम्बन्ध । बेक्कारमा दुःख दिने काम भयो ।’

सङ्घर्षपछि पनि सङ्गीतमा सास्ती
एसियन म्युजिकका सञ्चालक ईश्वर गुरुङले सङ्गीत क्षेत्रमा सङ्घर्षको लामो यात्रा गरेका छन् । सङ्गीत उनको सानैदेखिको रुचिको विषय थियो । स्कुल पढ्दा पर्वतको श्री जनता सुदर्शन माविको वार्षिकोत्सव समारोहमा नाच्थे र गाउँथे । सानैदेखि उनी मादल र बाँसुरी बजाउँथे ।
एसएलसीपछि ईश्वर कलेज पढ्न भनेर पोखरा आए । पीएन क्याम्पसमा पढ्दा पनि कलेजका कार्यक्रममा उनी सहभागी हुन्थे । त्यसबेला पोखरामा विभिन्न साङ्गीतिक ब्यान्ड खुलेका थिए । मध्याह्न, ब्रोसिस, कन्दरा, लेकाली, परिवेश, देउरालीलगायतका ब्यान्ड चर्चित थिए । ईश्वर बजारमा नयाँ गीत आयो कि सुनिहाल्थे । सङ्गीतको त उनलाई नशा नै लागिसकेको थियो ।
त्यसै क्रममा केही साथीहरूसँग मिलेर ईश्वरले पोखरामै ‘पञ्चासे’ नामक ब्यान्ड स्थापना गरे । त्यो ब्यान्डको ‘पिउँदापिउँदै ढलेँ भने’ बोलको गीत खुवै चल्यो पनि । ब्यान्ड स्थापनापछि भने ईश्वर त्यसको व्यवस्थापन र बजारको खोजीमा लागे । साङ्गीतिक बजारको भविष्य खोज्दै उनी काठमाडौं आए । ब्यान्डका सहकर्मीले उनलाई नेता बनाएर काठमाडौं पठाएका थिए । काठमाडौंमा ईश्वर विभिन्न म्युजिक कम्पनीमा धाए । तर, उनले कुनै पनि कम्पनीबाट राम्रो रेस्पोन्स पाएनन् । एल्बम निकालिदिन आग्रह गर्दा सबैले ‘भोलि भोलि’ भनेर टारे । नयाँ कलाकार र ब्यान्डलाई स्थापित हुन गर्नुपरेको सङ्घर्ष उनले नजिकबाट भोगे ।
त्यसको १५ दिनपछि ईश्वर पोखरा फर्किए । त्यसबेला आफूलाई डीबी गुरुङले उत्साहित गरेको ईश्वर सम्झन्छन् । ‘डीबीदाइले सङ्घर्ष गर्नुपर्छ भन्दै मलाई र ब्यान्डका साथी मनोज गुरुङलाई फेरि काठमाडौं पठाउनुभयो,’ ईश्वर भन्छन्, ‘काठमाडौं आएपछि आफैं कम्पनी खोल्यौँ र पञ्चासे ब्यान्डको एल्बम लन्च गर्‍यौँ ।’
त्यसैबेला स्थापना भएको हो, एसियन म्युजिक कम्पनी । २०६१ सालमा स्थापित एसियन म्युजिक कम्पनीले सुरुमा धेरै सङ्घर्ष गर्नुपर्‍यो । अडियो सीडीका डिलरले नयाँ कम्पनीलाई विश्वास गर्दैनथे । नयाँ कम्पनीका सामान राख्दैनथे । एसियन म्युजिक आफ्नै प्रयासमा स्थापित हँुदै गयो । अनुभवले खारिँदै सफलता प्राप्त गर्दै गयो ।
सङ्गीत बजारमा केही हलचल ल्याउने धुनका साथ अघि बढिरहेकै बेला ईश्वर र उनको एसियन म्युजिक कम्पनी ‘पाइरेसी’को मारमा पर्‍यो । एल्बमका सीडी बिक्री हुन छाडे । सङ्गीत बजारमा मन्दी छाउन थाल्यो । प्रविधिले पारेको यो असरले ईश्वरलाई इन्तु न चिन्तु बनायो । कहाँसम्म भने नेपाल टेलिभिजनमा साङ्गीतिक कार्यक्रम सञ्चालन गर्ने क्रममा समेत उनले बाधा–अड्चनको सामना गर्नुपर्‍यो । ‘एनटीभीमा बिहानको साढे सात बजेको कार्यक्रमका लागि मैले टेन्डर जितेको थिएँ,’ ईश्वर सम्झन्छन्, ‘तर, पहिले कार्यक्रम चलाउनेहरूले मलाई एक्ल्याउन आन्दोलन नै गरेका थिए । पछि कानुनी रूपमा मेरो हात माथि थियो । अनुभव हँुदै गएपछि बल्ल यस क्षेत्रमा काम गर्न सजिलो हुँदै गयो ।’
अहिले सङ्गीत बजारमा पाइरेसी र सीआरबीटी चोरीले म्युजिक कम्पनीलाई खर्च धान्नै धौधौ परिरहेको ईश्वरको गुनासो छ । ‘श्रोता–दर्शक बढेका छन् । प्रविधि पनि छ । तर, प्रविधि र प्रतिभा भए पनि यसमा पैसा छैन,’ ईश्वर भन्छन्, ‘तैपनि भविष्य सुन्दर हुन्छ कि भनेर यसमा लागिरहेका छौँ ।’ सङ्गीत बजार सुधार्न कलाकार र कम्पनीबीच सहमति र समन्वय हुनुपर्ने ईश्वरको ठहर छ ।
हालसम्म पप, आधुनिक, भजन र लोकलगायतका गीतका एल्बम बजारमा ल्याइसकेको एसियन म्युजिकबाटै मिनु गैरे, अर्पणा श्रेष्ठ, सोनाम शेर्पा र निरोज लामाजस्ता प्रतिभा मात्र नभई चर्चित गायक विजय लामाले समेत एल्बम निकालेका छन् । यसक्रममा एसियनले विभिन्न नयाँ कलाकारका एल्बम निकालेर नयाँ प्रतिभालाई मौका दियो । ‘आफूले कलाकारका रूपमा भोग्नुपरेको कष्ट र सङ्घर्ष सम्झिएर मैले सदा नयाँ प्रतिभालाई मौका दिएँ,’ ईश्वर भन्छन्, ‘अहिले सङ्गीतको बजार सन्तोषजनक छैन । तर, मैले नयाँ कलाकारका सिर्जनालाई ठाउँ दिँदै आएको छु ।’ – हेमराज लम्साल