छिमेकी मित्रराष्ट्र भारतका १३ औं राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ प्रणव मुखर्जी निर्वाचित हुनुभएको छ । भारतीय इतिहासकै प्रथम महिला राष्ट्रपति प्रतिभा पाटिलको स्थान लिँदै ७६ वर्षिय नवनिर्वाचित राष्ट्रपति मुखर्जीले आज बुधवार आफ्नो ओहदाको सपथ ग्रहण गर्दैहुनुहुन्छ । भारतमा सरकारको नेतृत्व गरिरहेको काङ्ग्रेस पार्टीका वरिष्ठ नेता एवम् युपीए गठबन्धनको सरकारमा प्रधानमन्त्रीपछिको हैसियत राख्दै आउनुभएका मुखर्जी भारतीय राजनीतिमा अविच्छिन्न र प्रभावशाली भूमिकामा करिब पाँच दशक अवधि गुजारेका सीमित अनुभवी नेतामध्येमा पर्नुहुन्छ । सन् १९६९ मा पहिलोपटक भारतको माथिल्लो सदनका लागि निर्वाचित भएयता लगभग सर्वकाल नै भारतीय राजनीतिको शीर्षस्थानमा छाउँदै आउनुभएका मुखर्जीले वित्त, विदेश, रक्षा, गृह र बाणिज्यजस्ता विभिन्न मन्त्रालयहरूको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । राष्ट्रपतिको ओहदासम्मको राजनीतिक यात्राको सफलताका निम्ति मुखर्जीलाई उहाँको विद्वता, पार्टीप्रतिको निष्ठा, वफादारी र पार्टीको विश्वासले सघाएको विश्वास गरिन्छ । यसबाहेक कम बोल्ने, गम्भीर र मृदुभाषी स्वभावबाट विपक्षीलाई पनि वशमा पार्ने खुबी एवम् सङ्कटको अवस्थामा राजनीतिक गाँठो फुकाएर पार्टी र देशलाई नै सहज बाटोमा हिँडाउन सक्ने विशेष क्षमताले प्रणव मुखर्जीलाई महान् भारतको प्रथम नागरिकको दर्जा दिलाएकोमा शङ्का रहन्न । छिमेकी राष्ट्रहरूसँग बेलाबखत् पैदा हुने असहज या अप्ठ्यारा परिस्थितिमा मुखर्जीको कुटनयिक समन्वयकारी भूमिकाको भारतमा सबै पक्षबाट प्रशंसा गरिँदैआएको छ ।
छिमेकी भारतको शीर्ष ओहदामा प्रणव मुखर्जी आसिन हुनुभएबाट नजिकको छिमकी देश हुनुको नाताले नेपाललाई सुखानुभूति हुनु स्वाभाविक छ । विशेषतः मुखर्जी यस्ता भारतीय व्यक्तित्वमध्य पर्नुहुन्छ जसले नेपाललाई नजिकबाट नियाल्नुभएको छ, यसका सुख–दुःखका पाटा बुझ्नुभएको छ र नेपालप्रतिको आत्मीयताले ओतप्रोत हुनुहुन्छ । भारतको शीर्ष ओहदामा प्रणव मुखर्जीको आरोहणलाई विशेष महत्व र सुखद पक्षका रुपमा हेरिनुको तात्पर्य यही यथार्थका बीच खोज्नुपर्ने हुन्छ ।
नेपाल र भारतबीचको सदियौंको सम्बन्ध अन्योन्याश्रित प्रकृतिको छ । एकाघरका दाजुभाइको जस्तो नेपाल–भारत सम्बन्धका आयामहरू इतिहासका विभिन्न कालखण्डमा एकर्काको चाहना र परिस्थितिजन्य आवश्यकताका आधारमा निर्धारित भइआएका छन् । जो जति नजिक हुन्छ उनीहरूको कुम ठोकिन्छ र तिनैबीच सीमाविहीन आत्मीयता पनि हुन्छ भन्ने धारणाको जल्दोबल्दो उपमा पनि हो नेपाल र भारतबीचको सम्बन्ध । खुला सीमाले प्रदान गर्ने सहजता–असहजताहरूसँगै रोटी–बेटीको नाता मात्र होइन, सदियौं पुरानो सामाजिक, धार्मिक तथा सांस्कृतिक प्रगाढताले पनि दुई छिमेकीबीच कहिल्यै टुट्न नसक्ने सेतु खिचेको छ । यस यथार्थका माझ नेपालसँग गहिरो सद्भाव र स्नेह राख्ने व्यक्ति भारतको राष्ट्रपति निर्वाचित भएबाट दुईदेशबीचको सम्बन्धमा थप प्रगाढता आउने विश्वास गरिएको हो ।
त्यसो त भारतमा राष्ट्रपतिको ओहदालाई एक आलङ्कारिक पदका रुपमा लिइन्छ । तर, व्यवहारतः आलङ्कारिताको परिभाषामा सीमित नरही भारतीय राष्ट्रपतिले मुलुकको आन्तरिक तथा वाह्य मामिलामा समेत अहम् दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । आफ्ना छिमेकी तथा मित्रराष्ट्रहरूसँग सम्बन्धका सेतु खिच्ने या विदेशनीति तय गर्ने कार्य संविधानतः सरकारकै जिम्मेवारीमा पर्ने भएता पनि भारतीय राष्ट्रपतिको सोच–समझ या विवेकले उक्त विषयलाई प्रभाव नपारिरहन सक्दैन । यस अर्थमा प्रणव मुखर्जी नै छिमेकी भारतका राष्ट्रपति निर्वाचित हुनुमा नेपालले धेरै कोणबाट सन्तोष मान्नुपर्ने हुन्छ । किनकि, राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने क्षणसम्म नै भारतीय प्रधानमन्त्रीपछिको स्थानमा रहेर भारत सरकारको नीति निर्माणमा अत्यन्त गहन भूमिका निर्वाह गर्दै आउनुभएका मुखर्जी नेपालले यतिबेला राजनीतिक, आर्थिक तथा अन्य तवरमा व्यहोरिरहेको विषमावस्थाको जानकार हुनुहुन्छ । राष्ट्रपतिको स्थानबाट अब खेल्नुपर्ने भूमिकाका लागि नेपालको सन्दर्भमा कसैबाट सुसूचित भई धारणा बनाउनु पर्ने अवस्थामा मुखर्जी हुनुहुन्न । र, अझ महत्वपूर्ण त यो कि नेपालका राजनीतिक दल, नेतागण तथा समग्र राजनीतिक परिवेशसँग उहाँ आवश्यकताको हदसम्म परिचित नै रहनुभएको विश्वास गरिन्छ । राष्ट्रपति प्रणव मुखर्जीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वासका साथ उहाँ तथा छिमेकी मित्रराष्ट्र« भारत र समस्त भारतीय जनतालाई हाम्रो बधाइ एवम् शुभकामना ।
प्रतिक्रिया