वसन्तले लठ्याए प्रवासी नेपाली

वसन्तले लठ्याए प्रवासी नेपाली


basanta-chaudhary3नेपाली भाषा र साहित्यलाई विश्वमाझ पु¥याउने उद्देश्यले थालिएको कवि÷गीतकार वसन्त चौधरीको एकल विश्व काव्य यात्राको १६औँ शृङ्खला हालै जापानको टोकियोमा हालै सम्पन्न भएको छ । नेपाली राजदूतावास जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा भएको उक्त बृहत् काव्य यात्रामा जापानमा रहेका प्रवासी नेपालीका साथै केही जापानीको पनि उपस्थिति रहेको थियो । यसअघि संयुक्त अधिराज्य बेलायत, अमेरिका, दुबई, भारत, नेपाल, हङकङ र सिंगापुरका विभिन्न सहरमा कवि वसन्तले आफ्नो विश्व काव्य यात्राका विविध चरण पार गरिसकेका छन् ।
जापानका लागि नेपाली राजदूत मदन भट्टराईले स्वागत अभिवादन गरेको उक्त कार्यक्रमको सुरुवातमा कवि चौधरीको काव्यात्मक र साहित्यिक व्यक्तित्व झल्किने परिचयात्मक वृत्तचित्र देखाइएको थियो । कवि चौधरीले दर्शक–स्रोताहरूसँग अन्तक्र्रियात्मक शैलीमा कुरा गर्दै रोचक रूपमा एक दर्जनभन्दा बढी कविता वाचन गरेका थिए । प्रेमका कविता लेख्ने र प्रेम नै जीवन हो भन्ने कवि चौधरीलाई जापानका प्रवासी नेपालीबीच आगमनका लागि आयोजक अनेसासका अध्यक्ष आलोक चालिसेले धन्यवाद ज्ञापन गरेका थिए । नेपाली भाषामा स्नातकोत्तर गर्ने प्रथम जापानी नागरिक हिरोहितो नोजुले कार्यक्रम सञ्चालन गर्नु उक्त समारोहको अर्को रोचक प्रसङ्ग बनेको थियो ।
‘विश्वभर छरिएर रहेका हामी नेपालीबीच कुनै भेद छैन । हामी एउटै मुटुका धड्कन हौँ । कहिले त्यहाँ धड्किन्छौँ कहिले यहाँ । हामीले सुन्न सक्नुपर्छ ती आवाजहरूलाई, अनि बुभ्mछौँ यी आवाजमा एउटै सङ्गीत बजिरहेछ । अब म आप्mनो मुटुको आवाजलाई यहाँहरू सबैको मुटुको स्पन्दनसँग मिसाउँदै कवितामय साँझको थालनी गर्दै छु ।’ जापानस्थित टोकियोमा रहेका साहित्यप्रेमी प्रवासी नेपाली दर्शकदीर्घाबीच यसरी प्रस्तुत भएका थिए कवि/गीतकार वसन्त चौधरी–
म सन्देश लिएर आएको छु,
म संवाहक भएर आएको छु ।
तिम्रो लागि म
मातृभूमिको कोसेली बोकेर आएको छु ।
करोडौँ मनहरूले सङ्कल्प गरी पठाएको
विजयादशमीको
शुभकामना लिएर आएको छु ।

लुम्बिनीको न्यानो स्नेह छ
मेरो झोलामा
सगरमाथाको स्निग्ध शुभेच्छा छ
मेरो हत्केलामा
म बुद्धको ज्योति बोकेर आएको छु
पुशपतिनाथको प्रसाद लिएर आएको छु

ठाउँ फरक छ – परदेश हो
त्यसैले रीति र परिस्थिति पनि फरक छन्
तर साथी
नसा–नसामा विचरण गर्ने
रगत उही हो
र रगतमा बग्ने भावना उही हो
म त्यही रगतसँग
रगतको नाता
मिसाउन आएको छु ।

मनमा अनेकौँ शुभेच्छाहरू छन्
मुटुमा अटाई–नअटाई चुलीचुली शुभकामनाहरू छन्
बाँडेर नसिद्धिने उल्लास र खुसीहरू छन्
म ती सबैलाई बटुलेर
नेपाल आमाले पठाएकी
आशीर्वाद र स्नेह बोकेर आएको छु

म सन्देश बोकेर आएको छु
म संवाहक भएर आएको छु
तिम्रा प्रियजनहरूले पठाएको
सद्भाव र शुभेच्छाहरू लिएर आएको छु ।
म शुभकामना लिएर आएको छु ।

त्यसरी नै उनले राष्ट्रप्रेमले ओतप्रोत ‘मेरो देश’, प्रेमभावमै चुर्लुम्म डुबेका रचनाहरू ‘तिमीलाई किन सम्झिएँ’, ‘तिमी छौ, छैनौ’, ‘चिरन्त्तर प्यास’लगायतका दर्जनौँ कविताका साथमा केही नयाँ तथा केही पुराना गजल सुनाउँदै गर्दा दर्शकहरू लट्ठिएका थिए ।