जन्मको सार्थकता खोज्ने क्रम -प्रकाश के.सी.

जन्मको सार्थकता खोज्ने क्रम -प्रकाश के.सी.


आज मेरो जन्म दिन । मैले यस संसारमा पहिलोपटक टेकेको दिन । आँखा उघारेर संसारलाई चिहृयाएको दिन । यस संसारको खोँच, पहाड अनि समथरहरुमध्येको कुनै एक कुनालाई आफ्नो स्वामित्वमा रहेको प्रमाण दिएको दिन । खरबौं मानिसहरुजस्तै यो संसारमा आफ्नो उपस्थिति जनाई त्यसको भोगको हकदार भएको दिन । मैले वास्तवमा नै खुशी व्यक्त गर्नुपर्छ । यद्यपि, समस्याहरुका पहाडहरु ज्यूँका त्यूँ त्यहीँ सँगसँगै ठडिएका छन् । केलाउन पनि नपाएका रहरहरुका थुप्राहरु उस्तै नै गरी पेन्डिङ्ग परेर रहेका छन् । वास्तवमा मैले कम्तीमा, आजको दिन त खुशी हुनैपर्छ । चेरीले मनको अन्तरकुन्तरबाट शुभेक्षाहरु समेटेर ‘शुभकामना’ पनि दिइसकेकिछिन् । उनको भावनाको प्रशस्तै कदर गरेको छु । मेरो जन्मदिन, मात्र एउटा दिन नभएर जस्तो एक ‘उत्सव’ भएको होस् उनको लागि र म स्वतः पूज्य बनेको छु ।

यो निक्कै लामो, धेरै लामो अवधिपछिको समय हो । एक निक्कै ठूलो काल कटाइएको रहेछ, अहिले झसङ्ग हुने गरी वोध भएको छ । मेरो संसारमा मैले पाएको समयहरुभित्रका अहिलेसम्मका समयहरुले वास्तवमै भन्ने भए, हँसाउन सक्ने कारण जुटाउन नसके पनि कम्तीमा वर्षको यस्तो एक दिनचाहिँ, जन्मेर मैले यो संसारलाई निक्कै ठूलो गुण लगाएको जस्तै गरी रमाउने प्रयत्न गरेको छु । प्रकारान्तरमा उदासिनु त छँदै छ । निःशेषमा खोक्रिनु त छँदै छ । यो संसारलाई गुण लगाएको जस्तो, एउटै पनि चित्त बुझाउन सकिने कारण नदेखिएपछि, नभेटिएपछि, म मेरा हरेक पराक्रमी सोँचहरुसँगै आफ्नो देशमा झर्ने गर्दछु, आफ्नो क्षेत्रमा झर्ने गर्दछु र अन्त्यमा जिल्ला तथा गाउँ हुँदै आफ्नो परिवारभित्र पुग्ने गर्दछु । कम्तीमा ‘डाक्टर’, वा ‘इन्जिनियर’ बनेर परिवारलाई पनि गुण लगाउन नसकेको यथार्थवोध हुन्छ अन्त्यमा । त्यो घरका भित्ताहरुमा -मेरो जन्म जस्तो सूर्योदय होस्, मेरो जन्म जस्तो अर्को अध्यायको शुरुवात होस्, मेरो जन्म जस्तो सफलताको द्योत्तक होस्, एक दस्तावेजजसरी जन्म वर्षहरु टाँसिएका छन्, ठीक मेरा अभिभावकहरुका मनहरुमा पनि । मेरो जन्मको दिनको प्रकारान्तरमा उदासिनु त छँदै छ । निःशेषमा खोक्रिनु त छँदै छ ।

सत्तरीको दशक भनेको संसारमै सम्भावनाहरुको सकारात्मक दृष्टिलहरहरु फैलिएको समय थियो । गर्न सकिने प्रकारविशेषका पराक्रमहरु थिए । बनाउन सकिने विशेष-विशेष दृष्टिवोधहरु थिए । मेरो जन्मको सार्थकतालाई त्यो समय प्राप्त गर्न र मेरो त्यही प्रयासलाई सुचारु दिन म अनि मेरा अभिभावकहरु एकवद्ध थियौं । अभिभावकहरुका आँखामा म ‘डाक्टर’ अनि ‘इन्जिनियर’को स्वरुपमा रहेकोथिएँ भने मेरो आफ्नै आँखामा म, देशभित्रको समाजको रक्षक, पुलिसको रुपमा थिएँ । सत्तरीका दशकहरुमा दशकहरु थपिँदै जाने क्रममा मलगायत मेरा अभिभावकहरुका आँखाहरुमा रहेको मेरो आफ्नो स्वरुपहरु धमिलिएर चिन्नै नसकिने गरी विलाउन पुगेछ । लायकजस्तै भएको घडीमा म ती बाँच्नकै लागि साधारणतया संघर्षरत रहने लाखौंलाख मानिसहरुको भीडको एक अङ्ग मात्रै बनेछु काठमाण्डौमा । मेरो जन्मलाई एक ठूलो ‘उपलब्धि’ मानेर तात्तिएका घरका भित्ताहरु तताउनै नसकिने गरी चिस्सिएका थिए त्यसपर्यन्त, भन्ने आजसम्मको मेरो मान्यता रहेको छ । ख्वै ! कता भत्कियो, अनि बिग्रियो, पत्ता लगाउनै सकिएन छ ।

जन्म दिन जो हो, मैले खुशी मान्नु नै पर्दछ । चेरीको नजरमा भने आजको दिन एक किसिमको पर्व नै हो । वास्तवमा मैले अहिले भने सोँच्दै छु, ती हजारौं-हजार शुभकामनाहरु, शुभेक्षाहरुलाई मैले बिर्सन पक्कै हुँदैन । ती कामनाहरु मेरा आफ्नाहरुका मनहरुबाट पोखिएका हुन् । ‘सँधैजस्तै यो दिनको खुशीहरु लगातार आइरहून्’ भनिएका शुभकामनाहरुमा विश्वस्त रहन्छु, मैले ‘चिताएका पुगून्’ भनेर चिताइएका शुभेक्षाहरुप्रति समर्पित हुन्छु । यो बेग्लो कुरा हो कि, यत्तिका वर्षहरुपछि पनि मेरो त्यो विश्वास भने गुमेको छैन । एक दिन त कसो पूरा नहोलान् मैले चिताएका कुराहरु ! एक दिन त कसो निरन्तरता नदेलान् जन्म दिनको खुशीहरुले ! तथापि, कतिपय मेरा रहरहरु रहरिएरै बितेका छन्, कतिपय सपनाहरु असामयिक रुपमा ‘डेट-एक्स्पाएर्ड’ भएका छन्, कतिपय उत्कण्ठाहरु तात्तिन नपाई, सेलाएरै जमिसकेका छन्, तर जन्म दिन न हो, जस्तो मैले यो ठूलो संसारलाई ‘गुण’ लगाएको छु, जस्तै, म -‘म’ भएर मेरा आफन्तहरु, साथीहरुलाई ‘पूर्ण’ गराएको छु । आजको दिन त खुशीले मात्तिनु नै पर्छ ।

संसारको लागि, देशको लागि, क्षेत्रको लागि, अनि गाउँ हुँदै आफ्नै परिवारको लागि केही गर्नैपर्छ भन्ने आकाङ्क्षाका गर्दा-गर्दै अचानकै हङकङ पुगेको थिएँ । मैले मेरो भागको समय, केही हदसम्म फलिभूत भएको ठानेकोलगत्तै स्वाभिमानलाई लतारेर प्रवासी भई जीविकोपार्जन गरेपछि भने, मैले जहाँको त्यहीँ मनभित्रकै पराक्रमसँग थचारिएको ‘महशुस’ सो बेला गरेको विशेष अनुभव रहृयो मेरो । भन्ने पर्ने हुन्छ, नेपालीहरुको सानो समूहमा ‘समबडी’ बन्ने कोशिस नगरिएको होइन । नेपाललगायत हङकङेली परिवेशलाई छाम्न खोज्ने एक लेखक, पत्रकार बन्ने प्रयत्न पनि सोही समयमा गरिएका चेष्टाहरु हुन् । मेरा लेखाइहरुमा प्रवासिनुको पीडा घोलिएका हुन्थे भने स्वदेशका चिन्ता भरिएका हुन्थे । राजनीतिको घृणित खेलहरुको मैदानको रुपमा नेपाली जातीय सहिष्णुतालगायत पारम्परिक सामाजिक परिवेश रहन गयो । सँगै र साथै मानेर अँगालिएका कतिपय साथहरु अत्यन्तै ‘चिसो अनुभूति’को रुपमा रहन गयो । प्रकारविशेषले प्रकारान्तरमा नेपालीहरु रहन गएको अवधिको लहरमा नेपाल राजनीतिक रुपले अव्यवस्थित रहन गएको छ । संसारलाई गुण लगाएको जसरी जन्मेको मेरो जन्म अहिलेसम्मको मेरो समयमा मेरै परिवारलाई पनि गुण लगाउन सकेको एउटै पक्ष पनि नरहेको अवस्थामा आजको मेरो जन्म दिन पनि मलाई लाग्छ, त्यही अव्यवस्थित नेपालको राजनीतिक हालात जस्तै रहेको होस् । ‘जन्मनुको पीडा’ भन्छु म, सम्भावनाहरुलाई पछ्याउन छोड्न नसक्ने रहेछौं, रहेछु, हजारौं सह हङकङवासी नेपालीहरुसँगै अहिले यूकेमा छिरेको छु ।

जन्म दिन जस्तो पर्व होस् चेरीको लागि, उनको खुशीमा रमाउन सक्नैपर्छ मैले । जीवनमा वास्तवमा अहिलेसम्म शून्यताले नै पछ्याएको मेरो निचोड छ । सात समुन्द्रपारि छु । मेरा घरका आफ्ना भित्ताहरु झन् झन् जड हुँदै चिस्सिइँदै गइरहेका छन्, ठीक मेरा अभिभावहरुका मनहरुसँगै । सामाजिक वर्गीकरणका रेखाहरुले मेरो गाउँ, समाज, जिल्ला अनि क्षेत्र विभाजित भएका छन् । शान्त लाग्ने, सुन्दर देखिने देश नेपाल मलीन अनि मधुरो लाग्दै गएको छ । त्यही देश तथा समाजलाई सजाउनका लागि त्यही देशका विभिन्न माटोहरुमा सो देशलाई गुण लगाएजस्तै गरी जन्मिएका हजारौं-हजार जन्महरु यहाँ कसरी हुन्छ, समाहित हुने भन्ने ध्याउन्नामा छन् । त्यस्तै कम्तीमा आफ्नो परिवारलाई मेरो जन्मको गुण लगाएको पराक्रम जस्तो ठानिएको म अहिले अन्य हजारौं-हजार जन्महरुजस्तै यहाँ समूलतः भास्सिने तयारीमा छु ।

मेरो जन्म दिन हो आज, मैले खुशी रहनु नै पर्ने हुन्छ । विदेशी रातहरुले मेरा वर्षहरुलाई जति नै चिस्याएको किन नहोस्, प्रवासी वास्तविकताले मेरो उत्कण्ठाहरुलाई कति नै जड बनाएको किन नहोस्, पराक्रम भनेर कम्ती मैले स्वयंले पनि मान्न सक्ने पक्षहरुको अभाव आजसमको समयअवधिभित्र भए तापनि, जन्म दिन न हो, मैले यस संसारमा जन्मेर यस संसारलाई गुण लगाएको ठान्नै पर्ने हुन्छ, यथार्थमा मेरो अस्तित्व शून्यस्वरुपको किन नहोस् । मेरो जन्म दिन हो, चेरीलाई जस्तो पर्व भएको छ ।-वूडग्रीन, लण्डनबाट