कार्तिक २१ काठमाडौं । झण्डै एक शताब्दी नजिक पुग्नुभएका कवीरमार्गी सन्त सचेत साहेबको २० गते शुक्रवार देहान्त भएको छ । उहाँको ९७ वर्षको उमेरमा कवीर सत्सङ्ग आश्रम बानेश्वर काठमाडौंमा शरीर शान्त भएको कवीरसन्त आदर्श साहेबले न्यूज टिमलाई गराउनु भएको छ ।
महात्मा सचेत काठमाण्डौको दहचोकमा वि.सं. १९७५ चैत्र १५ मा जन्मिनु भएको थियो । व्यवहारिक जिम्मेवारीलाई समेत सम्पन्न गर्नु भएका उहाँले श्री आज्ञा साहेबज्यूबाट दिक्षीत भई चालीस वर्षसम्म अनबरत् गुरुसेवामा बिताउनु भएको थियो । परमार्थ पथमा चल्न सिकेका उहाँको मन अन्ततोगत्त्वा साधनामय जीवनमा अवस्थित थियो । सन्त कवीरका मानवतावादी सोँचहरूलाई अहिंसा–धर्मको माध्यमबाट जन–समाजमा ज्ञानप्रकाश छर्ने काम गर्दै आउनु भएका साहेबले “सेवा नै मूल धर्म हो” भन्ने भावनाले सन्त कबीरको मूल रचना ‘बीजक’ प्रकाशन एवं आश्रमको भौतिक संरचनाको विकासमा विशेष योगदान पुर्याउनु भएको बताइएको छ ।
आश्रमले बताए अनुसार उहाँको स्वास्थ्यमा खासै रोग नभएर पनि वृद्ध अवस्थाको कमजोरीले लगभग अठार महिनादेखी बढी समातेको थियो । उहाँका शिष्य गणको अनुसार देहभावबाट माथि उठ्नु भएका उहाँमा कष्टको भाव देखिँदैनथ्यो । हरसमय द्रष्टा भावमा नै एकचित्त रहेर भक्तजनलाइ आफूलाई चिन्न–जान्न र सजग हुन खास उपदेश दिनुहुन्थ्यो । आगामि दिनमा कबीर अनुयायी एवम् समाजले महात्म सन्त सचेत् साहेबको न्यानो प्रेम–स्नेह र उपदेशको प्रत्यक्ष अभाव महसूस गर्ने बताएको छ ।
उहाँको पार्थिव शरीरलाई शिवपुरी जलाधारक्षेत्र स्थित विशालधाम तारकेश्वर मन्दिरको प्राङ्गणमा समाधिस्थ गरिएको कवीरमार्गी परिवारले बताएको छ ।
-देवर्षि,
प्रतिक्रिया