देश साझा बनाऊ

देश साझा बनाऊ


Ramsukul Mandal
:: रामसुकुल मण्डल

मुलुक अहिले गम्भीर मोडबाट गुज्रिरहेको छ । मुलुकले नयाँ संविधान त पायो तर, मुलुकका आधा जनसंख्याको भावना र मर्मलाई संविधान नसमेटिएकै कारण आज भयावह स्थिति देखा परेको छ । वर्षौंदेखि मधेशी समुदाय आफ्नो पहिचान, अधिकार र सम्मानका लागि संघर्ष गर्दै आएका छन् । कुनै पनि देशको आधुनिकीकरणका लागि त्यहाँको राज्य सत्ता राजनीति, सुरक्षा निकाय, प्रशासन विकास निर्माणका काम वैदेशिक रोजगारमा समेत त्यहाँको जनसङ्ख्यामा देखिने जातीय, भाषिक, क्षेत्रीय, सांस्कृतिक, धार्मिक आदि आधारमा जनसङ्ख्यामा देखिने विविधताको समानुपातिक सहभागिता अपरिहार्य हुन्छ । नेपालका इतिहासमा विभिन्न समय राणाकाल र प्रजातन्त्रकालमा मधेशको राजनीतिक चेतन स्मरणीय छ ।

त्यस्तै, २०१७ साल, २०३६ साल, २०४७ साल र २०६२-६३ सालमा मधेशी समुदायको केन्द्रीय सामन्तवादको विरूद्ध धावा बोल्न अग्रणी स्थानमा रहेको पाइन्छ । राजनीतिक परिवर्तनका सन्दर्भमा प्रायः आन्दोलनको उद्गम स्थल मधेश नै रहँदै आएको छ । वि.सं. २०६३ को ऐतिहासिक मधेश विद्रोहका कारण नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा लैजान महŒवपूर्ण भूमिका रह्यो । संविधानसभाको निर्वाचन २०६४ चैत २८ गते पछाडि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसक्दा पनि मधेशीहरू आफ्नो अधिकार सुरक्षित नदेख्नु दुर्भाग्य हो ।

आफ्नो जायज मागका लागि तीन महिनादेखि आन्दोलनरत् मधेशी, जनजाति, आदिवासी, मुस्लिम, थारूलगायत उत्पीडित समुदायको मागलाई राज्यले पूर्ण बेवास्ता गर्दै आएको छ । मधेशीको आन्दोलनलाई भारतीयको आन्दोलन भनेर अपमान गरिदैं छ । नेपाली मधेशी समुदायको भारतका जनतासँग सामाजिक, सांस्कृतिक, आर्थिक लगायत थोरै भए पनि राजनीतिक सम्बन्ध प्रगाढ देखिन्छ । नेपाली मधेशी समुदायको भाषा संस्कृति, रीतिरीवाज, खानपिन, रहनसहन, वेशभूषा, लगायत हाडनाता सम्बन्ध भारतीय जनसमुदायसँग मिल्ने तथा निरन्तर आवतजावत हुने परम्पराका कारण नेपालका मधेशी समुदाय र भारतीय जनसमुदायसँगको सम्बन्ध भावनात्मक रूपमा नजिक छ । तर, मधेशीलाई हेर्ने भारतीय दृष्टिकोणमा परिवर्तन हुन जरूरी छ ।

नेपालमा राजा जनक, भगवान गौतम बुद्ध, राजा विराटलगायतका ऐतिहासिक र पौराणिक कालदेखि नै बसोबास गर्दै आएका समुदायलाई भारतीय र जनकपुर, लुम्बिनी, सिम्रौनगढलगायतका ऐतिहासिक स्थलहरूलाई नेपालमा भन्ने मानसिकता त्याग्नुपर्छ । यदि यी ऐतिहासिक स्थानहरू नेपालभित्रै पर्छ भने त्यहाँका बासिन्दा पनि नेपालकै एउटा समुदाय हो भन्ने कुरा बुझ्नुपर्छ । मधेशीहरूले मधेशलाई अलग राष्ट्र होइन कि अधिकार सम्पन्न स्वायत्त प्रदेश चाहन्छन् । तर, मधेशीलाई विखण्डनकारी भन्नु आफैमा दुर्भाग्य हो । मधेशीहरूको आन्दोलनलाई यसरी नै बेवास्ता गर्दै जाने हो भने त्यसले निम्त्याउने परिणाम दुःखद हुन्छ । यदि यहाँका शासकहरूले मधेशीलाई नेपाली ठान्दैन भने बाध्य भएर विकल्प खोज्न थाल्छन् र त्यो विकल्प अलगाववाद पनि हुनसक्छ ।

नेपालका अंगहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र पत्रकारितामा वर्षौंदेखि एकछत्र राज गरिरहेका खस शासकहरूले बेलैमा सचेत भई मधेशलाई न्यायोचित सम्बोधन गर्नुपर्छ । होइन भने यसले निम्त्याउने परिणाम मुलुकका लागि अत्यन्त दुःखदायी हुनेछ । मधेशी नेपालभित्रै आफ्नो पहिचान र सम्मानसहितको अधिकार खोज्दैछन् । देशका हरेक निकायमा आफ्नो समानुपातिक प्रतिनिधित्व चाहन्छन् । आम नेपालीसरह बाँच्ने अधिकार खोजिरहेका छन् । समग्रमा मधेशीहरू साझा नेपालको परिकल्पना गरेका छन् । त्यसैले साझा नेपाल निर्माणबाट नै नयाँ नेपालको उज्ज्वल भविष्य हुनेछ ।