खेलाडीमाथि राज्यविरुद्धको अभियोग किन ?

खेलाडीमाथि राज्यविरुद्धको अभियोग किन ?


Suspended skipper Sagar Thapa
:: श्रीविक्रम भण्डारी

‘म्याच फिक्सिङ’ अर्थात् खेल मिलेमतोको आरोपमा करिब एक महिना प्रहरी हिरासतमा रही गत साता धरौटीमा मुक्त भएका खेलाडीले रिहापश्चात् आफू निर्दोष भएको दाबी गरेका छन् । अन्य चारजनाले कुनै प्रतिक्रिया नदिए पनि पूर्वकप्तान सागर थापाले आफूहरू निर्दोष भएको र यसको फैसला अदालतले गर्ने सञ्चारकर्मीलाई जानकारी गराएका थिए । प्रहरीको बयानमा आफूहरू म्याच फिक्सिङमा रहेको र रकम लिएको स्वीकार गरेका थापाले धरौटीमा रिहा भएलगत्तै आफूहरूलाई निर्दोषको प्रमाणपत्र कसरी दिए त्यो अहिले रहस्यमय बनेको छ । प्रहरीले दिएको जानकारीअनुसार यी आरोपित चारजना खेलाडी र प्रशिक्षक सन् २००८ देखि म्याच फिक्सिङमा संलग्न थिए । यिनै प्रमाणको आधारमा प्रहरीले यिनीहरूलाई पक्राउ गरेर बयान लिएको थियो । तर, विडम्बना † राज्यविरुद्धको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिए पनि खेल मिलेमतोको कानुनको अभावमा अदालतले उनीहरूलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।

म्याच फिक्सिङमा संलग्न रहेको स्वीकार गरे पनि प्राय: मौनता साँघेका खेलाडीलाई सरकारी वकिलको कार्यालयले आखिर राज्यविरुद्धको अभियोग किन लगायो ? त्यो अहिले बुझ्न सकिएको छैन । खेलाडीलाई कारबाही गर्ने मनसाय भएको भए कदापि यस्तो प्रकृतिको मुद्दा दायर हुने थिएन । यसर्थमा कि जुन देशमा पहिलोपटक यस्तो घटना घटेको छ र त्यसको समाधानका लागि कानुनमै व्यवस्था छैन भने राज्यविरुद्धको अभियोग आफँैमा प्रश्नवाचक बनेको छ । यसको अलावा मुलुकमा विद्यमान ऐन–कानुनबमोजिम यस्तो प्रक्रियासँग मिल्दोजुल्दो मुद्दा लगाइएको भए आरोपित खेलाडीलाई अवश्य कारबाही गर्न सजिलो हुन्थ्यो । जस्तो यी खेलाडीलाई ‘जुवाडे’ भन्दै मुद्दा दायर गरिएको भए सोहीअन्तर्गत कारबाही गर्न सकिन्थ्यो । तर, यहाँ यसो गरिएको छैन, सोझै आरोपित खेलाडीलाई बचाउन राज्यविरुद्धको अभियोग लगाइएको छ । जुन खेलाडीलाई कारबाही नभई बचाउ गर्न दर्ता गरिएको मुद्दा मात्र हो । जुन भोलि हात्ती आयो हात्ती आयो फुस्सा हुने प्राय: निश्चित छ ।

मुलुकको कानुनले जसलाई सम्बोधन गर्दैन, त्यसलाई कसरी राज्यविरुद्धको अभियोग लगाउन सकिन्छ ? यहाँ ठूलो चुक भएको छ । कानुनले चोरलाई चोर नै भन्छ भने डाँकालाई डाँका नै । तर, आरोपित खेलाडीका हकमा दायर गरिएको मुद्दाले त्यस्तो कुनै सङ्केत गर्दैन । यो केवल मुद्दा दायर गर्नका लागि दायर गरिएको मुद्दाजस्तो मात्र देखिएको छ । यहाँ हात्तीको देखाउने दाँतको चर्चा मात्रै गरिएको छ, खाने दाँतको सत्यतालाई लुकाउन खोजिएको छ । साँचो रूपमा भन्नुपर्दा खेलाडीमाथि दायर गरिएको मुद्दामा कुनै दम छैन । तसर्थ उनीहरू आज धरौटीमा छुट्दा टीका र खादा मात्रै छन् भोलि अदालतबाट सफाइ पाउँदा बेन्डबाजा बजाएर घर फर्किने छन् । उनीहरूमाथि लागेको आरोप मिथ्या अर्था्त झुटो सावित हुनेछ । फेरि तिनै खेलाडी राष्ट्रको गहनाको रूपमा परिचित हुनेछन् । उनीहरूले गरेको यो हर्कत पर्दा पर्नेछ । त्यस्तै परे फेरि उनीहरू फुटबलको मैदानमा समेत देख्न सकिनेछन् । किनकि यो नेपाल हो यहाँ जे पनि हुनसक्छ । साँचो रूपमा भन्नुपर्दा नेपालको कानुन हुनेखानेलाई लाग्दैन, यो गरिब र निमुखालाई मात्र लाग्छ । भारतका चर्चित क्रिकेटर नवजोदसिंह सिद्धुले भनेका थिए, ‘क्रिजमा टिकिराख्नुपर्छ, रन त आफसे आफ बन्छ ।’ त्यसैले समयको प्रतीक्षा गरौँ, वास्तविकताको दृश्यालोकन अवश्य हुनेछ ।

यतिबेला कप्तान सागर थापालगायत अन्य तीनजना खेलाडी र प्रशिक्षक फुटबलका खेलाडी नभई ‘झेलाडी’ भएको म्याच फिक्सिङ प्रकरणले छर्लङ्ग पारेको छ । उनीहरूले फुटबलको मात्र नभई सिङ्गो राष्ट्रको अन्तराष्ट्रमा बदनाम गरेका छन् । अर्को कुरा फुटबलप्रति नकारात्मक सोचको विजारोपण गरिदिएका छन् । त्यस्तै उदीयमान खेलाडीको मानसपटलमा फुटबल खेल्ने कि नखेल्ने भन्ने द्विविधा पैदा भएको छ । अभिभावकमा फुटबलप्रति शङ्का र सन्त्रास उत्पन्न भएको छ । र पनि, सागर थापाले आफू निर्दोष छु, फुटबललाई माया गर्न नछोड्नुहोला भन्नुको तात्पर्य के हो ? यो कुरामा ठूलो रहस्य लुकेको छ । अन्यथा आफूलाई निर्दोष सावित गर्न थापाले यो घटनाबारे मुख खोल्न सक्नुपथ्र्यो । पर्दापछाडिका मुख्य खेलाडीको पर्दाफास गर्ने आँट र साहस देखाउनुपथ्र्यो । सबैलाई थाहा भएकै कुरा हो, खेलाडी मात्र यो खेलमा संलग्न छैनन् । यो खेलमा एन्फाका पदाधिकारी पनि संलग्न रहेको प्रहरीले जानकारी गराइसकेको छ । यस्तो अवस्थामा कप्तान थापाले मौनता साँध्नुको अर्थ आफैँमा प्रश्नवाचक बनेको छ । थापाले बिर्सिएर पनि गर्नु नहुने एउटा सङ्गीन गल्ती गरिसकेका छन् । अब उनी दोस्रो गल्ती गर्दै छन्, यो प्रकरणमा संलग्न व्यक्तिहरूलाई ढाकछोप गरेर । यदि भोलि ती व्यक्ति कानुनी हिरासतमा पर्दा र यो प्रकरणको पर्दाफास गरेको अवस्थामा थापा कहीँको नरहने प्राय: निश्चित छ । यसकारण कि प्रहरीले त्यस्ता पदाधिकारीको पहिचान गरिसकेको जनाएको छ । प्रहरी प्रमाण पुग्नासाथ उनीहरूलाई हिरासतमा लिने र कारबाही अगाडि बढाउने भनिसकेको छ । त्यसैले आफू बलिको बोका भन्नुभन्दा पहिले थापाले सयौँपल्ट फुटबलको भविष्यलाई सोचेर त्यस्ता व्यक्तिको पर्दाफास गर्नुपर्ने जरुरी भइसकेको छ । अन्यथा भोलि कलङ्कित जीवन बिताएर रामराम भन्ने अवस्थामा पुग्नुभन्दा यो खेलका मुख्य नायकको नकाव हटाउनु नै थापाको स्वास्थ्यका लागि राम्रो हुनेछ ।

धरौटीमा रिहा हुनु आरोपबाट छुटकमरा पाउनु अवश्य होइन । किनकि मुद्दाको छिनोफानो नहुन्जेलसम्म त्यो अपराधी नै हुन्छ अर्थात् कानुनको नजरमै हुन्छ । यस्तो अवस्थामा कानुनलाई नजरअन्दाज गर्न पनि मिल्दैन । तसर्थ धरौटीमा रिहा हुने आमकुरा हो भने सफाइ पाउनु अर्कै । एउटा कथन छ, ‘जुन औँलामा विष लाग्यो त्यही झर्छ ।’ यदि थापा निर्दोष छन् भने अर्काका लागि आफ्नो बलि किन दिइरहेका छन् त ? प्रश्न गम्भीर छ । थापालाई राम्रोसँग थाहा छ, यो मिलेमतोको खेलमा को–को संलग्न छन् । तर, उनी के कारणले हो बताउन चाहिरहेका छैनन् । सबैलाई थाहा छ, थापाले मुख खोले लहरो तान्दा पहरो गर्जिने । यसैले होला थापा कसैको इसारामा कठपुतली बनेका छन् । जसले म्याच फिक्सिङका बेला खेलको मैदानमा उनलाई जसरी नचाएको थियो अहिले पनि नचाइरहेको छ । थापालाई अहिले पनि डर, त्रास र सन्त्रास एकातिर देखाइएको छ भने अर्कोतर्फ ललिपप देखाएर लोभी–पापी बनाइरहेको छ । जुन उल्झनबाट थापा बाहिर निस्कन सकेका छैनन् । यस्तो अवस्थामा अदालतको फैसला नै थापाका लागि अन्तिम अस्त्र बनेको छ । यदि उनले यसमा पार पाए भने उनको मुख सदाका लागि बन्द हुनेछ । त्यसअघि उनले बोल्ने एउटै शब्द हुनेछ – ‘हामी निर्दोष छौँ ।’