राजदूतहरुले सुने शरणार्थीका करुण कथा

राजदूतहरुले सुने शरणार्थीका करुण कथा


Bhutanese
काठमाडौं । झण्डै अढाइ दशकदेखि नेपालले झेल्दै आएको भुटानी शरणार्थीे समस्या र त्यसको समाधान गर्न विश्व समुदायले गरेको सहयोगको प्रधानमन्त्री केपी शर्मा ओलीले सराहना गरेका छन् । तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत एक लाख भुटानी शरणार्थीलाई विश्वका आठ मुलुकमा सफलतापूर्वक पुनर्वास गरिएको सन्दर्भमा काठमाडौंस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले बिहिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भूटानी शरणार्थी समस्या नेपालको मात्र चिन्ता र चासोको विषय नभई समग्र विश्वकै समस्या भएको उल्लेख गरे । उनले यतिबेला करिब १८ हजार भुटानी शरणार्थी नेपालमा रहेका र तिनलाई पनि सोही कार्यक्रमअन्तर्गत पुनर्वासको व्यवस्था गर्नुपर्ने धारणा अघि सारे । “हामी भूटानी शरणार्थी समस्या समाधान गर्न चाहन्छौँ, यो साझा समस्या भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न नेपाल सरकार तत्पर छ,” शरणार्थी पनि विश्व परिवारका सदस्य भएका उल्लेख गर्दै प्रधानमन्त्रीले भने ।

विगतमा भुटानी शरणार्थीलाई ससम्मान घर फर्काउन धेरै चरणमा भूटान सरकारसँग वार्ता भएको तर त्यसले कहिल्यै निकास नपाएपछि आफू उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री हुँदा तेस्रो मुलुक पुनर्वासको नयाँ सोचका साथ अन्तर्राष्ट्रिय जगत्सँग छलफल चलाएको र त्यसैको परिणामस्वरुप आज एक लाख शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापित भएका पनि प्रम ओलीले स्मरण गराए । उनले परराष्ट्र मन्त्रालयको कार्यभार आफूले सम्हालेको समयमा नै अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन नेपालमा स्थापना भई त्यसले शरणार्थी समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सन्दर्भ पनि प्रकट गरे । दक्षिणी भुटानबाट बलपूर्वक लखेटिएका नेपाली भाषी भुटानीलाई नेपाल सरकारले मानवताका आधारमा शरण दिएको बताउँदै प्रधानमन्त्री ओलीले भारतको बाटो भएर आएका उनीहरूलाई नेपालले नाका बन्द गरेर आउन नदिन सक्नेमा त्यसो नगरेको गुनासो गरे ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र अष्ट्रेलियाली राजदूत क्रमशः अलाइना टेपलिट्ज र ग्लेन ह्वाइटले एक लाख शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन सक्नु ठूलो उपलब्धि भएको बताउनुभयो । राजदूतद्वयले नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज, स्थानीय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा एक लाख शरणार्थीको व्यवस्थापन गर्न सम्भव भएको चर्चा गरे । कार्यक्रममा सात वर्षअघि अमेरिकामा पुनःस्थापित भएका दिलीप दाहाल र चाँडै नै उक्त मुलुक जान लागेकी देवीमाया थापाले आफूहरूले शरणार्थीका रुपमा जीवन यापन गर्दाका कारुणिक कथा सुनाएका थिए ।

कार्यक्रममा दिइएको जानकारीअनुसार अमेरिकाले ८४हजार ५००, क्यानाडाले छ हजार ५००, अष्ट्रेलियाले पाँच हजार ५५४, न्युजिल्याण्डले एक हजार दुई, डेनमार्कले आठ सय ७४, नर्वेले पाँच सय ६६, बेलायतले तीनसय ५८ र नेदरल्यान्डस्ले तीनसय २७ जनालाई पुनर्वास गराएका छन् ।