आफूलाई नम्बर वन नायिका दाबी गर्ने अभिनेत्री रेखा थापा नेपाली चलचित्र क्षेत्रमा जम्दै आएको ‘दिव्य’ बाह्र वर्ष नाघिसकेको छ । यसबीच कैयन असफल र कतिपय सफल चलचित्र दिएकी रेखाको घरजम भएर पनि टुटिसकेको छ । कामको तुलनामा मुख बढी चल्ने स्वभावले उनलाई बेलाबेलामा चर्कै विवादमा पार्ने गरेको छ भने प्रशंसासँगै रेखाको आलोचना गर्नेहरूको पनि यहाँ कमी छैन । निर्माता छवि ओझासँग बिहे भएपछि करियर उत्कर्षमा पुर्याएकी रेखाले जीवनको सोही दौडानमा आफ्नै एक फिल्म निर्माण ब्यानर पनि खडा गर्न भ्याइन् । हाल उनी आफू अभिनेत्री मात्र नभई ठूलै निर्माता पनि भएको दाबी गर्छिन् । हुन पनि पछिल्ला वर्षमा उनी आफ्नै ब्यानरमा बनेका सिनेमामा मात्र सफल देखिँदै आएकी छिन् । अन्य ब्यानरका फिल्ममा उनी खासै चल्न छोडेकीले व्यावसायिक निर्माताहरूको आँखामा पर्न छोडेकी छिन् । आलोचना र यथार्थ पचाउन रेखाजस्ती नायिकालाई गाह्रो होला, तर वास्तविक रूपमा भन्नुपर्दा पछिल्ला वर्षहरूमा आफ्ना ब्यानरबाहिरका फिल्ममा सफलता पाउनु उनका लागि फलामकै च्युरा चपाउनुसरह बन्न थालेको पाइन्छ । यस्तो अवस्था आउनु भनेको रेखाको चार्म घट्दै गएको प्रमाण हो । तथापि, आफैँले बनाएको चलचित्रमा भने रेखा अहिले पनि उत्तिकै हिट मानिन्छिन् । वर्षमा एउटाजसो फिल्म बनाएर आफूलाई प्रस्तुत गर्दै आएकी रेखाका चलचित्रहरू यसका साक्षी छन् ।

यसै परिवेशमा रेखा आफ्नो ब्यानरइतरको चलचित्र ‘जाउँ हिँड पोखरा’मा झुल्किँदै छिन् । यही साता पोखराबाटै प्रदर्शन गरिन लागेको उक्त फिल्म शोभित बस्नेतको हो । चर्चित नायक जीवन लुइँटेलसहित मुख्य पात्र रहेको उक्त फिल्ममा शोभितले रेखालाई सक्दो प्रयास गरी हाइलाइट गर्न खोजेका छन् । तर, जतिसुकै चुस्त–दुरुस्त, मस्त र हिम्मतवाली प्रदर्शन खोजे पनि रेखाको उमेर र समयले डाँडो काट्न लागेको भन्दै टीका–टिप्पणी हुन थालेको परिवेशमा उनको दबदबा कति कायम होला, प्रतीक्षाकै विषय बनेको छ । ‘जाउँ हिँड पोखरा’ सफल भयो त्यो सफलताको जस पनि रेखाकै पोल्टामा गयो भनेचाहिँ मान्नैपर्छ, रेखा यथार्थमा रेखा नै रहिछिन्, उनलाई नवनायिकाहरूले चुनौती दिने समय अझै आइसकेको रहेनछ † अन्यथा, रेखाले पनि उपयुक्त बर खोजेर घरबार बसाउन लाग्दा हुन्छ, ढिलो गरेर फाइदा छैन भन्ने गफ फिल्मकर्मीहरूमाझ चल्न थालेको सुनिन्छ ।
प्रतिक्रिया