संविधान सभाले संविधान जारी गर्दाको समयमा नराम्रो ग्रह परेकोले यो नयाँ संविधानको आयुमै शङ्का रहेको ज्यो. दीपक सुवेदीले बताएका छन् । ज्यो. सुवेदीले भक्तिदर्शन टेलिभिजन र अभियान टाइम: साप्ताहिकलाई अन्तर्वार्ता दिँदै सो कुरा बताएका हुन् । संविधान घोषणा गर्दा राजनीतिक क्षेत्रले बुद्धि नपु-याएर गलत समयमा गरेको हुनाले संविधानलाई आधार मानेर गरिने अधिकांश कार्यहरू अनिश्चित हुने उनको कथन छ ।
आफू मन्त्री, प्रधानमन्त्री हुनलाई ग्रहदशा हेराउने तथा शान्ति गर्ने नेताहरूले देश र जनताको भविष्यसँग सरोकार राख्ने संविधान जस्तो महत्त्वपूर्ण विषयलाई जारी गर्दा राम्रो ग्रह पारेर नगरी आत्मघात–राष्ट्रघात–जनघाततुल्य ब्लण्डर मिस्टेक गरेको सुवेदीले अन्तर्वार्तामा व्यक्त गरेका छन् । राजनीतिक क्षेत्रले कहिल्यै तीर्न नसक्ने ऋण लगाएको र अक्षम्य गल्ती गरेको उनको ठहर छ ।
समय-समयमा राष्ट्रिय भविष्य वाणी गरेर चर्चामा आउने ज्यो. सुवेदीले पहिलो संविधान सभा र तत्कालिन राजनीतिक संयन्त्रबाट निकास ननिस्कने तथा सो संविधानसभाबाट संविधान नआउने कुरा अन्नपूर्ण पोष्ट र नेपाल समाचारपत्रमार्फत बताएका थिए । दोस्रो संविधानसभाबाट संविधान आउने धारणा पनि कमाण्डर पोष्टमार्फत उनले प्रकाशन गरेका थिए । अहिले पनि अन्तर्वार्तामा उनले बताएको कुराले धेरैको ध्यानाकर्षण गरेको छ ।
संविधान घोषणा हुनेवित्तिकै नभनेर केही समय व्यतित भइसकेपछि घटनाक्रमलाई हेरेर पो भन्नु भएको हो कि ? भन्ने न्यूज टिमको प्रश्नमा उनले आफूले संविधान जारी हुनेवित्तिकै पनि अन्नपूर्ण पोष्ट र नेपाल समाचार पत्रलाई यसको बारेमा लेख दिएको तर संविधानसभाबाटै घोषणा भएको संविधानको बारेमा अलि असहज कुरा भएकोले होला ती पत्रिकाले यस पटक आफ्नो लेख नछापेको ज्योतिषी दीपक सुवेदीले बताए ।
बालारिष्ट अथवा बाल्यकालमै खड्को परेको मान्छेको जस्तो ग्रहमा यो संविधानको घोषणा भएको र यो धेरै टिक्न नसक्ने उनको जिकिर छ । संविधान घोषणा हुँदा ग्रह धेरै नराम्रो परेको र नराम्रो समयमा संविधान घोषणा भएकोले नै विद्यमान समस्या बढिरहेको उनको भनाइ छ । हुन पनि देशमा संविधान जारी भएपछि हर्ष, खुशी र उमङ्ग हुनपर्नेमा संविधानकै कारणले देशमा अशान्ति बढ्दै गएको छ ।
साँच्चै नै ज्यो. दीपक सुवेदीले भने जस्तै नै संविधान असफल हुने हो भने नेपाल नै असफल हुने सहजै अनुमान गर्न सकिन्छ । दिनानु दिन समस्या समाधान हुनुको सट्टा झनभन्दा झन समस्या बढ्दै जानु र स्थिति बिग्रँदै जानुले कतै सुवेदीले भनेजस्तै संविधान घोषणा हुँदाको ग्रहको नकारात्मक फलले नै पो प्रभाव गरेको हो कि भन्ने तर्फ पनि सोँच्न पर्ने हुन्छ कि !
[youtube]http://www.youtube.com/watch?v=J6MT15tmXlY[/youtube]
भक्ति दर्शन टेलिभिजनमा ज्यो. दीपक सुवेदीको अन्तर्वार्ता
प्रतिक्रिया