डाबरको बदमासीमा अख्तियारका कर्मचारीको साथ ?

डाबरको बदमासीमा अख्तियारका कर्मचारीको साथ ?


Dabar 1
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले अब ठूलै माछा समात्ने घोषणा गरेको हप्तादिन बित्न नपाउँदै बहुराष्ट्रिय कम्पनी डाबर नेपालले गरेको बदमासीलाई रोक्न अख्तियारमै कार्यरत डि.एस.पी. हिमालय श्रेष्ठको नेतृत्वमा गएको टोलीले सुनपानी छर्किदिएको सम्बद्ध क्षेत्रमा चर्चा चल्न थालेको छ । प्राप्त समाचार अनुसार डि.एस.पी. श्रेष्ठले डाबरका माथिल्लो निकायका व्यक्तिहरुको आर्थिक प्रलोभनमा परेर कम्पनीमा छापा नमारेको आशंका गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली बारा जिल्लाको रामपुर टोकनीमा रहेको कारखानामा छापामारी नगरी फर्कीएको हो । आइतबार अख्तियारको केन्द्रिय कार्यालय टंगालबाट प्रहरी नायब उपरिक्षक हिमालय श्रेष्ठको नेतृत्वमा रहेको टोलिले ड्राईपोर्टमा रहेको डाबरको ९० वटा कन्टेनरलाई नियन्त्रमा लिएर चेकजाँच गरेको थियो । जसमध्ये आइतबार बेलुकासम्म २७ वटा कन्टेनरमा मात्रै चेकजाँच भएको थियो । जसमध्ये ४ वटा कन्टेनरमा रहेको जुसमा लगाइएको उत्पादन मिति, म्यादसमाप्तिको मिति र ब्याच नम्बर हातले मेटिने गरेको पाइएको थियो । डाबरका कर्मचारीहरुका अनुसार त्यसरी मेटीएको पाइएमा त्यसलाई ड्यामेज मानिन्छ ।
Dabar 2
त्यसरी ड्यामेज माल फेला परे पनि छापा मार्न गएको टोलीले सोमबार बाँकी रहेको कन्टेनरमा चेकजाँज नगरी फर्किएको छ । अख्तियारले जुसको गुणसँग जोडिएको विषय भएकाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै बाँकी रहेको कन्टेनर र उद्योगमा चेकजाँच गर्ने जिम्मा खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको जिम्मा लगाएर फर्किएको श्रोतले बताएको छ । डाबरको गलत धन्दाको प्रमाण फेला पर्दापर्दै पनि यसरी अर्को निकायलाई जिम्मा लगाएर फर्किनु शंकाको विषय बनेको छ । म्याद गुज्रेको जुस भारत पठाउन लागेको भन्ने गोप्य सुचनाको आधारमा आइतबार भारत लैजानका लागि ड्राईपोर्टस्थित सुक्खा बन्दरगाहमा राखिएको करिब ९० वटा कन्टेनरहरु नियन्त्रणमा लिएर अख्तियारको टोलिले छापामारी गरेको हो । आइतबार दिउँसो ड्राईपोर्ट पुगेको टोलीले दिनभरमा २७ कन्टेनर खोलेर हेरेको थियो जसमा ४ वटा कन्टेनरमा रहेको जुसमा मुल्य, उत्पादन मिति र समाप्त मिति लगाइएको छाप हातले छुँदा मेटिएको पाइएको थियो । बाँकी कन्टेनरहरु र रामपुर टोकनीमा रहेको डाबरको कारखानामा भने सोमबार छापामारी गरीने भने पनि टोलि छापामारी नगरि फर्कीएको हो ।

डाबरको जुसको बट्टामा लगाइने त्यस प्रकारको छाप हातले छुँदा नमेटीने डाबरकै कर्मचारीहरु बताउँछन् । लामो समयसम्म चलेको आन्दोलनका कारण गोदाममा थन्किएका रियल जुसहरु चलाखीपुर्ण ढंगले भारत निकासी गर्ने क्रममा पुरानो मिति मेटेर नयाँ लगाएको हुनसक्ने अख्तियारले आशंका गरेको छ । अख्तियारमा डाबर नेपालविरुद्ध ऐन नियमविपरीत मजदुरदेखि अफिसरहरु सम्पुर्ण कर्मचारी भारतीय नागरिक रहेको दाबी गर्दै केही समय अगाडि उजुरी परेको र त्यसको चिट्ठी डाबरमा पुगेकाले छापामारी हुन सक्ने आशंकामा म्याद गुज्रेको रियल जुस भारत निकासी गर्ने चलखेल गरेको श्रोतको आशंका छ । कर्मचारीको विषयमा छापा परेमा विगतमाझैँ म्याद गुज्रेको जुससमेत फेलापर्ने डरले डाबरले हतारमा उक्त जुसहरुको पुरानो मिति हटाएर नयाँ मिति टाँस्दा छुनेवित्तिकै मेटीने केमिकल प्रयोग भएको बताइन्छ ।
Dabar 3
विगत ४ महिनादेखि तराईमा लगातार आन्दोलन चलिरहेको र नाकासमेत ठप्प रहेकाले डाबरले तयार पारेको रियल जुस बजारमा जान पाएको छैन । वीरगंज–रक्सौल नाका बन्द हुँदा र पुर्व–पश्चिम राजमार्ग समेत अवरोध हुँदा पहिले नै तयार पारीएको डाबरको लाखौँ कार्टुन रियल जुस गोदाममै थन्किएका थिए । डाबरको रामपुर टोकनीस्थित कारखानामा तयार हुने रियल जुस भारी मात्रामा भारतमा समेत निकासी हुँदै आएको छ । तर वीरगंज नाका र ड्राईपोर्ट सुक्खा बन्दरगाह समेत बन्द हुँदा जुस भारतमा समेत निकासी हुन सकेको थिएन । यद्यपि, हालैको केही दिनदेखि प्रहरीको स्कर्टीङमा ड्राईपोर्टबाट मालसामान आयात र निर्यात भएको मौका पारी डाबरले आफ्ना लाखौँ कार्टुन म्याद गुज्रेका जुस मध्येबाट केहि भारतमा निकासी गर्नको लागि बुधबार रातिदेखि शुक्रबार रातिसम्म गरी ९० वटा ठुला कन्टेनर भरेर स्कर्टीङमा ड्राईपोर्ट पुर्‍याएको थियो । उक्त कन्टेनरमा ५ महिना अगाडी नै बनेका जुसहरु रहेको श्रोतले बताएको छ । जुसको बट्टामा पुरानै मिति भए पनि कार्टुनमा भने नयाँ मिति राखेर प्याक गरिएको बताइएको छ ।

डाबरले दिपावलीको अवसरमा गिफ्ट प्याक बनाई विक्री वितरण गर्दै आएको थियो । यस वर्ष पनि हजारौँ कार्टुन गिफ्ट प्याक बनाएकोमा हड्ताल र नाकाबन्दीले बजार पुर्‍याउन नपाउँदा गिफ्ट प्याकहरु त्यसै थन्किएका छन् । उक्त गिफ्ट प्याक समेत धमाधम खोलेर नयाँ कार्टुनमा प्याक गर्ने काम भइरहेको श्रोतले बताएको छ । डाबरले सर्वसाधरण उपभोक्तालाई यसैगरी षड्यन्त्रमुलक ढंगले झुक्याएर जुस बेच्नका लागि उत्पादनको वर्ष र महिना उल्लेख गरेपनि गते भने नराख्ने गरेको छ । गते नराख्दा डाबरले थप एक महिनासम्म जुस बेच्न पाउँछ । यस्तो संवेदनशिल विषयमा सम्बन्धित निकायको ध्यान गएको पाइँदैन ।

डाबरले विगतमा पनि म्याद गुज्रेको रियल जुस बिक्री वितरण गरेको सार्वजनिक भएकै हो । डाबरले वास्तविक उत्पादन मिति अंकित नगरी नोभेम्बर, २०१० मा उत्पादन गरेको जुसका बट्टामा उत्पादन मिति जनवरी, २०११ उल्लेख गरी भण्डारण गरिएको हुँदा आवश्यक कारवाहि गरी पाउँ भन्ने वीरगंज निवासी भुषण गिरीको स–प्रमाण उजुरी अनुसार २०६७ पुस ५ गते अख्तियारले डाबरको कारखानामा छापा हानेको थियो । अख्तियारको समीर सिलवालको नेतृत्वमा रहेको टोलीले छापामारी गर्दा अग्रिम म्याद राखिएका ३ लाख कार्टुन जुस फेला परेपनि ७४ हजार कार्टुनमा मात्र सिलबन्दी गरेको थियो । सिलबन्दी नगरिएको जुसलाई डाबरले रातारात कारखाना बाहिर पठाएको त्यतिखेरै छापामा आएको थियो ।

विश्वस्त स्रोतका अनुसार गलत काम गर्ने भएकैले मजदुर तथा अन्य स्टाफहरुलाई समेत डाबरले कारखानामा फोन लैजान रोक लगाएको छ । विगतमा भित्र काम गर्ने मजदुरले नै अख्तियारमा स–प्रमाण मुद्धा दिएकाले पनि डाबरले फोन लैजान रोक लगाएको हो । गेटमा कडा चेकजाँच गरेपछि मात्र मजदुरहरुलाई भित्र प्रवेश गर्न दिने गरिएको छ । डाबरले मजदुर युनियनको नेतृत्वलाई हातमा लिएर फोन साथमा लैजान नपाइने नियम लागु गरेको हो । डाबरको विषयमा समाचार लेखनका लागि पुग्ने पत्रकारहरुलाीई समेत भित्र प्रवेश गर्न निषेध गरेको छ । सामान्यत डाबरको विषयमा समाचारको लागि डाबर प्रशासनको मानिसहरुसँग भेट्नै मुस्कील पर्ने सञ्चारकर्मीहरुको समेत अनुभव रहँदै आएको छ । म्याद गुज्रेको रियल जुसको विषयमा बुझ्न पत्रकारहरुले जिएम चौरसीयालाई उनको नम्बर ९८०२००२१२१ र ९८५५०२६०६३ मा सम्पर्क गर्दा फोन रिसिभ भइरहेको छैन ।