विमानस्थलमा पुसभरी अख्तियारको निगरानी

विमानस्थलमा पुसभरी अख्तियारको निगरानी


अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको अनियमितता, खासगरी वैदेशिक रोजगारीमा जाने युवाहरुमाथि गरिने शोषणबारे गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा विशेष अनुगमन गर्ने भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीले असुविधा व्येहोर्नुपरेको चर्को गुनासोका कारण पुस १ गतेदेखि महनिाभर नै अख्तियारले निरन्तर अनुगमन गर्ने भएको हो । विमानस्थलमा रहेका निकायबाट सेवाग्राहीलाई प्रदान गरिने सेवासुविधाको उचित प्रबन्ध नभएको सन्दर्भमा व्यापक उजुरी परेको र सम्बन्धित पक्षले पटक पटक सुधार गर्ने प्रतिबद्धता जनाएको भए पनि कुनै सुधार नभएपछि आयोगले अनुगमन गर्न लागेको बुझिएको छ ।

आयोगले जनाएअनुसार अन्तर्राष्ट्रिय विमानस्थलका अनियमितता र लापर्बाही लगायत समस्याको अनुभूति हुने गरी सम्बोधन भएको नदेखिएकाले नियमित रुपमा दैनिक दुई समूहले अनुगमन गर्न लागिएको छ । विमानस्थलमा आगन्तुकले व्यहोर्नुपरिरहेको कठिनाइ, सरोकार भएका निकायबीच समन्वयको अभाव, अतिविशिष्ट कक्षको दुरुपयोग, यात्रुले प्रस्थान तथा आगमनमा झेल्नुपरेको झन्झटिलो प्रक्रिया नियन्त्रण गर्न आयोगले विगतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

पिउने पानीको सहज अनुपलब्धता, ‘ग्राउन्ड ह्यान्डलिङ’मा रहेको बेथिति, कर्मचारीको आचरण तथा व्यवहारसम्बन्धी समस्या, सुरक्षामा लापर्बाही, विमानस्थलबाट हुन सक्ने तस्करी, शौचालय सहित सरसफाइमा हेलचेक्य्राइँ, अनियमितता र भन्सार तथा अध्यागमनको सेवा प्रवाहमा कमजोरी विद्यमान रहेकाले थप अनुगमन गर्नुपरेको आयोगले जनाएको छ ।

आगामी एक महिनासम्म आयोगले उच्च अधिकारीको नेतृत्वमा विमानस्थल परिसरमा अनुगमन तथा छानबिन टोली खटाउने जनाउँदै कुनै सूचना भए अनुगमनमा खटिने टोलीलाई जानकारी दिन आग्रहसमेत गरेको छ ।