सैनिक आचरण र सिद्वान्त अनुशरण गर्न सुझाव

सैनिक आचरण र सिद्वान्त अनुशरण गर्न सुझाव


sena
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति महारथी क्षत्रीले प्रतिष्ठानको अधिकृत क्याडेट लाईन, जिम हल, अधिकृत क्याडेट मेस तथा लन्ड्री हाउसको निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो अवसरमा प्रधानसेनापति क्षत्रीले उक्त प्रतिष्ठानमा संचालन भइरहेको सि.सं. २६ ड्रिल शिक्षक तालिमका शिक्षार्थीहरुद्वारा प्रस्तुत परिमार्जनको लागि प्रस्तावित नमुना ड्रिलको समेत निरीक्षण गर्नुभएको थियो ।

सोही अवसरमा प्रधानसेनापति क्षत्रीले उक्त प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेट तथा प्राविधिक अधिकृत आधार तालिमका शिक्षार्थीहरुलाई सम्बोधन पनि गर्नुभएको थियो । सम्बोधनको क्रममा वहाँले कुशल नेतृत्वको लागि एक असल सैनिक आचरण हुन आवश्यक रहेकोले सैनिक आचरण र सिद्वान्त अनुशरण गर्न अपरिहार्य रहेको बताउनुभयो ।

यसैबीच नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा संचालन हुन लागेको “प्रधान सेनापति तेश्रो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७२” को पुस ६ गते सोमबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले एक विशेष समारोहकावीच निर्णायक मण्डललाई फुटवल हस्तान्तरण गर्नुभई प्रतियोगिताको उुद्घाटन गर्नुभएको छ । प्रतियोगितामा मित्रराष्ट्र भारतको महिला फुटवल टिम दुई, घरेलु विभागिय महिला फुटवल टिम तीन र विगतका पांच विकाश क्षेत्रका महिला फुटवल टिम ५ गरी जम्मा दश टिमको सहभागिता रहेको छ ।
sena 2

जंगी अड्डास्थित खेल मैदानमा आगामी १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताअन्तर्गत सोमबार नेपाल प्रहरी महिला टिम र पूर्वाञ्चल महिला टिमबीच भएको पहिलो खेलमा नेपाल प्रहरी महिला टिमले पूर्वाञ्चल महिला टिमलाई ३—१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी सोही प्रतियोगिता अन्तर्गत लगनखेलमा मध्यमाञ्चल महिला टिम र उपत्यका महिला टिमबीच भएको खेलमा मध्यमाञ्चल महिला टिमले उपत्यका महिला टिमलाई ३—० गोल अन्तरले पराजित गरेको छ । उक्त प्रतियोगितामा सबै खेलहरु नक आउटका आधारमा खेलाइएको छ ।

समुद्घाटन कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधान सेनापतिहरु, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल फुटवल संघका पदाधिकारीहरु, रथीबृन्दहरु, नेपाल स्थित बिदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, संचारकर्मी लगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।