मोर्चा-कांग्रेस बैठक सकारात्मक

मोर्चा-कांग्रेस बैठक सकारात्मक


Morcha  NC meeting (3)
काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा मंगलबार भएको नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको छलफल सकारात्मक भएको र मुलुकले ब्यहोरिरहेको संकट छिट्टै समाधानको दिसामा जाने नेताहरुले बताएका छन् । मंगलबारको बैठक अपेक्षा गरेभन्दा सकारात्मक निष्कर्षमा पुगेको र सफलता नजिक पुगेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । सबै राजनीतिक दलको सहमति लिएर सदनमा जानुपर्ने भएकाले अन्य दलसँग पनि छलफल गरेर फेरि मोर्चासँग बैठक बस्ने उल्लेख गर्दै नेता पौडेलले सबै दलसँग सहमति गरेर अगाडि बढ्नुपर्ने भएकोले प्रयास जारी रहेको बताए ।

यस्तै, तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले पनि कांग्रेससँग विभिन्न विषयमा छलफल जारी रहेको र सकारात्मक रुपमा अगाडि बढेको बताए । संविधानका विभिन्न धारामा रहेको असहमतिका विषयमा प्रमुख प्रतिपक्ष दलसँग थप छलफलको आवश्यकता रहेको र टुङ्गोमा पुग्न बाँकी रहेको उनले प्रस्ट्याए ।कुनै पनि बुँदामा अन्तिम टुङ्गोसम्म पुग्ने अवस्था नभए पनि गृहकार्य गरेर अर्को बैठकमा निष्कर्ष निस्कने विश्वास सम्बद्ध नेताहरुले व्यक्त गरेका छन् ।