डिपुटी गभर्नर बन्न पौने दर्जन प्रतिस्पर्धी

डिपुटी गभर्नर बन्न पौने दर्जन प्रतिस्पर्धी


nepal-rastra-bank (1)


ओलीनिवासमा खाना खाएपछि चिन्तामणि निश्चिन्त

नेपाल राष्ट्र बैंकका दुई डिपुटी गभर्नरहरूले पुस १० गतेदेखि अवकाश पाउने भएपछि सो पदमा नियुक्ति पाउन विशिष्ट श्रेणीका सोह्र अधिकृत प्रतिस्पर्धामा जुटेका छन् । योग्यता र क्षमता मात्र भएर नपुग्ने, राजनीतिक पहुँचसमेत बलियो हुनुपर्ने भएकोले उक्त पदका दाबेदारहरू सत्तारुढ दलका नेताहरूकहाँ धाउन बाध्य छन् । यसरी नेतालाई आफ्नो पक्षमा तुल्याउने प्रतिस्पर्धामा चिन्तामणि सिवाकोटी अगाडि रहेका छन् । सिवाकोटीले केही समयअघि प्रधानमन्त्री केपी ओलीको निवासमा पुगेर ओलीसँगै खाना खाने मौकासमेत पाइसकेका छन् । सिवाकोटीले प्रधानमन्त्रीसँगै बसेर खाना खान पाए पनि उनले डिपुटी गभर्नरको पद खान पाउनेमा भने अझै शङ्का छ । किनभने प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल ‘हाम्रा’मात्र नभई डिपुटी गभर्नर ‘राम्रा’ पनि हुनुपर्छ भन्ने धारणा राख्छन् । सिवाकोटीले ‘हाम्रा’ भन्ने विश्वास दिलाए पनि ‘राम्रा’को कोटीमा भीष्म ढुङ्गाना र लक्ष्मीप्रपन्न निरौला परेको बुझिएको छ ।

डिपुटी गभर्नरहरू गोपाल काफ्ले र महाप्रसाद अधिकारीले क्रमश: कांग्रेस र एमालेको सहमति र सिफारिसमा पाँच वर्षअघि उक्त जिम्मेवारी पाएका थिए । कांग्रेसको सिफारिसमा परेका गोपाल काफ्ले सत्जन भए पनि उनी अक्षमको छवि स्थापित गरेर राष्ट्र बैंकबाट अवकाश लिँदै छन् । एमालेको सिफारिसमा डिपुटी गभर्नर बनेका महाप्रसाद अधिकारी भने सक्षम र सफल मानिएका छन् । अधिकारीलाई पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख बनाउने सोच अर्थमन्त्री विष्णु पौडेलले बनाएका छन् । रिक्त दुई डिपुटी गभर्नरमध्ये एउटामा नारायण पौडेललाई नियुक्त गर्न सुशील कोइरालाले गभर्नर चिरञ्जीवी नेपाललाई सिफारिस गरेको बुझिएको छ । पौडेललाई गोपाल काफ्लेजस्तै भद्र, तर अक्षम मानिन्छ । सक्षम मानिएका शिवनाथ पाण्डे कोइरालाको दृष्टिमा नपरे पनि गभर्नर नेपालको दृष्टिमा भने परेका छन् । कांग्रेसनिकटका मानिने विनोद आत्रेय र त्रिलोचन पँगेनी पनि डिपुटी गभर्नरका लागि योग्य मानिन्छन् । एमाले समर्थकहरूमध्ये भीष्म ढुङ्गाना, लक्ष्मीप्रपन्न निरौला, जनक अधिकारी र चिन्तामणि सिवाकोटी दौडमा अगाडि रहेका छन् । एमाओवादी समर्थक मीनबहादुर श्रेष्ठ आफू सक्षम भए पनि सत्ता प्रतिकूल भएकोले उनले दौडधुप नगरी हातखुट्टा नै छोडिदिएका छन् ।

यसबीच प्राप्त जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई एमाले र दुई कांग्रेस समर्थक उम्मेदवारको नाम सिफारिस गरी पठाउन गभर्नर डा. चिरञ्जीवी नेपाललाई सुझाव दिएका छन् । प्रधानमन्त्रीको इच्छाअनुरूप चारजनाको नाम सिफारिस भयो भने दुवै डिपुटी गभर्नरमा एमाले समर्थकको चयन हुने सम्भावना बढी छ । गभर्नर कांग्रेस समर्थक भएकोले दुवै डिपुटी गभर्नर एमाले समर्थकलाई बनाउने इच्छा अर्थमन्त्री विष्णु पौडेलले राखेका छन् । दुई पदका लागि दुई दल समर्थक दुई–दुईजनाको नाम गभर्नरको सिफारिसमा परेपछि दुईजना एमाले समर्थकलाई डिपुटी गभर्नर बनाउन सुविधा हुने विश्वासका कारण प्रधानमन्त्रीले चारजनाको नाम पठाउन सुझाएको विश्वास गरिन्छ । त्यसो भएमा भीष्म ढुङ्गाना, लक्ष्मीप्रपन्न निरौला र चिन्तामणि सिवाकोटीमध्ये दुईजनाले मौका पाउने सम्भावना अधिक छ । कांग्रेस र एमालेका एक–एकजना बनाइने भएमा शिवनाथ पाण्डे र भीष्ण ढुङ्गानालाई अवसर प्राप्त हुने सम्भावना छ । तर, सुशील कोइरालाको इच्छाअनुरूप गर्न गभर्नर बाध्य भए भने नारायण पौडेलले नियुक्ति पनि सम्भव मानिएको छ । यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकले डिपुटी गभर्नर नियुक्त गर्ने बताइएको छ ।