कालो कोट :: मोतीराज बम

कालो कोट :: मोतीराज बम


Notiraj Bam
यो कालो कोट हो ।
के छैन यो कालो कोटमा
सान छ, मान छ, पहिचान छ
इमान छ, साथै बेइमान पनि छ ।
यो कालो कोटको माथिल्लो जेबमा
टलक्क टल्किने कलम छ
त्यो चमकदार कलमले
सधैँ तिलस्मी काम गर्छ
कहिले वादी लेख्छ, कहिले पतिवादी लेख्छ
कहिले हार लेख्छ कहिले जित लेख्छ
रङमा समान छ स्वादमा असमान छ
यो कालो कोट ।
यो कालो कोटको भित्री जेबमा
केही पैसा र केही टुक्रा कागजपत्र छन्
पैसा,
रगतले भिजेका पनि हुन सक्छन्
पसिनाले सिञ्चिएका पनि हुन सक्छन्
केही टुक्रा कागजपत्र समृद्धिको चिरआशामा
अरबको अँध्यारो रात पर्खिरहेका छन्
र केही टुक्रा कागजपत्र
मालिकलाई मतलबै नगरी
जग्गाको चकलाबन्दी, साटफेर,
अनि दर्ता र नामसारी गर्न
बुर्लुक्क बुर्लुक्क उफ्रिरहेका छन् ।
यो कालो कोटको मुन्तिरको दुवै जेबमा
फरक–फरक नम्बरका फरक–फरक मोबाइल छन्
दुवै मोबाइलको रिङटोन फरक छ ब्याक टोन फरक छ
कार्य फरक छ, संवाद पनि फरक छ
थोरै सत्य र धेरै झुटको खेती हुन्छ ।
वाचाल हुन्छ कालो कोट
वाकपटुता पढ्छ कालो कोट
भात खाँदैन कालो कोट
तर्क, वितर्क, विधि, प्रविधि मात्र चपाउँछ
त्यो पनि कहिले पचाउँछ
कहिले वमिट गर्छ कालो कोट ।
जस बोकेर जान्छ कालो कोट
अपजस बोकेर फर्किन्छ कालो कोट
कालो कोट, कालो ब्याग, कालो छाया
कहिल्यै टाढा नहुने
हाम्रा नजिकका मित्र हुन्
मित्रदेखि होसियार ।