डा. महतले राखे विश्वकीर्तिमान

डा. महतले राखे विश्वकीर्तिमान


mahat
नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले संसारकै उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्राप्त गर्नुभएको छ । यसरी उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्राप्त गर्नुहुने महत एसिया प्रशान्त क्षेत्रबाट यस्तो अवसर पाउने प्रथम व्यक्ति हुनुहुन्छ । बेलायतबाट प्रकाशित हुने विश्वकै उत्कृष्ट मानिने आर्थिक पत्रिका फाइनान्सियल टाइम्सले डा. महतलाई उक्त उत्कृष्ट अवार्डका निम्ति चुनेको हो ।

नेता महत विशेष समारोहकाबीच प्रदान गरिने अवार्ड लिनका लागि आगामी साता बेलायत प्रस्थान गर्दै हुनुहुन्छ । महाभूकम्पपछि अर्थमन्त्रीका रूपमा महतले निर्वाह गर्नुभएको भूमिकालाई फाइनान्सियल टाइम्सले उच्च मूल्याङ्कन गरेको छ । महाभूकम्पपश्चात् पुनर्निर्माणको लागि नेपालमा दाता राष्ट्रहरूको उच्चस्तरीय सम्मेलन गराउन महतले विशेष भूमिका निर्वाह गर्नुभएको थियो । भूकम्प गएको सात दिनपछि अजरबैजानको वाकुमा एसियाली विकास बैंकद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्रीका हैसियतमा डा. महतले दिनुभएको अभिव्यक्तिले विश्वको ध्यान आकृष्ट गरेको फाइनान्सियल टाइम्सको निष्कर्ष छ । त्यसैगरी उक्त पत्रिकाले नेपालको आर्थिक सुधारमा महतको विशिष्ट योगदान रहेको स्मरण पनि गरेको छ । डा. महतले अनुशरण गर्नुभएको नीतिकै कारण एक समय नेपालको आर्थिक विकास वृद्धिदर ७.२ सम्म पुगेको थियो । माओवादीको हिंसात्मक युद्ध र त्यसको असर, अस्थिरता तथा वामपन्थी प्रभावका कारण अहिले नेपालले आर्थिक विकासमा विभिन्न अवरोध झेल्नुपरेको छ ।
Ramsharan Mahat
संसारकै ध्यान आकृष्ट गर्ने प्रकारको योगदान पुर्‍याउनुहुने डा. रामशरण महतलाई नेपालीले चिन्न–बुझ्न नसके पनि विश्वले उहाँको उच्च मूल्याङ्कन गरेको छ । अवार्ड बुझेर फर्कनुभएपछि राज्यले डा. महतको सम्मानमा विशेष समारोहको आयोजना गर्नुपर्ने सुझाव अर्थविद्हरूको रहेको छ । ‘अवार्ड’ दिइने घोषणा भइसकेपछि डा. महतले घटना र विचारसँग कुरा गर्दै भन्नुभयो, ‘मैले एउटा अर्थमन्त्रीको रूपमा निर्वाह गर्नैपर्ने जिम्मेवारी पूरा गरेको हुँ । फाइनान्सियल टाइम्सले दिन लागेको यो अवार्डले मलाई देशका लागि थप केही गर्न प्ेररित गरेको छ । यो सम्मान मलाई नभई मेरो देशलाई गरिएको हो भन्ने मलाई लागेको छ ।’