समीकरण भत्काउने माओवादीको मुख्य योजना

समीकरण भत्काउने माओवादीको मुख्य योजना


राजनीतिक रूपले माओवादीमाथि विश्वास गर्न नसक्ने अवस्था रहेको पुष्टि माओवादी स्वयम्ले फेरि एकपटक गरेको छ । राष्ट्रिय सहमतिको वातावरण बन्न माधव नेपाल बाधक रहेको बताउँदै प्रधानमन्त्री पदबाट राजीनामा मागेर वर्ष दिन बिताउने माओवादीले राजीनामा आएपछि बोली फेरेको छ । उनीहरूले सहमति होइन सत्ता खोजेका हुन् भन्ने सत्य पुन: प्रमाणित भएको छ । सत्ता गठबन्धनका दल तथा विदेशी शुभचिन्तकहरूसमेत असन्तुष्ट हुने गरी सहमतिका लागि भन्दै प्रधानमन्त्री नेपालले राजीनामा दिनुको कुनै औचित्य नरहेको अब स्पष्ट भएको छ । यसप्रकणबाट राष्ट्रिय सहमतिको बाधक को हो भन्ने पनि छर्लङ्ग भएको छ । हुन त माधव नेपालले राजीनामा दिनुको मुख्य कारण माओवादी नभएर झलनाथ खनाल हो । माओवादीले त आफू प्रधानमन्त्री भएकै दिनदेखि राजीनामा मागेका थिए र त्यसलाई वास्ता गर्न पनि छोडिएको थियो । तर, पछिल्ला केही महिनायता झलनाथ खनालले पार्टीभित्रबाट निर्वाह गर्नुभएको भूमिकाले भने नेपालमाथि गम्भीर ढङ्गले दबाब सिर्जना गरेको थियो । खनाल माधव नेपालको राजीनामा हुनेबित्तिकै आफू प्रधानमन्त्री बन्नेमा विश्वस्त हुनुहुन्थ्यो र उहाँ आफूलाई माओवादीले सहयोग पुर्‍याउँछ भन्नेमा ढुक्क हुनुहुन्थ्यो । तर, माओवादीले खनाललाई पहिले जे-जे वचन दिएका भए पनि राजीनामापछि उनीहरूले वचन फेरेका छन् । यसबाट झलनाथ खनालको राजनीतिक भविष्यलाई नराम्रोसँग धक्का पुर्‍याएको छ भने माओवादी स्वयम् पनि ‘एक्स्पोज’ भएका छन् ।
राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठन गर्न दिनुभएको बाह्र दिनको समय गुज्रिएपछि माओवादीले निर्धारित समय गुज्रिए पनि सहमतिको सरकार गठन गर्ने बताएर ‘नाक जोगाउने’ प्रयास गरेको छ । तर सहमतिमा बाधक बनेको आफ्नो सोच, कार्यशैली र व्यवहार बदल्ने पक्षमा चाहिँ माओवादी देखिएको छैन । सहमतिको नभए बहुमतकै आधारमा भए पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गृहकार्यमा माओवादी जुटेको छ ।
कसको नेतृत्वमा सरकार ?
नयाँ सरकारको नेतृत्व गर्ने इच्छा शेरबहादुर देउवादेखि महन्थ ठाकुरसम्मले देखाएका भए पनि भावी सरकार प्रमुखका सशक्त दाबेदारका रूपमा काङ्ग्रेस नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल नै देखिनुभएको छ । विशेष अवस्थामा माओवादीका डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, कृष्णबहादुर महरा, काङ्ग्रेसका कुलबहादुर गुरुङ र शेरबहादुर देउवा तथा तराईकेन्द्रित दलका नेताहरू महन्थ ठाकुर, विजय गच्छदार र उपेन्द्र यादव आदिको समेत नाम सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चामा आएको भए पनि पौडेल, प्रचण्ड र खनाललाई चाहिँ सर्वाधिक सशक्त उम्मेदवारका रूपमा लिइएको छ ।
अवस्था नं. एक : वर्तमान प्रजातान्त्रिक गठबन्धन यथावत् रहेमा नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुने निश्चित मानिन्छ । यद्यपि शेरबहादुर देउवालगायत केही नेताहरूले अत्यन्त सत्जन मानिएका नेता कुलबहादुर गुरुङलाई अघि सारेर रामचन्द्र पौडेलको बाटो छेक्न प्रयास गरिरहेका छन् । तर, यो प्रयास निर्रथक हुने निश्चित मानिन्छ र रामचन्द्र पौडेल नै यस दौडमा अगाडि रहनुभएको छ । प्रजातान्त्रिक गठबन्धनमा उपेन्द्र यादव र जयप्रकाश गुप्ताले नेतृत्व गर्नुभएको फोरम पनि सहभागी हुने सम्भावना छ ।
अवस्था नं. दुई : माओवादीले बहुमतीय सरकारको नेतृत्व पनि प्रचण्डले नै गर्ने गरी बहुमत जुटाउन प्रयास गर्ने देखिएको छ । तर, वर्तमान प्रजातान्त्रिक गठबन्धन यथावत् रहेमा प्रचण्ड प्रधानमन्त्री बन्न असम्भव छ । त्यसैले उसले विद्यमान समीकरण भत्काउन अनेक प्रयास गर्ने भएको छ । झलनाथ खनालमार्फत एमालेको समर्थन लिन प्रयास गर्ने र तराईकेन्द्रित दलहरूलाई आफ्नो पक्षमा मिलाउने रणनीति माओवाीले लिएको छ । कार्की हत्याकाण्डपश्चात् एमालेलाई आफूतिर मिलाउने सम्भावना घटेका कारण माओवादीले तराईकेन्द्रित दलहरूलाई साथ लिन विशेष प्रयत्न गर्ने भएको छ । अहिलेसम्म माओवादी नेतृत्वमा बहुमतीय सरकार गठन गर्न तराईका दलहरूले साथ दिने सम्भावना देखिएको छैन । माओवादीले जसरी भए पनि सरकारको नेतृत्व लिइछाड्ने रणनीति बनाएको हुनाले तराईकेन्द्रित दलहरूलाई कुनै न कुनै उपायले आफ्नो पक्षमा मिलाइयो भने कुनै आर्श्चर्य हुने छैन ।
अवस्था नं. तीन : माओवादीले कुनै पनि हालतमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न सक्ने अवस्था नरहेको ठान्यो भने त्यस्तो अवस्थामा उसले झलनाथ खनाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नसक्ने सम्भावना छ । खनाल माओवादीको सहयोग लिएर आफू प्रधानमन्त्री बन्न इच्छुक त हुनुहुन्छ, तर एमाले पार्टीले उक्त प्रस्तावलाई स्वीकार गर्ने सम्भावना भने कम देखिन्छ । माओवादीले एमालेलाई नेतृत्व दिने प्रस्ताव गरेको अवस्थामा पार्टी केन्द्रीय कमिटीले छलफल गरी नेतृत्वको टुङ्गो लगाउने स्थिति भए पनि एमालेले खनाललाई अघि सार्ने सम्भावना कम छ । त्यस्तो अवस्थामा फेरि पनि माधव नेपाल या अरू कुनै नेताको नाम एमालेले अघि सार्न सक्नेछ । खनालले आफू सहमतिको सरकारको नेतृत्व लिन मात्र इच्छुक भनी सार्वजनिक रूपमा बताउने गर्नुभएकोले पनि बहुमतीय सरकारको प्रधानमन्त्रीका रूपमा खनाललाई एमालेले अघि सार्ने सम्भावना नरहेको हो । त्यसो त एमाले केन्द्रीय कमिटीमा खनाल अल्पमतमा रहनुभएकोले पनि उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने स्थिति नभएको विश्वास गरिन्छ । माओवादीले खनालको नाम तोकेर प्रस्ताव गरेमा त्यसलाई पार्टी विभाजन गर्ने षड्यन्त्र ठानी एमालेले ठाडै अस्वीकार गर्ने निश्चितप्राय: छ ।
अवस्था नं. चार : आफ्नो नेतृत्वमा सरकार गठन हुने स्थिति नरहेमा विद्यमान प्रजातान्त्रिक गठबन्धन तोड्न माओवादीले तराईकेन्द्रित दलका नेतालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने सम्भावना पनि नरहेको छ । तराईकेन्द्रित दलका नेताहरू आफूले प्रधानमन्त्री पाउने लोभमा परेर माओवादी प्रस्तावलाई स्वीकार गरेको अवस्थामा तमलोपाका नेता महन्थ ठाकुर र हृदयेश त्रिपाठी या फोरमका उपेन्द्र यादव या विजयकुमार गच्छदार प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।
अवस्था नं. पाँच : नेकपा एमाले अहिलेसम्म अबको सरकारको नेतृत्व काङ्ग्रेसले गर्नु उपयुक्त हुन्छ भन्ने पक्षमा रहेको छ । औपचारिक निर्णय नभइसकेको भए पनि एमाले पार्टीले रामचन्द्र पौडेलको नेतृत्व स्वीकार गर्ने मन बनाइसकेको छ । तर, कदाचित एमालेले व्यक्तिको नाम निर्धारण गर्ने सोच बनायो र झलनाथको जोडमा काङ्ग्रेसका केबी गुरुङको नाम अघिसार्‍यो भने त्यसले नयाँ परिस्थिति सिर्जना गर्ने देखिन्छ । तर, एमालेले त्यसप्रकारको निर्णय गर्ने सम्भावना भने अत्यन्त क्षीण मानिन्छ ।
अवस्था नं. ६ : प्रजातान्त्रिक गठबन्धन भत्काउने कार्य असफल भएमा र झलनाथ खनाल या तराईका दलहरूलाई भड्काउने सफलता प्राप्त नभएमा माओवादीले प्रधानमन्त्रीमा आफ्नो बेग्लै उम्मेदवार खडा गर्ने निश्चित छ । त्यस्तो अवस्थामा माओवादी उम्मेदवारको विजय सम्भव मानिँदैन । जित निश्चित हुने अवस्थामा प्रचण्ड आफैं प्रधानमन्त्रीको उम्मेदवार हुने भए पनि अनिश्चयको अवस्थामा उक्त पार्टीले कसलाई उम्मेदवार बनाउला, जिज्ञासाको विषय बनेको छ । लोकप्रिय नेता डा. बाबुराम भट्टराई पनि पराजित हुने उम्मेदवार बन्न राजी हुनुहोला भन्न सकिन्न । तथापि परीक्षणका लागि भट्टराईलाई नै उम्मेदवार बनाइयो भने आर्श्चर्य हुनेछैन । भट्टराई उम्मेदवार नबन्नुभएको अवस्थामा नारायणकाजी श्रेष्ठ प्रकाश या कृष्णबहादुर महरामध्ये एकलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइने सम्भावना छ ।
उल्लिखित ६ बाहेक अप्रत्यासित रूपमा कुनै नयाँ परिस्थिति सिर्जना भयो भने नारायणमान बिजुक्छे वा साना दलका अरू कुनै नेता प्रधानमन्त्री बन्नसक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तर, बिजुक्छेले आफू प्रधानमन्त्री बन्न कुनै पहल नगर्नुभएको र उहाँले बरु ‘राष्ट्रपतिले नै सरकारको कार्यभार लिनु उपयुक्त हुने’ तर्क प्रस्तुत गर्दै आउनुभएकोले पनि प्रमुख ठूला दलमध्ये कसैले पनि बिजुक्छेलाई समर्थन गर्ने संभावना अत्यन्त न्यून मात्र देखिन्छ । तत्काल आफूले सरकारको नेतृत्व गर्ने अवसर नपाएपनि विद्यमान प्रजातान्त्रिक गठबन्धन तोड्नु माओवादीको उच्च प्राथमिकतामा परेको छ । गठबन्धन तोड्नका लागि भएपनि जुनसुकै कदम चाल्ने योजनामा माओवादी रहेको हुनाले भावि सरकारको स्वरुप अहिले अनिश्चित भएको हो । माओवादीको भूमिका अस्वाभाविक परिस्थिति सिर्जना गर्न उद्दत् रहेको तथा झलनाथ खनाल पनि सन्देहास्पद भुमिकामा रहेको हुनाले मात्र यस किसिमको अनिश्चयको स्थिति बनेको हो । होइन भने विद्यमान गठबन्धन कायम रहने र त्यसको नेतृत्व गर्दै रामचन्द्र पौडेल नै प्रधानमन्त्री बन्नुहुने कुरामा धेरै शंका-उपशंका गरिरहनु पर्ने स्थिति देखिएको छैन ।