पृथ्वी जयन्तिको अवसरमा पूर्वराजाको वक्तव्य

पृथ्वी जयन्तिको अवसरमा पूर्वराजाको वक्तव्य


Gyanendra
काठमाडौं । पुस २७ लाई पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने परम्परालाई पुनः निरन्तरता दिइनुपर्ने आवाज सर्वत्र उठिरहे पनि सरकारले यसबारे आधिकारिक निर्णय लिन सकेको छैन । प्रधानमन्त्रीसहित क्याबिनेटका अधिकांश मन्त्रीहरु पृथ्वी जयन्ति मनाउने कुरामा सहमत भए पनि एमाओवादी मन्त्रीहरुको विरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओली पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गर्ने मामलामा अनिर्णित रहेका बालुवाटारनिकट स्रोतको भनाई छ । यसरी आमतहबाट समेत माग हुँदा पनि सरकार अन्योलग्रस्त देखिएको परिवेशमा पूर्वराजा ज्ञानेन्द्र शाहले पुस २७ को सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै नेपाली भएर सोच्ने, सम्झने दिन पुस २७ भएको र यही दिन यहाँको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना र संयोजन भएको स्मरण गराएका छन् ।

पूर्वराजाद्वारा आइतबार जारी वक्तव्यमा भनिएको छ- ‘पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फूलबारीमा जति बढी समाहित हुन सक्छौं उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ । यस प्रकारको युग चेतना हुँदाहुँदै पनि अहिले हामी किन, कुन्नि दिग्भ्रमित छौं । सोचनीय कूरा छ, देशभित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन् यो कदापि राम्रो कुरा होइन ।’

वक्तव्यमा अगाडि भनिएको छ- ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्र हित र राष्ट्रवासीको सुख, सम्वृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छाडेको हुँ । तर सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन अनि नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।’

नेपाली जनताले अहिले साँझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको सन्दर्भ उल्लेख गर्दै पूर्वराजाले यसलाई गम्भीर चिन्ताको विषय भनेका छन् । आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको प्रस्ट्याउँदै उनले अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग रहेको स्मरण गराएका छन् ।